+
+

इन्जिनियरको चुनावमा कांग्रेसकै दुई प्यानल, कम्युनिस्टहरु तितरवितर

लिलु डुम्रे लिलु डुम्रे
२०७८ फागुन २५ गते १२:४१
वायाँबाट- हरिबहादुर दर्लामी, दिलिप कुमार झा, हरिराम पराजुली, सुरज लामिछाने र राजेन्द्र प्रसाद हाडा

२५ फागुन, काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनमा पाँच समूहले प्रतिस्पर्धा गर्ने भएका छन् । ३२ औं केन्द्रीय कार्यकारिणीका लागि दुई प्यानलमा मात्रै भिडेका इन्जिनियरहरु ३३ औंमा आइपुग्दा पाँच प्यानल बनाएर प्रतिस्पर्धा गर्ने भएका हुन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यकारिणी समितिको निर्वाचन शुक्रबार हुँदै छ ।

केन्द्र सरकारमा साझेदारी गरेका दलहरु इन्जिनियरहरुको चुनावमा भने विभक्त भएका छन् । तत्कालीन समयमा नेकपा निकटका इन्जिनियरहरुको प्यानलले जीत निकालेको थियो । यसपटक कम्युनिष्टहरु तितरबितर छन् । नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियरहरुले समेत छुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा भाग लिंदै छन् ।

कांग्रेसकै दुई प्यानल

सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) दुई चिरा भएको छ । फागुन २७ बाट हुने नेपाल इन्जिनियर्स एसोसिएसनको (नेएइ) निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था सिडेनका दुई प्यानलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पार्टीको आधिकारिक उम्मेदवारको अध्यक्षमा डा. हरिबहादुर दर्लामीलाई अघि सारिएको छ । अर्को प्यानलबाट बनाएका दिलीप कुमार झाले भने आफ्नो समूह नै आधिकारिक भएको दाबी गरेका छन् ।

डा. हरिबहादुर दर्लामी र दिलिप कुमार झा

पुल्चोक इन्जिनियरिङ क्याम्पसका सह प्राध्यापक समेत रहेका अध्यक्षको उम्मेदवार दर्लामीको प्यानलको उपाध्यक्षमा डा.नारायणप्रसाद अधिकारी, महासचिवमा रविभूषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दीपक अधिकारी प्रतिस्पर्धा गर्ने भएका छन् । उपमहासचिवका उम्मेदवार धितालले भने, ‘हाम्रो प्यानल आधिकारिक हो । लोकतान्त्रिक समूहबाट अरु उम्मेदवार भएको थाहा छैन ।’

दर्लामीको नेतृत्वको प्यानलको घोषणा एक वर्ष अघि नै भएको बताइएको छ । धेरै पहिले उम्मेदवारी तय भएकाले सत्ता गठबन्धनको संयुक्त प्यानल बनाउन नसकिएको उक्त पक्षको भनाइ छ ।

दर्लामी पक्षले उम्मेदवारी चयन गर्दा विधानलाई लत्याइएकाले अर्को प्यानल बनाउनु परेको झा पक्षले प्रष्टीकरण दिएको छ । सिडेनले उम्मेदवार चयन गर्दा छनोट समिति बनाउने प्रावधानलाई मिचिएकाले छुट्टै प्यानल खडा गरेको उक्त समूहले जनाएको छ ।

झाको प्यानलबाट उपाध्यक्षमा  ऋषि कोइराला, महासचिवमा कृष्णसिंह बस्नेत, उपमहासचिवमा सुधिर गुरागाईं, कोषाध्यक्षमा रमिता श्रेष्ठ, सहकोषाध्यक्षमा  सञ्जय कुमार महतोले उम्मेदवारी दिने भएका छन् ।

सिडेनका पूर्व अध्यक्षहरु डा.जीवराज पोख्रेल, ध्रुवराज थापा, चेतप्रसाद भट्टराई, किशोर शाक्य, हरिओम श्रीवास्तव र हरेराम श्रेष्ठले विज्ञप्ति निकालेर झाको पक्षमा रहेको जानकारी गराएका छन् । सिडेनबाट विजयी ६ पूर्वअध्यक्ष नै झाको पक्षमा लागेकाले उक्त प्यानल पनि बलियो रहेको विश्लेषण गरिएको छ ।

