+
+

हाकुमा जलविद्युत् आयोजना सुरु, रसुवाले सात सय मेगावाट बिजुली दिने

रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ । त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका वडा नं १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो ।

रासस रासस
२०७८ फागुन २२ गते १३:५१

२२ फागुन, रसुवा । रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ ।

त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका वडा नं १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो ।

धुञ्चेको पुछार भोटेकोसीमा बाँध बाँधी नौ दशमलव सात किमी सुरूङको सहायताले मैलुङ दोभानमा पानी पुर्‍याई विद्युत् उत्पादन गरिने छ । रु ५५ अर्बका लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई प्रारम्भिक अध्ययन भएको १० वर्षपछि नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीले दुई महिनादेखि पूर्णरूपमा निर्माण अगाडि बढाएको हो ।

आर्थिक स्रोत व्यवस्थापन, वातावरण तथा भौगर्भिक अवस्थाको अध्ययन, नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्रीको सम्झौता, बाह्य संरचनान्तर्गत आवास तथा पहुँच मार्गको निर्माणलगायत काम पूरा गरी सुरूङ निर्माणको काम अगाडि बढाइएको छ ।

सदरमुकाम धुञ्चे पुछार भोटेकोसीमा १०९ मिटर लम्बाइ, ३०.८ मिटर चौडाइ र २९ दशमलव ५ मिटर उचाइ भएको बाँध, ६.७ मिटर व्यास र नौ दशमलव सात किलोमिटर लम्बाइको हेडरेस सुरूङ निर्माण हुने आयोजनाका प्राविधिक निर्देशक गिरिराज अधिकारीले बताए । सुरूङ निर्माणअन्तर्गत ९० डिग्री भिरालो आकारमा २९२ मिटर लामो पेनस्टक तथा २४१ मिटरको टेलरेस सुरूङ निर्माण हुने छ ।

अधिकांश स्थान भीरपाखो रहेको भोटेकोसीको साँघुरो बगर क्षेत्रमा काम गर्न असहज भए पनि क्रमिक रूपले व्यवस्थापन गर्दै निर्धारित समयमै भूमिगत संरचना निर्माण सम्पन्न गराउन प्राविधिक समूह अगाडि बढिरहेको निर्देशक अधिकारीले बताए ।

आयोजनाका विशेषता

सम्पूर्ण संरचना भूमिगत, कडा चट्टान भएका कारण भूक्षय तथा बाढीपहिराले कुनै असर नगर्ने र वर्षा यामको कुनै बेला भोटेकोसीमा बाढी आइहाले पनि मुहानको ढोका बन्द गर्नासाथ सबै उपकरण सुरक्षित हुने प्राविधिकले बताए । विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्बाइन जडान हुने र प्रतिटबाईन ७२ मेगावाट क्षमताको हुने जनाइएको छ ।

तिब्बतबाट आउने भोटेकोसी एवं लेहेन्दे खोला, नेपाली भूभागको टिमुरेको घटृेखोला, रोङ्गा, लाङ्टाङ् एवं गोसाइँकुण्डबाट आउने त्रिशूलीसमेतका ठाडो खोल्छाबाट झरेको पानी धुञ्चे पुछारमा एकत्रित हुने र पौराणिककालदेखिको त्रिशूलीको पानीसमेत विद्युत् उत्पादनमा यथेष्ट हुने बताइएको छ ।

विसं २०१८ साउनमा एक पटक ठूलो बाढी आए पनि त्यसले नदी किनारका बस्तीलाई कुनै असर नगरेका कारण विकास–निर्माणका संरचना भरपर्दो हुने कालिका-२ धैबुङका पण्डित टङ्कप्रसाद ढकालले बताए ।

वित्तीय व्यवस्थापन

नेपाल वाटर एण्ड एनर्जी डेभलमेन्ट कम्पनीको आफ्नो आन्तरिक स्रोतबाट ३० प्रतिशत र नौ विदेशी बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण प्रवाह गर्ने सम्झौता भएको छ ।

आयोजना निर्माणका लागि ऋण दिने विदेशी बैंक तथा वित्तीय संस्थामा आइएफसी, एडिबी, एआइआइबी, केइएक्सआइएम, केडिबी (कोरिया विकास बैंक ), एफएमओ (नेदरल्याण्ड्स विकास बैंक ), प्रोपार्को ( फ्रान्स विकास बैंक ), सिडिसी (बेलायत विकास बैंक ) र ओएफआइडी ( ओपेक फण्ड) छन् ।

