
२५ फागुन, काठमाडौं । बाँके जिल्ला भलिबल संघको आयोजना हुने प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १५ गतेसम्म हुने भएको छ ।
संघले बुधबार वक्तव्य जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरे पनि सहभागी टिम खुलाएको छैन । ‘अघिल्ला संस्करणहरुमा ६ टोलीको सहभागिता रहेको थियो । यसपल्ट पनि ती टोलीहरु घट्दैनन् । यसबाहेक बंगलादेश र श्रीलंकाबाट पनि टोलीको सहभागिता गराउने पहल भइरहेको छ तर, निश्चित भएको छैन,’ संघका अध्यक्ष टीएस ठकुरीले अनलाइनखबरसँग भने ।
प्रधानमन्त्री कपमा नेपालका तीन विभागीय टोली (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस), न्यू डायमण्ड एकेडेमी र आयोजक टोलीको सहभागिता निश्चित छ । एउटा भारतीय टोली पनि आउनेछ ।
दक्षिण एसियाकै अग्रणी महिला भलिबल प्रतियोगिताको रुपमा विकास गर्ने उद्देश्य राखिएको यो प्रतियोगिताको अघिल्लो संस्करण एपीएफले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4