सत्ता गठबन्धनकै अर्को प्यानल

सत्ता गठबन्धनका अन्य तीन दलले छुट्टै प्यानल बनाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले संयुक्त प्यानल बनाएका छन् ।

माओवादी केन्द्र पक्षधर नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन), एकीकृत समावादीको समाजवादी निकट इन्जिनियरिङ नेपाल (सिन) र जसपा निकट नेपाल इन्जिनियरिङ संघ बीच गठजोड भएको छ ।

एकीकृत प्रगतिशील इन्जिनियर नाम दिइएको उक्त समूह डा. हरिराम पराजुलीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ । उक्त प्यानलमा उपाध्यक्षमा न्हसला तुलाधार महासचिवमा डा. शंकर ढकाल, उपमहासचिवमा डा. समित थापा, कोषाध्यक्षमा श्याम नारायण चौधरी र सहकोषाध्यक्षमा स्मिता भट्टले उम्मेदवारी दिने तय भएको छ ।

एमाले र लोसपा गठबन्धन

इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन बनाएका छन् । केन्द्रीय पदाधिकारीमा कोषाध्यक्ष लोसपा पक्षलाई दिएर गठबन्धन बनाइएको छ ।

एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान)ले अध्यक्षमा डा. सुरज लामिछानेलाई उठाउने भएको छ । उक्त प्यानलबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा डा.भेषराज थापा, उपमहासचिवमा  शिवराम केसी, कोषाध्यक्षमा आनन्द सिंह र सहकोषाध्यक्षमा अर्जुन पौडेलले उम्मेदवारी दिएका छन् ।

नेमकिपाको पहिलोपटक केन्द्रमा उम्मेदवारी

राजेन्द्र प्रसाद हाडा

नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियरहरुले छुट्टै प्यानल खडा गरेका छन् । नेमकिपा निकट इन्जिनियर समाज नेपालले राजेन्द्र प्रसाद हाडाको नेतृत्वमा प्रतिस्पर्धामा भाग लिएको छ ।

हाडाको टीमबाट उपाध्यक्षमा सविन महर्जन, महासचिवमा रुपेश प्रजापति, उपमहासचिवमा सुनिता दुवाल, कोषाध्यक्षमा सुरेन्द्र राय यादव र सहकोषाध्यक्षमा रविन कासुला उम्मेदवार बनेका छन् ।

गत निर्वाचनमा दुई प्यानलबाट हाल पाँच समूहमा विभाजित भई प्यानल बनेको छ । तत्कालीन समयमा पदाधिकारीमा नेकपा निकटका इन्जिनियर विजयी भएका थिए भने १२ जना केन्द्रीय सदस्यमा छ जना सिडेन पक्षबाट विजयी भएका थिए ।

अघिल्लोपटक मजदुर किसान पार्टी निकट इन्जिनियर समाजले केन्द्रमा मत उम्मेदवारी दिएको थिएन । उक्त पक्षसँग एक हजार हाराहारी भोट रहेको आंकलन गरिएको छ । ‘चार प्यानलको शक्ति लगभग बराबर जस्तो देखिन्छ । नेमकिपा निकट इन्जिनियरहरुले विगतमा केन्द्रमा उम्मेदवारी नदिएकाले यसपटक उक्त पक्षको पनि मत देखिन्छ ।’ एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट सदस्यको प्रत्यासी रहेका विशाल अधिकारीले भने ।

विद्युतीय मतदानमा अविश्वास

निर्वाचनमा मत खसाल्ने योग्य मतदाताको संख्या २१ हजार ६८० छ । गत मंसिरमा निकालिएको तथ्यांक अनुसार देशभर ६२ हजार इन्जिनियर रहेका छन् । इन्जिनियर्स एसोसिएसनको सदस्यता लिएकाहरुको संख्या ३७ हजार छ ।

सातै प्रदेशमा १४ वटा मतदान केन्द्र बनाइएको छ । कांग्रेस निकट सिडेनले विद्युतीय मतदानप्रति विश्वास नलिएपछि कागजी मतपत्रको व्यवस्था गरिएको छ । शुक्रबार हुने मतदानबाट नतिजा आउन तीन दिन लाग्ने बताइएको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?