+
+

वास्तुशास्त्र : घर निर्माण गर्नुअघि यी कुरामा ध्यान दिनुपर्छ

ज्योतिषी शिवराज रेग्मी ज्योतिषी शिवराज रेग्मी
२०७८ फागुन २४ गते १७:४३
ज्योतिषी शिवराज रेग्मी

२४ फागुन, काठमाडौं । वास्तुशास्त्रलाई प्राचीन विज्ञान मानिन्छ । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको बयान गरिएको छ । वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ । जसमा देव शिल्प र मानव शिल्प रहेका छन् ।

देव शिल्पमा मठमन्दिर, यज्ञशाला आदि निर्माण विधिबारे बताइएको छ भने मानव शिल्पमा आवासीय भवन र त्यहाँका शयन कक्षहरुको निर्माण विधिबारे बयान गरिएको छ । वास्तुशास्त्रले घर बनाउँदा ध्यान दिनुपर्ने दिशा र कोणबारे उल्लेख गरेको छ । यसले घर निर्माणबारे सुझाएको छ ।

वास्तुशास्त्रको पालना गरी बनाइएका घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने र घरमा बस्दा उत्साह, उमंग र उल्लासको अनुभूति हुने गर्छ ।

बस्न योग्य स्थानलाई व्यवस्थापन गर्ने कामलाई वास्तु भनिन्छ । मानव शरीर पञ्च भौतिक तत्व पृथ्वी, जल, तेज, वायु, आकाश मिलेर बने जस्तै वायुमण्डल पनि यिनै पञ्च भौतिक तत्व मिलेर बनेको हुन्छ । मानव शरीर र वायुमण्डलका यिनै तत्वलाई एकापसमा मिलाएर वा सामीप्य गराएर वास्तु मिलाइन्छ ।

वास्तुशास्त्रलाई परापूर्वकालदेखि मान्यता दिंदै आएपनि अहिले बाक्लिंदै गएको सहरीकरण र जनसंख्याका कारण वास्तुशास्त्र अनुसार घर बनाउन सम्भव छैन । भनेको स्थानमा जग्गा पाइँदैन । पाइएपनि भनेको जस्तो पाइँदैन । यस्ता समस्याका बाबजुद पनि वास्तुलाई अनुशरण गर्न सकेमा भविष्यमा आउन सक्ने सम्भावित बाधा व्यवधानलाई भने कम गर्न सकिन्छ ।

कस्तो हुनुपर्छ वास्तुअनुसार घर-जग्गा

जग्गा

वास्तुशास्त्र अनुसार सबैभन्दा राम्रो पूर्वतिर फर्केको जग्गालाई लिइन्छ । यसपछि उत्तर फर्केको र दक्षिण-पश्चिम फर्केको जग्गा राम्रो मानिन्छ ।

तर पूर्वतिर भएपनि भिरालो, ओरालो जग्गा वास्तुअनुसार राम्रो मानिंदैन । जग्गा समतल स्थानमा हुनुपर्छ । जग्गा दक्षिणतर्फ ओरालो पनि हुनुहँुदैन ।

मूलढोका

घरको मूलढोका पूर्वतिर हुनुपर्छ । सूर्यको किरणबाट सकारात्मक ऊर्जा आउने भएकाले मूलढोकाका लागि पूर्व दिशा उपयुक्त मानिएको हो । यसबाहेक उत्तरतिर पनि मूल ढोका राख्न सकिन्छ ।

खासगरी पहाडी र हिमाली क्षेत्रमा दक्षिणतर्फको मूलढोकालाई शुभ मानिन्छ । मूलढोका अन्य ढोकाको तुलनामा अग्लो र ठूलो हुनुपर्छ । मूलढोकामा तोरण बाँध्नुपर्छ । जसका कारण देवीदेवता खुसी तथा प्रसन्न हुन्छन् । यसो गर्दा घरको प्रतिष्ठासमेत बढ्छ ।

ढोका राम्रोसँग खुल्ने र आवाजसमेत नआउने हुनुपर्छ । वास्तुअनुसार आफैं खुल्ने आफैं बन्द हुने मूलढोका राम्रो मानिंदैन ।

