८ असोज, काठमाडौं । आर्थिक दबाब बढेपछि बेलायती सार्वजनिक प्रसारक बीबीसीले आगामी दुई वर्षमा २ हजारसम्म कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ।
बीबीसीले खर्च घटाउन व्यापक पुनर्संरचना अभियान अघि बढाएको हो। यसअन्तर्गत विभिन्न विभागमा कर्मचारी संख्या घटाउनुका साथै केही टेलिभिजन कार्यक्रम बन्द गर्ने र नयाँ सामग्री निर्माणमा हुने खर्च कटौती गर्ने तयारी गरिएको छ।
बीबीसीको योजनाअनुसार दुई वर्षभित्र करिब ५० करोड पाउन्ड बचत गर्ने लक्ष्य राखिएको छ। समग्र कटौतीमध्ये करिब ५५० पद कटौतीले बीबीसी न्युज, टेलिभिजन र रेडियो सञ्चालनमा प्रत्यक्ष असर पार्ने बताइएको छ। यसबाट मात्रै करिब १६ करोड पाउन्ड बचत हुने अपेक्षा गरिएको छ।
पछिल्लो योजनाअन्तर्गत बीबीसीको खेलकुद विभागबाट ४१ पद कटौती गर्ने तयारी छ। पुनर्संरचनाका क्रममा पाँचवटा नयाँ पद सिर्जना गरिने भए पनि खुद ३६ रोजगारी घट्नेछन्। कर्मचारी कटौतीका लागि बीबीसीले स्वैच्छिक अवकाश प्रक्रिया अघि सारेको छ।
खेलकुद विभागमा प्रस्तावित कटौतीबाट मात्रै करिब २६ लाख पाउन्ड बचत हुने अनुमान छ।
प्रेस एसोसिएसनले प्राप्त गरेको आन्तरिक मेमोअनुसार, चिफ कन्टेन्ट अफिसर केट फिलिप्सले आर्थिक वर्ष २०२७/२८ सम्म कमिसनिङ बजेटबाट ८ करोड पाउन्ड कटौती गर्ने प्रस्ताव अघि सारेकी छन्।
उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म कन्टेन्ट डिभिजनबाट मात्रै करिब १०० पद कटौती हुन सक्ने अनुमान छ।
बीबीसीका महानिर्देशक म्याट ब्रिटिनले गत जुनमा कर्मचारीलाई पठाएको इमेलमा ठूलो रकम बचत गर्न कठिन निर्णय लिनुपर्ने बताएका थिए। उनले सबै विभागले महत्वपूर्ण बचत गर्नुपर्ने बताएका थिए।
ब्रिटिनले बीबीसीलाई थप सरल र छिटो बनाउने योजनाअन्तर्गत वरिष्ठ नेतृत्व तहका पदमा पनि कम्तीमा १० प्रतिशत कटौती गरिने जानकारी दिएका छन्।
बीबीसीको यो योजना पछिल्लो करिब १५ वर्षयताकै ठूलो कर्मचारी कटौती प्रयासमध्ये एक भएको बताइएको छ।
प्रतिक्रिया 4