+
+

‘मिस वर्ल्डको स्टेजमा सबै नेपालीको मन राखिदिन पाए पुग्छ’

विष्णु शर्मा विष्णु शर्मा
२०७८ फागुन २३ गते ९:३०

२३ फागुन, काठमाडौं । आगामी चैत २ गते अमेरिकाको पुएर्तोरिकोमा ७० औं विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को ग्रान्ड फिनाले आयोजना हुँदैछ । कोरोना महामारीले स्थगित अघिल्लोपटकको प्रतियोगिता पुनः आयोजना गर्न लागिएको हो ।

यसपटक वर्तमान मिस नेपाल नम्रता श्रेष्ठले विश्वकै प्रतिष्ठित मानिने मिस वर्ल्डमा देशको प्रतिनिधित्व गर्दैछिन् । आगामी शुक्रबार अमेरिका प्रस्थान गर्ने र चैत ४ गते स्वदेश फर्कने नम्रताको तालिका छ ।

मिस वर्ल्डको फिनालेमा आफूले गरेको तयारीबारे नम्रताले अनलाइनखबरसँग कुरा गरेकी छन् । आफू यसका लागि मानसिक र भौतिक रुपमा तयार रहेको र आफूलाई साथ दिन उनले नेपालीहरुलाई आग्रह समेत गरेकी छन् ।

शारीरिक रुपमा पनि फिट एण्ड फाइन बन्न प्रयास गर्दैछु । दुई-तीनवटा फ्लाइटबाट त्यहाँ गएर फिनालेमा भाग लिनुपर्छ भन्ने दबाब छँदैछ । मानसिक रुपमा पनि शान्त बन्ने प्रयत्न गरिरहेकी छु किनभने एक वर्षदेखि फिनालेकै लागि भनेर तयारी गर्दैछु ।

मिस वर्ल्ड, मिस नेपाल र भविष्यको योजनाका विषयमा नम्रताले कुरा गरेकी छन् । किन्डरगार्टेन स्कुल खोल्नेदेखि राम्रो स्क्रिप्ट प्राप्त भए फिल्म खेल्नेसम्म उनका योजना छन् । प्रस्तुत छ, मिस नेपाल श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

मिस वर्ल्ड ग्रान्ड फिनालेको तयारी कस्तो छ ?

तयारी त पहिले पनि गरेरै गएको हो, यसरी कोरोना महामारीले पोस्टपोन्ड होला भन्ने लागेको थिएन । गर्नुपर्ने तयारी त आफ्नो ठाउँमा छँदैछ । अहिलेलाई त एक साताभन्दा पनि कम समय छ । यताबाट लुगा, सामान र फिजिकल सामग्री जुटाउनमै लागेकी छु ।

त्यो बाहेक मानसिक तयारी पनि अलिकति छँदैछ । शारीरिक रुपमा पनि फिट एण्ड फाइन बन्न प्रयास गर्दैछु । दुई-तीनवटा फ्लाइटबाट त्यहाँ गएर फिनालेमा भाग लिनुपर्छ भन्ने दबाब छँदैछ । मानसिक रुपमा पनि शान्त बन्ने प्रयत्न गरिरहेकी छु किनभने एक वर्षदेखि फिनालेकै लागि भनेर तयारी गर्दैछु ।

हेड-टु-हेड च्यालेन्ज जितेपछि नेपाल अन्तिम ४० मा प्रवेश गरिसकेको छ । ब्युटी विथ पर्पस र मल्टिमिडिया विधामा यसपटक नेपालको दाबेदारी कस्तो भइरहेको छ ?