उत्पादित विद्युत् खरिदबिक्री व्यवस्थापन

वार्षिकरूपमा एक दशमलव ४५ करोड युनिट विद्युत् उत्पादन हुने छ । प्रतियुनिट हिउँद याममा रू आठ र पैसा ४० तथा वर्षायाममा रू चार र पैसा ४० का दरले खरिदबिक्री गर्ने गरी प्राधिकरणसँग पिपिए सम्झौता सम्पन्न भइसकेको बताइएको छ ।

हिमपातका समयमा पानी जम्न गई जलप्रवाहमा कमी आउने भएका कारण शरद्, हेमन्त र शिशिर ऋतुका समयमा भने ५० प्रतिशत उत्पादन घट्ने आयोजनाले जनाएको छ ।

पाँच वर्षमा आयोजनाको संरचना निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । उत्पादन सुरु भएपछि १० वर्षभित्र दातासँंग भएको सम्झौता बमोजिमको ऋण रकमको साँवा र ब्याज क्रमिक रूपमा चुक्ता गर्दै जाने बताइएको छ ।

आयोजना प्रभावित बासिन्दालाई सुविधा

रसुवाको दूरदराज क्षेत्रमा अवस्थित हाकु इलाकामा सञ्चालित उक्त आयोजनाबाट प्रभावित मानिएका स्थानीय बासिन्दालाई उनीहरूको क्षमतानुसार रोजगारीको अवसर प्रदान गरी क्रमिक रूपमा सामाजिक विकासलाई सघाउने लक्ष्य लिएको छ ।

रोजगारी, शैक्षिक जागरण, सामाजिक कार्य, धर्मसंस्कृति, वातावरण र जैविक विविधता संरक्षण, स्वास्थ्योपचारमा सहजीकरण, खेलकुदलाई प्रोत्साहन,सुरक्षामा सहयोग एवं पूर्वाधार निर्माण जस्ता कार्यलाई प्राथमिकता दिइएको छ ।

आयोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाकु क्षेत्रका १५० स्थानीयवासीले रोजगारी एवं करिब १५ व्यक्तिले आफ्नो क्षमतानुसार कामको अवसर पाइसकेका छन् । आयोजनाले आफ्नो कार्य क्षेत्र तय गरेलगत्तै सामाजिक योगदानलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

शिक्षाको गुणस्तरमा वृद्धि गराई प्रभावित क्षेत्रका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न ठूलो र सानो हाकु तथा हाकुबेँसीका विद्यालयमा तीन वर्ष अगाडिदेखि एक÷एक शिक्षक व्यवस्था, टाढाबाट आएका छात्रछात्रालाई धुञ्चेस्थित रसुवा माविको हातामा छात्रावास भवन एवं राम्चेमा विद्यालय भवन निर्माण सम्पन्न गरिएको छ ।

हाकु स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गर्नाका साथै विगतका समयमा कोभिड सङ्क्रमण नियन्त्रणका लागि गोसाईँकुण्ड, आमाछनेदिङ्मो, कालिका र उत्तरगया गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

यातायात पहुँच

धुञ्चे र हाकुबेँसीबीच त्रिशूलीमा बेलिब्रिज निर्माण, फूलबारी– लाम्राङ सडक निर्माण, ठूलो हाकु क्षेत्रमा जाने तीन किमी पैदल मार्ग निर्माण , तिरू सडक स्तरोन्नति एवं धुञ्चे–खोदल सडक निर्माणमा आर्थिक सहयोग प्रदान गरिसकिएको वरिष्ठ वातावरण तथा सामाजिक अधिकृत सञ्जीव कार्कीले बताए ।

मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तरगत धुञ्चे पुछार त्रिशूलीमा समेत आयोजनाले पुल जडान गरी केरूङबाट आयातित माल सामग्री बोकेका ट्रक कन्टेनर ओहरदोहर गर्न सहजता ल्याएको छ ।

यसरी सहयोगका क्रममा गोसाइँकुण्ड मेला व्यवस्थापन, खेलकुदमा जागरण, स्याफ्रुको कोमिन, हाकुबेँसी एवं थाङ्बु क्षेत्रका बौद्ध गुम्बालाई आर्थिक सहयोग र नेपाल प्रहरीको हाकु प्रहरीचौकीका लागि जग्गा व्यवस्थापन एवं आर्थिक सहयोग गरेको बताइएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा सघाउ पुर्‍याउन मैलुङमा सुरक्षाचौकी र धुञ्चेस्थित नेपाली सेनाको हातामा रात्रिकालिन हेलिप्याड निर्माणलाई समेत आर्थिक सहयोग गरिसकिएको बताइएको छ । जैविक विविधतता संरक्षणअन्तर्गत विगतका समयमा डढेलो नियन्त्रण कार्यक्रमलाई आर्थिक सहयोग गरिएको थियो ।

