+
+

युक्रेनमा ‘भाडाका विदेशी सेना’ रुसको टाउको दुःखाइ बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते ७:१८

२१ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही थालनी गरेको नौ दिन पुगिसकेको छ । तर रुसी सेना अपेक्षा गरे अनुसार अघि बढ्न सकिरहेको छैन ।

हुन त, खेर्सन जस्तो महत्वपूर्ण बन्दरगाह शहर रुसको पूरै नियन्त्रणमा आएको छ । खार्किभ र मारिउपो जस्ता शहरमा समेत रुसी सेनाले व्यापक घेराबन्दी गरिरहेको छ । राजधानी किएभलाई पनि घेराबन्दी गर्ने प्रयास भइरहेको छ । तर युक्रेनको व्यापक प्रतिरोधका कारण रुसी सेना अघि बढ्न सकेको छैन ।

पूरा तयारी साथ युक्रेन छिरेको रुसी सेनाले युक्रेनबाट अनपेक्षित प्रतिरोधको सामना गरिरहेको छ । युक्रेनी सेना र देशभित्रकै स्वयंसेवक लडाकुहरू रुसी सेनासँग लडिरहेका छन् । उनीहरूलाई भाडाका विदेशी सेनाले पनि साथ दिइरहेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

युक्रेनको पक्षमा लड्न आएका विदेशी लडाकु (मर्सिनरी) रुसको टाउको दुखाइ बनेको टर्कीको आनादोलु समाचार एजेन्सीले जनाएको छ ।

समाचारमा लेखिएअनुसार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तालिम प्राप्त १६ हजार मर्सिनरी आफ्नो पक्षमा लड्न आइरहेको बताइसकेका छन् । ‘युक्रेनले हाम्रो मुलुकमा आएका विदेशी स्वयंसेवकलाई भेट्न थालिसकेको छ’, बिहीबार जेलेन्स्कीले भिडियो सन्देशमा भनेका छन्, ‘सबैभन्दा पहिला आइरहेका १६ हजारले हाम्रो स्वतन्त्रताको रक्षा गर्नेछन् ।’

विदेशी मर्सिनरी रुसी सेनाका लागि कति चुनौतीपूर्ण एवं टाउको दुखाइ बनिरहेका छन् भन्ने कुरा रुसी अधिकारीको भनाइबाट समेत प्रष्ट हुन्छ ।

बिहीबार राष्ट्रिय सुरक्षा परिषद्का सदस्यलाई सम्बोधन गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नवनाजीबाहेक भाडाका विदेशी सेनासँग समेत आफूहरू लडिरहेको प्रसंग कोट्याएका थिए । मध्यपूर्व सहित कैयौं मुलुकबाट आएका भाडाका सेनाले सर्वसाधारणलाई मानव ढाल बनाएको उनको आरोप थियो ।

‘हामीहरू नवनाजीहरूसँग युद्ध गरिरहेका छौं । भिडन्तको क्रममा नै हामीले नवनाजीहरूसँग लडिरहेको तथ्य देखिन्छ’, पुटिनले भने, ‘राष्ट्रवादी एवं नवनाजीको फर्मेसन छ र उनीहरूबीच मध्य पूर्वबाट समेत आएका विदेशी मर्सिनरी छन् जो सर्वसाधारणलाई मानव ढाल बनाएर पछाडि बसिरहेका छन् ।’

यसैबीच, रुसको रक्षा मन्त्रालयले पश्चिमा मुलुकमाथि युक्रेनी सेनाको पक्षमा लड्न भाडाका सेना पठाएको आरोप लगाएको छ । मस्कोमा नियमित बि्रफिङ गर्दै मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोले निजी सैनिक कम्पनीका जागिरेले रुसी सैन्य बाहनमाथि धावा बोलेको, विमानलाई निशाना बनाएको र एन्टिट्यांक एवं विमानभेदी मिसाइल प्रयोग गरिरहेको बताएका छन् ।

खासगरी पश्चिमी मुलुकले पठाएका स्टिङ्गर मिसाइल जस्ता हतियार मर्सिनरीले प्रयोग गरिरहेको कोनाशेन्कोभको भनाइ थियो । उनका अनुसार अमेरिकी खुफिया संस्थाले थप भाडाका विदेशी सेना भर्ती गर्न ठूलै अभियान सुरु गरिसकेको छ ।

बेलायत, डेनमार्क, लात्भिया, पोल्याण्ड र क्रोएसियाले आफ्ना नागरिकलाई युक्रेनको लडाइँमा सहभागी हुन कानुनी रुपमै अनुमति दिइसकेका छन् । फ्रान्सले समेत आफ्नो सेनाको विदेशी पृतनामा रहेका जातीय युक्रेनीलाई परिचालन गर्ने तयारी गरेको पनि कोनाशेन्कोभले बताए ।

‘गत हप्ता क्रोएसियाबाट दुई सय जना सैनिक युक्रेन आएका थिए र उनीहरूलाई एउटा नाजी बटालियनमा सामेल गरिएको छ’, कोनाशेन्कोभले भने ।

तर प्रवक्ता कोनाशेन्कोभले लडाइँमा सहभागी भइरहेका भाडाका विदेशी सेनालाई युद्धबन्दीको हैसियत दिन नसकिने र उनीहरूलाई फौजदारी कानुन अनुसार पक्राउ गरिने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?