यसपटक ब्युटी विथ पर्पस र मल्टिमिडियामा नेपालको दाबेदारी धेरै तगडा थियो र हामी टपटेनभित्र छौं । हरेक वर्ष नेपालले यी विधा लगातार जित्नैपर्छ भन्ने पनि छैन । मलाई के कुरामा सन्तुष्टि छ भने हाम्रो प्रोजेक्टलाई मिस वर्ल्डले राम्रोसँग रिकग्नाइज गरेको छ । यसपटक जजहरुलाई यति गाह्रो भयो कि एउटा विजेताको सट्टा उहाँहरुले ६ जना विजेता छान्नुभयो ब्युटी विथ पर्पसको लागि ।

मल्टिमिडियामा चाहिं अफ्रिकी देशहरु एकदम अगाडि हुनुहुन्थ्यो भोटिङमा, यसकारण हामी टप फाइभमा चाहिं छौं । हारजित त छँदैछ, म जानेबेलासम्म यो प्र्रोजेक्ट कम्प्लिट भइदिए हुन्छ भन्ने लाग्छ । मेरो मिस नेपाल कार्यकालभरि यो प्रोजेक्टले पूर्णता पाए हुन्छ भन्ने लागेरै म गएकी थिएँ । जिते त राम्रै हो, तर जितेपनि हामी टप ४० मा प्रवेश गरिहाल्यौं, यस कुरामा म सन्तुष्ट छु ।

पहिलेको स्थगित फिनालेदेखि आगामी फिनालेसम्मको संक्रमण समयमा कत्तिको मानसिक दबाबमा रहनुभयो वा तयारी गर्न कत्तिको सजिलो भयो ?

एक हिसाबले भाग्मानी नै मान्नुपर्छ । कोभिड पोजेटिभ भएको भए साथीहरु कतिपय फिनालेमा जान नपाउँदा दुर्भाग्य नै हुन्थ्यो । अन्ततः यसले हामीलाई एकदमै राम्रो भयो । यद्यपि, हामीलाई आफ्नो कमीकमजोरी कहाँ रहेछ भनेर बुझ्न मौका मिल्यो । किनभने हामीलाई २८ दिनसम्म त फास्ट ट्रयाक इभेन्टमा प्रतिस्पर्धा गर्ने एकदम चटारो थियो नि त । फिनाले रोकिएर मेन्टल्ली फ्रेस भएर जान पायौं जस्तो लाग्छ मलाई ।

२८ दिनमा आफूले सुधार्नुपर्ने कुराहरुबारे केही महसुस गर्नुभयो ?

कम्पिटिसन आइसक्यो भनेर म आफैंले पनि हतार महसुस गरेकी थिएँ । त्यहाँ पुगेर मात्र हैन, पुगे पनि मल्टिमिडिया र फास्ट ट्रयाक इभेन्टहरुको दबाब थियो मलाई । यसपटक सेलेक्ट हुने कि नहुने हो भन्ने एकखाले दबाब पनि । अहिले मलाई खुला दिमाग लिएर काम गर्ने दोस्रो मौका प्राप्त भएको छ । यसकारण म यो मौकालाई राम्रोसँग उपयोग गरेर राम्रोसँग पर्फम गर्ने सुविधा छ । क्राउन जित्ने कि मन जित्ने आफ्नो ठाउँमा छँदैछ, मलाई राम्रोसँग पर्फम गरेर स्टेजमा सबै नेपालीहरुको मन राख्दिन पाए पुग्यो मलाई ।

तपाईंले अघिल्लोपटक जाँदा पनि आयोजकको मन जित्नुभएको छ रे भन्ने पनि सुनिन्छ नि ?

(हाँस्दै) होला शायद । आयोजकभन्दा पनि प्रतिस्पर्धीहरु सुरुदेखि नै राम्रो साथी बन्नुभयो । म गएर राम्रो बनाएको भनेर त भन्दिन तर उहाँहरुको मनमा नेपाल चाहिं बसेको छ । नेपाल भनेर सबैलाई नमस्ते गर्दा उहाँहरुले पनि हाँसेर नमस्ते फर्काइदिनुहुन्थ्यो । त्यो देख्दा एकदमै खुसी लाग्थ्यो । आफूलाई यसरी रिकग्नाइज गर्दा खुसी लाग्छ ।

मिस वर्ल्डमा सहभागी अन्य प्रतिस्पर्धीले नेपाल, नेपाली र हाम्रो भूगोललाई कसरी चिन्नुहुँदो रैछ ?

