+
+
मुसहर बस्तीमा दुई रात :

पुरुष भन्दा महिला कम हुँदैनन् सर !

मनोजकुमार कँडेल मनोजकुमार कँडेल
२०७८ फागुन २५ गते १२:४७

बालबालिकाको निमित्त गैरसरकारी संस्थाहरूको महासंघले स्थानीयस्तरमा बालअधिकारको क्षेत्रमा काम गर्ने स्वयंसेवीहरूको समूह बनाउँदै थियो।म महासंघको अध्यक्षको रुपमा कार्यरत। यही क्रममा सप्तरीकी सलिताकुमारी सदा सामाजिक सञ्जालमार्फत मसँग जोडिइन्।

सलिता आफैं मुसहर जातिको महिला भएको कारण पनि मुसहर महिला र बालबालिकाको अवस्थाको बारेमा धेरै संवाद हुन्थ्यो ।मेरो प्रश्नै प्रश्नको खातले होला, सलिताको भनाइ थियो- ‘तपाईं बस्तीमै आउनुहोस् आफ्नै आँखाले देख्नुहुनेछ, प्रत्यक्ष भेटेर कुरा गर्दा झन् बढी यथार्थ सूचनाहरू पाउनुहुनेछ र नयाँ अनुभव पनि गर्न सक्नुहुनेछ।’

माघी नजिकिंदै थियो।कुरैकुरामा सलितालाई सोधें, ‘मुसहरजातिले माघीलाई कति महत्वका साथ मनाउँछन्।’ उनले एक महत्वपूर्ण चाड भएको बताइन्।
यही मौकामा माघीमा सहभागी हुने मेरो इच्छा सुनाएँ।‘हामी कहाँ आउनुस् न सर’ उनले दिएको निमन्त्रणालाई स्वीकार्दै पौष ३० शुक्रबार बिहान सप्तरीको अमाहास्थित मुसहर बस्तीतिर हिडें।

बीपी राजमार्गको नागबेली सडक, सडक किनाराका सुनौलो तोरी बारी अनि कोशी किनाराको रमणीय दृश्यहरू आँखामा कैद गर्दै ड्राइभ गर्दा एक्लो महसुस भएन।म सात घन्टाको ड्राइभमा अमाहा पुगें जहाँ सलिता बाटोमै कुरिरहेकी थिइन्।

‘सामाजिक सञ्जालमा चिनेको, प्रत्यक्ष भेट नभएको, सहरमा बस्ने व्यक्ति झुपडी बस्ती त्यसमा पनि दलितहरूसँग बस्न आउनेछन् भन्ने विश्वास नै थिएन तर पनि एक दुई प्रतिशत विश्वासको साथ बाटोमा कुरेकी थिएँ’ आश्चर्य मान्दै पहिलो भेटमै निर्धक्क सुनाइन् सलिताले।

उनको अनुहार हेरें, मुसुक्क हाँस्दै गाडीमा बस्न र घर जाने बाटो देखाउन अनुरोध गरें।उनी लाजले मुस्कुराइन्।उनी मुस्कुराउँदा हिस्सी परेकी कालो अनुहारमा सेतो दाँत हिम श्रृङ्खला जस्तो मनमोहक देखिन्थ्यो।

सामाजिक सञ्जालमार्फत चिनेको मानिससँगको पहिलो भेट भएकोले होला कारको अगाडि बस्न उनलाई असहज लागेको महसुस गरें।झण्डै ३० मिनेटमा हामी उनको घरमा पुग्यौं।

मैले गाडी रोकें, बस्तीका ६/७ जना मानिसहरू मेरो कार घरसम्म पुर्‍याउन बाटो बनाइरहेका रहेछन्।‘मैले कार बाटोमा राख्छु, जम्मा दुई रात न हो’ आग्रह गरें तर मेरो सुनुवाइ भएन।कारले उहाँहरूको घरको आँगनमा बास बस्यो।

मलाई सलिताको साहस, त्यो खुल्ला व्यवहार देखेर अति श्रद्धा लाग्यो।केटी मान्छेले सामाजिक सञ्जालबाट चिनेको व्यक्तिलाई निमन्त्रणा दिनु र घरमा लिएर जानु आफैंमा सजिलो थिएन।उनी मात्र होइन उनको परिवार पनि सहज रहेछन्।

