
२४ फागुन, वीरगञ्ज । पर्साबाट प्रहरीले गाजा मुद्दाका एक फरार अभियुक्तलाई ९ वर्षपछि पक्राउ गरेको छ । छिपहरमाई गाउँपालिका– १ का ५१ वर्षीय गुमानी साह पक्राउ परेका प्रहरीले जनाएको छ ।
६ पुस २०६९ मा प्रहरीले साविक मिर्जापुर गाविस- ४ हाल छिपहरमाई गाउँपालिका-१ स्थित बस्ने गुमानी साहको गोठघरबाट लागूऔषध गाजा बरामद भएको थियो ।
प्रहरी चौकी मिर्जापुरबाट खटिएको टोलीले गोठामा खानतलासी गर्दा २ वटा टिनको ड्रममा लुकाएर राखिएको लागूऔषध गाजा १४० किलो बरामद भएको थियो ।
गुमानी साह त्यस बेलादेखि नै फरार थिए । विशेष सूचनाको अधारमा मंगलबार छिपहरमाई गाउँपालिका–२ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।
उनलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4