घरमूलीको कोठा

घरमूलीको कोठा अन्य कोठाको तुलनामा ठूलो हुनुपर्छ । कोठामा माथि बिम हुनुहुँदैन । बिम भए तनाव बढ्नेजस्ता अन्य समस्या देखिन सक्छन् ।

सुत्नेकोठा

बालबालिका वा वृद्धि विकास भइसकेका व्यक्तिको कोठा पूर्वतिर हुनुपर्छ । श्रीमान-श्रीमती र घरमूली सुत्ने कोठा जहिल्यै दक्षिण-पश्चिममा हुनुपर्छ ।

बालबालिकाको पढ्ने कोठा

वास्तुअनुसार पढ्ने कोठा पूर्वतिर भएका सबैभन्दा उत्तम मानिन्छ । यसबाहेक पूर्व-उत्तर दिशाको कुनामा समेत यो कोठा बनाउन सकिन्छ ।

पूजा कोठा

सकारात्मक ऊर्जाका लागि पूर्व दिशा उपयुक्त मानिन्छ । यसकारण पूर्वको कोठा वा पूर्वको कुनामा पूजा कोठा बनाउन सकिन्छ ।

पाहुना कोठा

पाहुना कोठा जहिल्यै उत्तर-पश्चिमको स्थानमा हुनुपर्छ । वास्तुअनुसार चन्द्रमालाई छिटो चलायमान हुने ग्रहका रुपमा लिइन्छ ।

बैठक कोठा

बैठक कोठा सधैं पूर्वोत्तर स्थानमा हुनुपर्छ । बैठक कक्ष खुलेको र अन्य कोठाभन्दा ठूलो हुनु आवश्यक छ । यहाँ घरसल्लाहदेखि लिएर विभिन्न छलफल गर्नुपर्ने भएकाले यो कोठा उत्तर-पूर्वमा राम्रो मानिन्छ ।

भान्साघर

पूर्व र दक्षिणबीचको दिशालाई आग्नेय दिशा भनिन्छ । यो दिशामा भान्साघर बनाउन सकिन्छ । भान्साघरमा चुलो दक्षिणतर्फ फर्केको हुनुहुँदैन र घरमूलीले दक्षिणतर्फ फर्केर कहिल्यै खाना खानुहुँदैन ।

वास्तुशास्त्र अनुसार भान्साघर र शौचालय एकै ठाउँमा बनाउनु हुँदैन । भान्सा र शौचालय एकै ठाउँमा बनाउँदा सामानहरु अत्यधिक प्रयोग हुने, खाद्यसामग्री खेर जाने, खुसी हराउने तथा रोगी हुने हुन्छन् ।

शौचालय

पूर्व र उत्तर दिशाको कुनामा शौचालय बनाउनु हुँदैन । यो दिशामा शौचालय बनाउँदा सूर्यको किरणसँगै नकारात्मक तत्व घर प्रवेश गर्ने सम्भावना रहन्छ । यस्तो भएमा घरपरिवारको सदस्यको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पर्छ ।

वास्तुअनुसार पूर्व र उत्तर दिशाबाट सकारात्मक ऊर्जा बहन्छन् भने पश्चिम र दक्षिण दिशाबाट बाहिर निस्किन्छन् । शौचालय जहिल्यै दक्षिण-पश्चिममा बनाउनुपर्छ ।

सिंढी

सिंढी ओजनदार भएकाले यसलाई दक्षिण-पश्चिममा बनाउनु उपयुक्त मानिन्छ । सिंढीमुनि शौचालय निर्माण गर्नु हुँदैन । सिंढीमुनि शौचालय निर्माण गरे घरपरिवारका सदस्य बिरामी पर्ने र स्वास्थ्यमा समस्या देखिने गर्छ । सिंढीमुनि शौचालय भएको घरमा दीर्घरोगी हुने वास्तुशास्त्रले बताउँछ ।

पानी

पानी जहिल्यै उत्तर दिशामा राख्नुपर्छ । खानेपानीको धारा ट्याङ्की तथा इनारलाई पूर्वोत्तर दिशामा निर्माण गर्नुपर्छ ।

उत्तर दिशाबाट सकारात्मक ऊर्जा आउने हुदा उत्तर दिशा जहिल्यै सफा सुग्घर राख्नुपर्छ । घरमा आर्थिक समस्या आए, कमाएको बचत नहुने भएमा उत्तर दिशा सफा गरे समस्या समाधान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?