सय जना भिन्न मान्छेहरुको सयथरी विचार त भइहाल्छ । कसैले गौतम बुद्धको देश, माउन्ट एभरेस्टको देश भन्नुहुन्छ भने कसैले भारतकै पार्ट हो भनेर भन्नुहुँदो रहेछ । मैले चाहिं बे्रकफास्ट र डिनर टेबुलमा बसेर उहाँहरुलाई नेपालको म्याप देखाएर भन्नुपथ्र्यो । एउटा साइडमा इण्डिया छ अर्को साइडमा चाइना छ भनेर भन्नुपथ्र्यो । नेपालमा माथि माउन्टेन छ, बीचमा हिल छ र तल प्लेन छ भनेर भन्दा रमाइलो गरेर सुन्दिनु हुँदोरैछ । कति जनालाई थाहा थिएन, मैले नेपाल भनेको यस्तो हो भनेर बुझाइदिएँ ।

अन्य मुलुकका प्रतिस्पर्धीले नेपाललाई कत्तिको बलियो प्रतिस्पर्धी ठान्दा रैछन् ?

त्यहाँ गएपछि सुरुको तीन हप्ता त सबैलाई चिन्दै र रमाइलो गर्दैमा जान्छ । विस्तारै एउटा एउटा फास्ट ट्रयाक इभेन्ट हुँदा सबैको विज्ञता भिन्न-भिन्न विधामा भएको देख्न पाइन्छ । कुनै देश खेलमा एकदम राम्रो दाबेदार छ भने कुनै मुलुक टप मोडलमा राम्रो हुँदो रहेछ । सातवटा फास्ट ट्रयाक इभेन्टमा नेपालले मल्टिमिडिया, हेड टु हेड र ब्युटी विथ पर्पसमा राम्रो गर्न सक्यो । यी विधामा पनि नेपालले पहिले पनि टाइटल जितेको हो, यो हिसाबले नेपाललाई बलियो देख्नुभयो होला, तर दाबेदारीको कुरामा सबै जना समान हुनुहुन्छ ।

पुएर्तोरिकोमा रहँदा तपाईंले अन्य देश र नेपालको तयारीबीच कस्तो भिन्नता पाउनुभयो ?

तयारी त सबैको फरक-फरक हुन्छ । हामी चाहिं ठिक्क लेभलमा छौं जस्तो लाग्छ । कतिपय देश चाहिं एकदम राम्रो तयारी गरेर आउँदा रहेछन् । कतिपय देशको तयारीभन्दा हाम्रो तयारी पनि एकदम राम्रो पनि हो कि जस्तो लाग्यो मलाई । सबै कुरामा सन्तुलन थियो । कतिपय कुरामा अर्गनाइजर र कतिपय कुरामा प्रतिस्पर्धीले धेरै मेहनत गर्नुपरिरहेको हुन्छ । मेरो केसमा चाहिं ६०-४० भन्छु म चाहिं । ब्युटी विथ पर्पसमा अर्गनाइजरले धेरै हेल्प गर्नुभयो मलाई चाहिं । त्योबाहेक अरु कुरामा मेरो धेरै मेहनत भएजस्तो लाग्छ ।

नेपालले आफ्नै सीमित स्रोत-साधनमा गरेको तयारी मिस वर्ल्डको ग्रान्ड फिनालेमा पर्याप्त छ जस्तो लाग्छ ?