सलिताको अनुरोध थियो, ‘माटाको झुप्रो, झुप्रो भित्र गाई, सुँगुरहरूको गोठ, यता उता छरिएको गाई भैंसीको मल र गुइँठाहरूको बीचमा हामी सुत्छौं।तपाईंलाई शौचालय असहज हुनसक्छ।त्यसकारण बेलुका होटलमै सुत्नुहोला।’

तीन वर्ष भएछ यो बस्तीमा शौचालय घरघरमा बनाएको तर शौचालय न सफा थियो न उचित प्रयोग। शौचालय नै रोग सर्ने माध्यम हुने हो कि भन्ने डर देखिन्थ्यो। तर शौच खुल्ला चौरबाट शौचालयसम्म आउनु आफैंमा उदाहरणीय थियो।

मैले सलितालाई समुदायमै रात बिताउन पाउने भए मात्र आउँछु भनेको थिएँ। उनको उनीहरूसँग बस्न त कुनै आपत्ति थिएन तर हामी सहरिया भनाउँदाहरू बस्न सक्दैनन् भन्ने बुझाइरहेछ।

सलिताले उनको परिवारसँग परिचय गराइन्।उनको बुबा भने माघीको लागि सामान जुटाउन बिहानै निस्केका रहेछन्।उनको घरमा परिवारकै जेठी सन्तान उनी, बुबा, मुमा, चार बहिनीहरू, माइली बहिनीको सानो छोरा र एक भाइ रहेछन्।

सलिताले मेरो सुत्ने कोठा देखाइन् । उनको बुबा र म त्यही कोठामा सुत्ने जानकारी दिइन्।रातको झण्डै ८ बजेको थियो।सलिताको बहिनी शर्मिलाले ‘भन्सा बैनगेलई खाईला आबू’ भन्दै मैथलीमा खानाको लागि डाकिन्।

३५ घरधुरी रहेको अमाह बस्तीमा कुल १८२ मुसहर बस्दा रहेछन्।मलाई दुःख त त्यतिबेला लाग्यो जब सलिताले त्यो बस्तीमा ६० नाघेका बुढाबुढी नभएको बताइन्।

जाडोबाट बाँच्नको लागि प्रत्येक घरमा बिहान बेलुका आँगनको बीचमा घुर बालेर ताप्ने दैनिकी । पराल र दाउरा बालेर घुर ताप्दा धुवाँको मुस्लो निस्किएको हुन्थ्यो।मलाई धुवाँको मुस्लोको गन्ध र पिरोले असहज भएको थियो।यो धुवाँले वातावरण अति प्रदूषित बनाएको थियो ।

सलिताको आमा बोल्न लजाउनुभयो सायद म मैथिली बोल्न नसक्ने र नयाँ भएर होला।मैले उहाँहरूसँगै खाना खाने अनुरोध गरें र अँगेनाको छेऊमा सबै परिवारसँगै खाना खाएँ ।

भोलिपल्ट माघी थियो।माघीको लागि स्पेशल विभिन्न प्रकारको लड्डुको तयारी हुँदै थियो।म पनि लड्डु बनाउन सहभागी भएँ।लड्डु बनाएको टिकटक बनाउन सहयोग गरें र सलिताको आमालाई देखाएँ।भिडियो हेर्दा उनको मुहारमा देखिएको त्यो हाँसो र खुशी अद्भुत थियो जुन कहिल्यै बिर्सन सक्दिनँ।

सलिता, शर्मिला र आमासँगको त्यो एक घन्टाको बसाइले मेरो जीवनप्रतिको सुख र दुःखको सोचाइ नै परिवर्तन भएको थियो।कुनै पनि भौतिक वस्तुले भन्दा कैयौं गुणा सुख मनको शान्तिले दिनेरहेछ।

सलिताको भान्सासँग जोडिएको अर्को घरबाट झगडाको आवाज आइरहेको थियो।‘सर यस्तै हो पुरुषहरू रक्सी धोकेर आउने अनि घरमा श्रीमतीसँग झगडा गर्ने, दुःख दिने आजसम्म पनि निरन्तर छ’, सलिताले दुःखमनाउ गरिन्।

सलिताले उनीहरूलाई मैथिलीमा झगडा गर्न अनुरोध गर्दै भनिन्, ‘हमरा घर पुगैको छै यहाँ सब झगडा नैकरु न।’ उनीहरू बीच केहीबेर चर्काचर्की पनि पर्‍यो।मैले छोडिदिनुहोस् भनें।विस्तारै झगडाको आवाज कम हुँदै गयो । घरपरिवारको पूरै जिम्मेदारी बोकेर होला सलिता गम्भीर, परिपक्व, साहसी, कामकाजी रहिछन्।