दीर्घकालीन लक्ष्य

स्थानीयस्तरमा व्यावसायिक तालिम प्रदान गरी क्षमता अभिवृद्धि गराउने, विद्युत् पहुँच नपुगेका प्रभावित स्थानमा विद्युतीकरण गर्ने, वन संरक्षणको क्षमता अभिवृद्धि गराउने र वृक्षरोपणलाई बढावा दिई वनजङ्गल हराभरा बनाउँदै लगिने आयोजनाले लक्ष्य राखेको छ ।

स्थानीय बासिन्दाका लागि रु ११ करोड बराबरको आदिवासी जनजाति उत्थान विकास विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । जनजातिको उत्थानका लागि गरिने विशेष कार्यक्रम आदिवासी जनजाति सल्लाहकार परिषद्मार्फत सञ्चालन गरिने आयोजनाले जनाएको छ ।

जिल्लामा अपार रूपले बगेर खेर गइरहेको जलस्रोत सदुपयोग गर्दै नदी तथा खोला किनारमा दर्जनौँ जलविद्युत् आयोजना निर्माणाधीन छन् भने केही प्रस्ताव गरिएको छ । जिल्लामा सबैभन्दा पहिले निर्माण भएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाले विसं २०६० भदौ ८ गतेदेखि उत्पादन दिन थालेको हो ।
सुरुमा २० मेगावाट क्षमता रहे पनि केही वर्षपछि उपकरणमा सुधार गरी दुई मेगावाट वृद्धि गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

‘नेपालीको पौरख नेपालको गौरव’ भन्ने नाराका साथ नेपाली प्राविधिकको डिजाइन तथा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण सहयोगअन्तर्गत ब्याजसमेत रु दुई अर्ब ६४ करोडका लागतमा निर्माण सम्पन्न गरेको जनाइएको छ ।

चिलिमे जलविद्युत् केन्द्रले उत्पादन दिन थालेपछि आठवर्षे ऋण चार वर्षमै चुक्ता गर्न सफल भएको बताइन्छ । भूमिगत संरचनाबाट पहिलो पटक डिजाइन तथा निर्माण गर्न सफल भएसँगै चिलिमे जलविद्युत् आयोजनामा कार्यरत प्राविधिकले रसुवागढी र स्याङ्जेन क्षेत्रमा समेत विद्युत् आयोजनाको निर्माण अगाडि बढाएका थिए ।

हाल रसुवागढी जलविद्युत कम्पनीमार्फत रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) तथा साञ्जेन जलविद्युत् कम्पनीमार्फत माथिल्लो साञ्जेन जलविद्युत् आयोजना (१४ दशमलव आठ) र तल्लो साञ्जेन जलविद्युत् आयोजना (४२ दशमलव पाँच मेगावाट क्षमता) को निर्माण अन्तिम चरणमा पुगेको छ ।

रसुवागढी जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना भूमिगत तथा साञ्जेन आयोजना अर्धभूमिगत छन् । पछिल्लो समय धमाधम उपकरण जडान गर्ने काम अगाडि बढिरहेको रसुवागढी जलविद्युत् कम्पनीले जनाएको छ । यसैगरी साञ्जेन जलविद्युत् आयोजनाको पनि उपकरण जडान प्रक्रिया अगाडि बढेको छ ।

भोटेकोसीको पानीबाट रसुवागढीको अलावा गत वर्षदेखि रोङ्गा नजिक १२० मेगावाट भोटेकोसी विद्युत् आयोजनाको निर्माण अगाडि बढिरहेको छ । यस्तै लाङ्टाङ खोला २०, सुपर साङ्जेन ७३ , माथिल्लो मैलुङ १४, सुपर मैलुङ ६, फलाखु खोला १४ निर्माणाधीन छन् । धुञ्चेको ६ मेगावाट क्षमताको जलविद्युत् भने प्रक्रियामा नै रहेको बताइएको छ ।

यसरी नै त्रिशूलीको पानीबाट डाँडागाउँ इलाकामा प्राधिकरणले निर्माण गराएको माथिल्लो त्रिशूली थ्र्रीए नामक जलविद्युत् केन्द्रमार्फत विगत वर्षदेखि ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । मैलुङ खोलाको दोभानमा भने विसं २०७१ सालमै मैलुङ जलविद्युत् केन्द्रले पाँच मेगावाट विद्युत् उत्पादन गराइसकेको छ ।

जिल्लामा निर्माणाधीन र निर्माण भएका सम्पूर्ण विद्युत् आयोजना (लाङ्टाङ खोलाको २० मेगावाट बाहेक) लाङ्टाङ राष्ट्रिय निकुञ्जको कार्यक्षेत्र बाहिर छन् ।

आयोजनाअन्तर्गत स्थानीयस्तरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिइएको रोजगारीले केही हदसम्म जीविकोपार्जनमा सहजीकरण भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?