+
+

ककपिटमा प्रिया : अरुलाई पनि प्रेरित गर्ने आशा

काठमाडौंबाट दैनिक ३०० भन्दा बढी उडान/अवतरणका दौरान जहाजको ककपिट सम्हाल्ने कुल २७ जना महिला छन्- सिनियर क्याप्टेनदेखि कोपाइलटसम्म । हेलिकप्टरको ककपिटमा भने प्रिया अधिकारी एक्लै छिन् । उनी नेपालको एक मात्र हेलिकप्टर चालक हुन् ।

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन २४ गते १३:३४

२४ फागुन, काठमाडौं । नेपाली आकासमा आन्तरिक हवाई उडानतर्फ अहिले दैनिक १४–१५ हजार मानिस यात्रा गर्छन् । काठमाडौंबाट दैनिक ३०० भन्दा बढी उडान/अवतरणका दौरान जहाजको ककपिट सम्हाल्ने कुल २७ जना महिला छन् । यात्रुबाहक जहाज (फिक्स्ड विङ) उडाउने सिनियर क्याप्टेनदेखि कोपाइलटसम्मको संख्या हो यो । हेलिकप्टरको ककपिटमा भने प्रिया अधिकारी एक्लै छिन् । अर्थात्, उनी नेपालको एक मात्र हेलिकप्टर चालक हुन् ।

पर्वतारोहीलाई उद्धार गर्न हाइअल्टिच्यूडमा जाँदा होस् वा कहिल्यै नपुगेको नयाँ भूगोलमा, प्रिया आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर खट्छिन् । व्यस्त कार्यतालिकाबीच अनलाइनखबरसँग कुरा गरेकी उनलाई हामीले सोध्यौं– ‘उडानमा डर लाग्दो कुनै क्षण याद छ ?’

‘पाइलट डरायो भने त हेलिकप्टर उड्दै–उड्दैन’, उनले भनिन्, ‘हामी जुनसुकै परिस्थितिमा पनि अत्तालिएका हुँदैनौं, बरु अब के गर्ने भनेर विकल्पबारे सोचिरहेका हुन्छौं ।’

प्रिया अहिले श्री एयरलाइन्समा आबद्ध छिन् । उनले ककपिट सम्हालेको १२ वर्ष पुग्यो । त्यसअगाडि चार वर्ष बुद्ध एयरमा एयरहोस्टेस रहेकी उनी फिलिपिन्समा पाइलट कोर्ष पूरा गरेपछि हेलिकप्टर चालकका रुपमा डाइनेस्टी एयर र हेलि एभरेष्टमा आबद्व भइन् ।

महिलाका लागि पाइलटिङ कति सजिलो काम हो ? भन्ने प्रश्नमा उनले उत्तर दिइन्, ‘महिलालाई यो काम पुरुषलाई जत्तिकै गाह्रो छ । सजिलो पनि पुरुषलाई जत्ति नै छ ।’

नेपालको एक मात्र महिला हेलिकप्टर पाइलटका रुपमा सम्मान पाउँदा कस्तो अनुभव हुन्छ भन्ने प्रश्नमा उनको जवाफ छ–‘यो तपाईंहरुले दिने माया हो, मैले त आफ्नो ड्यूटी मात्र पूरा गरेकी हुँ, त्यस्तो ठूलो केही लाग्दैन ।’

वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का सचिव तथा मनाङ एयरका सेफ्टी म्यानेजर राजु न्यौपानेका अनुसार हेलिकप्टर पाइलट बन्नु अन्य पाइलटको तुलनामा बढी महँगो छ ।

हेलिकप्टर पाइलट कोर्ष पूरा गर्न एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने न्यौपाने बताउँछन् । उनका अनुसार, नेपाल नागरिक उड्ययन प्राधिकरणले तोकेको अवधिसम्म हेलिकप्टर कम्पनीले दिने तालिमका क्रममा अर्को एक करोड रुपैयाँ जति लाग्छ । त्यसपछि मात्र एक पूर्ण हेलिकप्टर पाइलट तयार हुन्छ ।

‘नेपालमा हेलिकप्टर कम्पनीहरु बढेको तुलनामा नेपाली पाइलट उत्पादन नहुँदा महँगोमा विदेशबाट पाइलट ल्याउनुपर्ने बाध्यता छ’, न्यौपाने भन्छन्, ‘प्रिया अधिकारीको सफलताले अन्य नेपाली महिलालाई पनि यो क्षेत्रमा आउन प्रेरित गर्ने आशा गर्न सकिन्छ ।

ठूला जहाज उडाउन कुन एयरलाइन्समा कति महिला पाइलट/कोपाइलट ?

  • यति एयरलाइन्स : ३ सिनियर क्याप्टेनसहित १२
  • बुद्ध एयर : ५ सिनियर क्याप्टेनसहित ८
  • श्री एयरलाइन्स : ३
  • श्री एयरलाइन्स (हेली) : १
  • गुण एयरलाइन्स : २
  • सीता एयर : २
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?