मिस वर्ल्डको प्याटर्न हेर्ने हो भने अघिल्लो संस्करणमा उपाधि जित्नुभएकाहरुले राम्रो तयारी गरेका कन्ट्रीका प्रतिस्पर्धीलाई जितेको अनुभव पनि छ । तर अहिले समय गुज्रिइसक्यो । नेपालले २५ वर्षदेखि मिस वर्ल्डमा आफूलाई सहभागी बनाइरहेको छ । यो समयमा हाम्रो छिमेकी मुलुकले ६-७ वटा मिस वर्ल्डको टाइटल जितिसक्नुभयो । उहाँहरु पनि त हामीजस्तै त हो नि ।

तर उहाँहरुले आफ्नो स्रोत साधनमा आफ्नो क्षमतालाई विस्तार गर्न सक्नुभयो । म हामीलाई पुगेको छैन भनेर भन्दिनँ । अरु दिदी र पूर्वमिस नेपालहरुसँग कुरा गर्दा ९० को दशकमा जाँदा कस्तो थियो र अहिले जाँदा कस्तो छ भनेर बुझ्न सकिन्छ । तर अहिले हामीलाई सबै पुगेको छ भनेर पनि भन्दिनँ । हामीले गर्न सक्ने भनेको जतिपनि स्रोत हाम्रो हातमा छ त्यसलाई मज्जाले प्रयोग गर्ने हो । तर अरु देशसँग तुलना चाहिं गर्नै सक्दैनौं ।

नेपालले अझै कुन-कुन पार्टहरुमा अझै राम्रो गर्नुपर्ने चुनौती छ ? यसमा सरकार र हाम्रो आफ्नै भूमिका के हुन्छ ?

सातवटा फास्ट ट्रयाक इभेन्टमा नेपालले मल्टिमिडिया, हेड टु हेड र ब्युटी विथ पर्पसमा राम्रो गर्न सक्यो । यी विधामा पनि नेपालले पहिले पनि टाइटल जितेको हो, यो हिसाबले नेपाललाई बलियो देख्नुभयो होला, तर दाबेदारीको कुरामा सबै जना समान हुनुहुन्छ ।

सरकार र सम्बन्धित निकायले एउटा प्रतिस्पर्धीलाई मानसिकदेखि भौतिक रुपमा पनि उत्तिकै सहयोग गर्नुपर्छ । उसलाई हिंड्न, बोल्न र बस्न मात्र सिकाएर हुँदैन । उसलाई मानसिक रुपमा पनि सक्षम छ भनेर दिमागमा हालेर पठाउनुपर्छ । कतिपय कुरा म आफैंले व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसो गर्न म एक्लै प्रतिस्पर्धीलाई कठिन हुन्छ । आयोजक अघि आएर हामीले तिम्रो लागि सहयोग गर्छौं भनेर भन्न सक्नुपर्छ ।

फिनालेमा प्रस्तुत गर्ने कस्ट्युम र अन्य प्रस्तुतिको बारेमा तयारी कस्तो छ ?

पहिरन र फिजिकल अपिरिएन्स भन्ने कुरा चाहिं सबै सुरुवाती तयारीको कुरा हो । यसको लागि मनिष राईले तयारी गर्नुभएको छ । यसको लागि मैले पहिलेजस्तो तयारी गर्नुपर्दैन । यसबारे सबै कुरा मनिष राईले तयारी गर्नुहुन्छ । उहाँसँगै बसेर मैले वार्डरोबको तयारी गर्दैछु । कतिपय सानो-सानो कुराहरु पनि हुन्छ, जसलाई क्यामेरामा भनेर साध्य पनि छैन । तर यसबाहेक हामीले फिजिकल अपिरियन्सलाई लिएर गर्नुपर्ने काम चाहिं भइरहेको छ ।

मिस नेपालहरु आफने कार्यकाल सकिएपछि हराउने गरेको गुनासो व्याप्त छ । कार्यकाल सकिएपछि तपाईंको योजना कस्तो छ ?