उनको आँगनमा मोटरसाइकल राखेको थियो।मैले उक्त मोटरसाइकलको बारेमा सोधें।‘मेरो हो नि सर, भोलि म तपाईंलाई राखेर कुदाउँला नि हुन्छ ?’ एक सासमा हाँस्दै भनिन्।

‘सबै केटीहरूले स्कुटी चलाउँछन् तर तपाईंको त बाइक रहेछ ?’ मेरो यो प्रश्नमा उनले तुरुन्तै जवाफ दिइन्, ‘पुरुषभन्दा महिला केही कुरामा कम हुँदैनन् सर।मलाई महिला र पुरुषको सामाजिक विभेदसँग लड्नु छ।’

साँच्चै नै महिला र पुरुषको विभेद त समाजले बनाएको हो।महिलाले गर्न नसक्ने त केही छैन बरु प्रकृतिले नै पुरुषलाई सन्तान कोखमा राख्न नसक्ने गरी विभेद गरेको छ।उनको यो विचार गहिरो र परिवर्तनकामी थियो।

हुन पनि उनी सर्ट पाइन्ट लगाउने, मोटरसाइकल कुदाउने, २६ वर्षसम्म पनि विवाह नगरी परिवारको जिम्मेदारी बोकेकी केटा जस्तो देखिने साहसी महिला।

३५ घरधुरी रहेको अमाह बस्तीमा कुल १८२ मुसहरहरू बस्दा रहेछन्।त्यसमा महिला ८०, पुरुष ४९ जना र बालबालिकाहरू ५३ जना रहेछन्।मलाई दुःख त त्यतिबेला लाग्यो जब सलिताले त्यो बस्तीमा ६० नाघेका बुढाबुढी नभएको बताइन्।

चरम गरिबीले रोग लाग्दा समयमा उपचार गर्न नसक्नु, कुपोषण, सरसफाइको लापरबाही, छिटो विवाह गरी सन्तान जन्माउने र पुरुषहरूले अत्यधिक रक्सी सेवनले अकालमै मृत्यु हुँदा बुढाबुढी बाँकी नरहने रहेछन्।

पुरुषहरू नागकिता बनाएपछि पढाइ बीचमै छाडेर पैसा कमाउन विदेशिने।ऋण काढ्न सक्नेहरू खाडी मुलुक जाने र पैसाको जोहो गर्न नसक्नेहरू भारतमा श्रमको लागि जाने रहेछन्।त्यहाँको औसत महिलाको विवाहको उमेर १६ र पुरुषको १८ वर्ष रहेछ।

१८ वर्षसम्म पनि विवाह नगरी बस्ने केटीहरू एकाध मात्र भेटिने रहेछ।‘जम्मा ३ जना केटीहरू मात्र छन् सर यहाँ १८ वर्ष काटेका तर विवाह नगरी बसेका’, सलिताको जवाफ थियो।

मुख्यतः उमेर ढिला भएपछि विवाह गर्ने केटा नपाउने र दाइजो झन बढी लाग्ने हुनाले १६/१७ वर्ष भित्रै परिवारले विवाह गरिदिने रहेछन्।

सामाजिक सञ्जालबाट १४/१५ वर्षमै प्रेम गरी स्कूल नै छोडेर विवाह गर्ने घटना अत्यधिक बढेको रहेछ।सामाजिक सञ्जालले झन् कम उमेरमा विवाह गर्ने चलनलाई बढाएको रहेछ।

रातको १० बज्दासम्म सलिताको बुबा आउनुभएको थिएन।‘यस्तै हो सर, बुबा ढिला नै आउनु हुन्छ र पिएर पनि’, सलिताको जवाफ थियो।परिवारसँग विदा लिएँ र सुत्ने कोठातिर गएँ।दिनभरिको ड्राइभले होला थाकेको थिएँ।

भोलि माघी मनाउने, मुसहरको अन्तर्राष्ट्रिय भुइया दिवसमा सहभागी हुने योजना सलिताले सुनाएकी थिइन्।म उत्साहित थिएँ नयाँ अनुभवको लागि।मलाई त्यो माटाको झुप्रो दरबार महसुस भएको थिए। कति खेर निदाएँ पत्तो नै पाइनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?