+
+

टिकटकमा भाइरल मणिचुड दहमा युवा जमात ओइरिएपछि…

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन २३ गते ७:२२

२२ फागुन, काठमाडौं । शनिबार काठमाडौंको उत्तरपूर्वी क्षेत्रको शंकरापुर नगरपालिकामा पर्ने २२३० मिटर अग्लो मणिचुड दहको तल्लो स्टेसनमा सयौंको संख्यामा मोटरसाइकल पुगेका कारण धुलाम्य बाटोमा सवारी साधन रोकिने अवस्था आयो । आसपासमा निर्माण सामग्री बोकेर हिँडेका टिपर जाममा परे ।

त्यति मात्र होइन, शिवपुरी राष्ट्रिय निकुञ्जमा ओहोर-दोहोर गर्ने सवारी साधनसमेत अनकन्टार डाँडामा जाममा फस्न थालेपछि नेपाली सेनाका दुई जवान मोटरसाइकल पार्किङ गरिएको ठाउँमा आइपुगे । ‘आज के छ र यहाँ ? यस्तो भीड भएको ?’ करिब डेढ घण्टा मणिचुड दहमा टहल्लिएपछि हामी पनि पार्किङ क्षेत्रमा झरेका थियौं । संयोगवशः दुई जना सेनाका जवानसँग भेट भयो । राष्ट्रिय निकुञ्जमा खटिएका उनीहरूले यसअघि सो क्षेत्रमा यति ठूलो भीड नदेखेको बताए ।

पछिल्लो समय एक युट्युव च्यानलले खिचेको मणिचुडको ड्रोन भिडियो सार्वजनिक भएपछि केही समयमै यसको क्लिपहरू टिकटकमा भाइरल भए । भक्तपुर थिमी निवासी बालकुमार बस्नेतलाई उनका साथीले टिकटकमा देखेका आधारमा यो स्थानमा जान प्रस्ताव गरेका थिए । त्यसपछि उनका साथीले युट्युवमा लोकेसनबारे पनि जानकारी लिइसकेका थिए ।

तीन जनाको समूहमा शनिबारको बिदा मनाउन पुगेका बस्नेतलाई यो गन्तव्य त्यति नौलो त लागेन । तर, मानिसको भीड देखेर भने चकित भए । त्यही भीडमा एक अपरिचितले आफ्नो साथीलाई भन्दै थिए, ‘देखिस् त युवा पिकनिक नगएर कहाँ आउँदो रहेछ ?’ बस्नेतले युवाहरूको भीडमा एक वित्तीय संस्थामा काम गर्ने साथीहरूको अर्को जमातलाई समेत शनिबार त्यहीं भेटे ।

शंखरापुर नपरपालिकाका मेयर सुवर्ण श्रेष्ठका अनुसार मणिचुड हाइकिङ गन्तब्य हो । यहाँ लामो समयदेखि हाइकिङमा फाट्टफुट्ट मानिस आइरहन्थे । पछिल्लो समय मणिच्युड दह पुग्न बनाइएको सिँढीसम्मै मोटरबाटो पुर्‍याइयो । जसले गर्दा अब मानिसहरूले आफ्नो सवारीबाटै यहाँसम्म पुग्ने मौका पाए ।

यसले गर्दा आन्तरिक पर्यटकको भीड लागेको उनको भनाइ छ । ‘हामीले बाटो पुर्‍याएपछि आगन्तुकको भीड बढेको छ’ उनले भने, ‘अब सडकलाई वर्षायाममा पनि निरन्तर चल्ने गरि स्तरोन्नती गर्दैछौं ।’

शंखरापुर आफैमा प्रसिद्ध पर्यटकीय गन्तव्यले भरिपूर्ण क्षेत्र हो । प्राचिन सहर साँखुदेखि सालीनदीको चिनारीले यो नगरपालिकालाई चिनाएको छ । यद्यपि हाइकिङ गरिरहनेहरूका लागि भने मणिचुड नौलो गन्तव्य भने होइन । साँखुदेखि ६ किलोमिटर दुरीमा मणिचुड दह रहेको छ । सवारी साधन रोकेर १५/२० मिनेटको उकालो पदयात्रापछि मणिचुड दह पुगिन्छ ।

दह भएको स्थानलाई चारैतर्फ जंगलले घेरेकाले यहाँ पुगेपछि कुनै खाल्डोभित्र पसेको भान हुन्छ । तर, यस क्षेत्रबाट जंगल छिचोलेर वरपर टहल्दा भने काठमाडौंको सहरी दृष्यमात्र होइन, सामुन्नेमा हिमालको आकर्षक दृश्यावलोकन समेत गर्न सकिन्छ ।