म छक्क पर्छु, कसले चाहिं भन्नु हुँदो रहेछ मिस नेपाल हरायो भनेर । अहिलेसम्म हामी २५-२६ जना मिस नेपाल छौं । सबै जनाले आ-आफ्नो काम गरिरहनुभएको छ । उहाँहरुलाई पब्लिकमा आउनु मन छैन । प्राइभेसीलाई हामीले सम्मान गर्नुपर्छ । उहाँबाहेक अझै पनि सोच्नुस् त- माल्भिका दिदी मिडियामा हुनुहुन्छ । रुबी राणा दिदी पहिलो मिस नेपाल हाम्रोभन्दा पनि राम्रो इनर्जी छ उहाँको । यो कुरालाई केही फरक ढंगले हेर्नुहोला भनेर म अडिएन्सलाई भन्छु । हराउने वा नहराउने कुरा सबैको आफ्नो इच्छा हो । श्रृंखला दिदी पढिराख्नुभएको छ । आर्टिटेक्ट हो नि त उहाँ पेसाले त । उहाँ पनि मिडियामा अहिले पनि हुनुहुन्छ ।

नहराइकन लाइमलाइटमै रहने नम्रताको योजना कस्तो छ ?

मेरो एउटै कुरामा लाग्ने बानी छैन । धेरै कुरामा हात बाल्ने बानी छ । अप्सनहरु खुला छन् । दश वर्षभित्र किन्डरगार्टेन खोल्ने योजना भएपछि त्यो खोलेर मात्र काम छैन । त्यसलाई चलाउन योजना पनि ल्याउनुपर्‍यो । बीस वर्षमा १२ जना बच्चाहरुको दायित्व लिएरै मैले थाहा पाएँ कि बच्चाहरुसँग काम गर्न मेन्टल्ली मच्योर्ड हुनु जरुरी हुन्छ भन्ने कुरा । निकै रिस्की काम हो यो चाहिं । यसको लागि पनि मैले सिकिरहेको छु ।

मिस नेपालअघि र मिस नेपाल भइसकेपछि पब्लिक फिगर हुँदाको भिन्नताको अनुभव कस्तो रह्यो ?

सोहीअनुसार स्वभाव परिणत हुँदै जाँदो रहेछ । मलाई पहिले धेरै मानिसलाई भेट्न मन लाग्दैनथ्यो । मिस नेपाल भइसकेपछि मेरो लागि उत्तरदायित्वको कुरा पनि हो । कतिपय कुरामा अनुशासनको कुरा पनि आउँछ । आफूलाई कतिपय कुरामा मच्योरिटी पनि आउने रहेछ । बोल्ने, मान्छेसँग ब्यवहार गर्ने र सोच्ने कुरामा निकै फरक आउने रहेछ ।

तपाईंलाई अहिलेसम्म मनपर्ने मिस नेपाल को हुनुहुन्छ ?

इशानी श्रेष्ठ र मलिना जोशी ।

मनपर्ने अभिनेता ?

नेपाली एक्टरमा दीपकराज गिरी र बाहिर शाहरुख खान ।

मनपर्ने अभिनेत्री ?

नेपालमा निरुता सिंह र बाहिर आलिया भट्ट ।

मनपर्ने गायक ?

नेपालीमा नारायणगोपाल र तारादेवी ।

मनपर्ने परिकार ?

फ्राइड र स्पाइसी जुनुसकै ।

रुचिहरु ?

कलाको जुनसुकै विधा ।

मनपर्ने फिल्म ?

रोमान्टिक र रोमान्स-कमेडी जनराको फिल्म मनपर्छ । हालै मैले घामड शेरे फिल्म हेरेको थिएँ, मलाई मनपर्‍यो ।

भविष्यमा कुनै फिल्म गर्ने योजना छ ?

गरिहाल्छु र गर्दिन पनि भन्दिनँ । समय लिएर हेर्छु । मेरो जस्तो खालको पर्सनालिटी छ, पात्र उपयुक्त छ र स्क्रिप्ट राम्रो छ भने टिमसँग काम गर्न आरामदायी महसुस गर्छु र फिल्म खेल्न प्रयास गर्छु ।

तस्वीर/भिडियो : शंकर गिरी

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?