+
+

राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते १९:४०

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण गरे ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।

यसैगरी माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) निर्वाचित भएका थिए ।

नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्का एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ । स्थायी सदन भएकाले राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।

गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि हिजो (फागुन २० गते)देखि समाप्त भएको छ । राष्ट्रिय सभा अध्यक्ष  तिमिल्सिनाले सिंहदरबार नजिकको एक होटलबाट ती सांसदहरुलाई विदाइ गरेका थिए ।

नेकपा एमालेका पर्शुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त भएको हो ।

यस्तै नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल सकिएको छ ।

माओवादी केन्द्रका दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा तथा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुँवरको पनि कार्यकाल सकिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीको कार्यकाल पनि समाप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?