+
+

स्काई न्युजको टोलीमाथि युक्रेनमा आक्रमण

बीबीसीपछि सीएनएन र ब्लुमबर्गले पनि रुसमा काम रोके

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते ८:०७

२१ फागुन, काठमाडौं । रुसले युक्रेनमा गरेको आक्रमणको समाचार संकलनमा खटिएको ब्रिटेनको समाचार च्यानल स्काई न्यूजको एक टोलीमाथि आक्रमण भएको छ ।

मुख्य सम्वाददाता स्टुअर्ट रेमसे र उनको टिम राजधानी किएभ बाहिर आक्रमणमा परेको हो । तर उनीहरु चमत्कारिक रुपमा बाँच्न सफल भएको स्काई न्यूजले जनाएको छ ।

स्काई न्यूजको वेबसाइटमा आक्रमणमा परेको भिडियोसहित समाचार पोष्ट गरिएको छ । भिडियोमा पत्रकारहरू सवार गाडीमा गोली बर्सिएर सिसा फुटेको र उनीहरुले आफूहरु पत्रकार भएको भन्दै चिच्याइरहेको सुनिन्छ । समाचारमा घटनाबारे विस्तारमा जानकारी दिइएको छ ।

आक्रमणमा घाइते भएका स्टुअर्ट रेमसेले आफूहरू निकै भाग्यले बाँचेको बताएका छन् । स्टुअर्टसहित पत्रकारहरुको टोली सुरक्षित तरिकाले ब्रिटेन फर्किसकेको छ ।

बीबीसीपछि सीएनएन र ब्लुमबर्गले पनि रुसमा काम रोके

यसैबीच बीबीसीपछि सीएनएसन र ब्लुमबर्गले पनि रुसमा अस्थायी रुपमा आफ्ना कामकाज बन्द गर्ने निर्णय गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै एक कानुन लागू गर्ने निर्णय गरेपछि ती समाचार संस्थाहरूले रुसमा आफ्ना काम रोक्ने निर्णय गरेका हुन् ।

रुसी राष्ट्रपति पुटिनले हालै रुसी सेनाविरुद्ध ‘फेक न्यूज’ प्रकाशन वा प्रसारण गरेमा १५ वर्षसम्म जेल सजायँ हुने व्यवस्थासहितको कानुन लागु गरेका छन् ।

रुसले युक्रेनमा गरेको आक्रमणलाई ‘आक्रमण’, ‘हमला’ वा ‘युद्ध’ भन्न प्रतिबन्ध लगाएको छ । पुटिनले युक्रेनमा गरिएको आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् । उनको यो ‘अभियान’लाई आक्रमण वा युद्ध भनिए कारबाही भोग्नुपर्ने हुनसक्छ ।

त्यसैले ब्लुमबर्गले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रुसमा कानुनमा बदलाव आएपछि कुनै पनि स्वतन्त्र पत्रकारलाई अपराधी मानिन सक्छ । यस्तो अवस्थामा रुसभित्र सामान्य पत्रकारिता जारी राख्न असम्भव भएको छ ।’

यसैगरी सीएनएनका प्रवक्ताले पनि सीएनएनको च्यानल बन्द गर्न लागेको बताएका छन् ।

गत शुक्रबार मात्रै बीबीसीले रुसमा आफ्नो कामकाज बन्द गरेको थियो । यसका साथै बीबीसीका रुसी सेवा जस्ता कतिपय वेबसाइटको पहुँच रुसभित्र रोक लगाइएको थियो । रुसमा फेसबुक, ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?