मणिचुडमा जनै पूणिर्माका दिन ठूलो मेला लाग्छ । दह पुग्नु अगाडि एउटा सुन्दर र शान्त चौर फेला पर्छ । जहाँ केहीबेर सुस्ताएपछि दह पुगेर प्रकृतिको आनन्द लिन सकिन्छ । जंगलबाट अविरल आइरहने पानी दहमा जान्छ । जसले गर्दा दहमा कञ्चन पानी देख्न सकिन्छ । पछिल्लो समय दहमाथि ध्वजापतका टाँगिएका कारण दह अझ आकर्षक बनेको छ ।

कसरी पुग्न सकिन्छ ?

मणिचुड दह पुग्ने धेरै विकल्प छन् । तर, सरल विकल्प भने उपत्यकाको जुनसुकै ठाउँबाट पनि सार्वजनिक वा निजी सवारीमा साँखु पुगेर त्यहाँबाट २ किलोमिटरको दुरीमा पर्ने बज्रबाहिनी मन्दिर पुगिन्छ । सो मन्दिरबाट सुरु भएको यात्रा चिहानडाँडा हुँदै मणिचुड पुगिन्छ ।

अर्को विकल्प चावहिल-थली-इन्द्रायणी चोक-गागलफेदी बजारबाट छ । गागलफेदी बजारबाट कच्ची सडक यात्रापछि मणिचुड पुग्न सक्ने विकल्प छ । साँखु वा गागलफेदी जुन रुटबाट जाँदा पनि केही समय कच्ची सडक यात्रा गर्नुपर्ने हुन्छ । सडक भिरालो र धुलाम्य छ । हलुका चार पाङ्ग्रे सवारी साधन फस्न सक्ने सम्भावना भने हुन्छ ।

पछिल्लो समय सडक मार्गकोसमेत सुविधा भएका कारण पदयात्रा गरेर जानेहरुले भने धुलोको सामना गर्नुपर्छ । सिन्धुपाल्चोकको चिसापानीबाट पनि डेढ घण्टाको सडक यात्रापछि मणिचुड पुग्न सकिने विकल्प छ । मणिच्युड घुमफिरपछि चिसापानी पुगेर रिर्सोटमा बास बस्ने योजनासहित पुगेका यात्रीसमेत शनिबार भेटिए । कतिपय पदयात्री साँखु-बज्रयोगिनी-मणिचुड-सुन्दरीजल रुटमा हाइकिङ गर्छन् ।

यो हाइकिङ प्रेमीबीच परिचित रुट हो । दुई पांग्रे सवारी छ भने मणिचुड-झुले-जहरसिंहपौवा-नगरकोट-भक्तपुर हुँदै फर्कंदा यात्रा अझ रोमाञ्चक बन्न सक्छ । पदयात्रा गर्दा भने साँखु वा सुन्दरीजल नै झर्नु पर्छ । सुन्दरीजलबाट पदयात्रा गर्दा शिवपुरी राष्ट्रिय निकुञ्जमा टिकट काट्नु पर्छ ।

उपहारमा लालीगुँरास

समुन्द्री सतहबाट २२३० मिटर अग्लो मणिचुड दह आसपासको जंगलमा यो समयमा ढकमक्क लालीगुँरास फुलेको देख्न सकिन्छ । शनिबार त्यहाँ पुगेका युवायुवती तथा बालबालिका लालिगुँरासको बोटमा झुम्मिएको देखिए । धेरैले उपहार साटासाट गरे भने कतिपयले भने चिनोका रुपमा बोके ।

ड्राइफुड र पानी बोक्नुहोस्

भाइरल ठाउँ रहेछ, माथि पाइहालिन्छ भनेर कुनै पनि खानेकुरा वा पानीसमेत नबोकी हिंड्नु भयो भने समस्या हुन सक्छ । किनकि काठमाडौं नजिकका अन्य गन्तव्यको तुलनामा यो ठाउँ चहलपहल बढि भएको स्थान होइन । त्यसकारण दह नजिकै पसलहरु भने फेला पर्ने छैनन् । यहाँ जाँदा ड्राइफुड र पानी बोकेर जाँदा राम्रो हुन्छ ।

मणिचुड क्षेत्र आसपास तामाङ समुदायको बाहुल्य छ । पछिल्लो समयस्तरीय होटेल/रिर्सोटहरू भने बन्ने क्रममा रहेको शंखरापुर नगरपालिकाका मेयर श्रेष्ठले जानकारी दिए ।

दह जाने बाटोमा लाइनबद्ध रोकिएका मोटरसाइकलहरू ।
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?