
२७ फागुन, काठमाडौं । भोजपुरमा ५० भन्दा बढी विशेषज्ञ चिकित्सकले स्वास्थ्य शिविरबाट सेवा दिएका छन् । आज र भोलिसम्म सञ्चालन हुने विशेषज्ञ चिकित्सकबाट भोजपुरका नागरिकले सेवा लिन पाउनेछन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले प्रतिष्ठित चिकित्सक सम्मिलित यो तहको स्वास्थ्य शिविर नेपालमै पहिलोपटक सञ्चालन भएको जानकारी दिए ।
नेपाल चिकित्सक संघका अधिकांश पदाधिकारी, नेपाल मेडिकल काउन्सिललगायत विभिन्न अस्पतालमा कार्यरत प्रतिष्ठित चिकित्सकहरूसहितको भोजपुर जिल्ला अस्पतालसँगै रहेको विद्योदय माध्यामिक विद्यालयमा सञ्चालित स्वास्थ्य शिविरमा सेवा दिइरहेका छन् ।
भोजपुर नगरपालिकाको आयोजनामा नेपाल चिकित्सक संघ, दाँवली मिलन क्लबलगायत भोजपुरसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूको समन्वयमा स्वास्थ्य शिविरमा ख्यातिप्राप्त चिकित्सकहरूले सेवा दिइरहेका छन् । ‘भोजपुरका जनताले यति ठूलो गम्भीर प्रकृतिको स्वास्थ्य उपचारको अवसर पाउनेछन्,’ डा. कार्कीले भने ।
स्वास्थ्य शिविरको उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भोजपुर जिल्ला अस्पतालको निरीक्षण गरेका छन् ।
राज्यमन्त्री श्रेष्ठले भोजपुर अस्पताललाई विशेषज्ञ चिकित्सकको सेवासहित ५० बेड क्षमतामा स्तरोन्नती गर्ने बताए । यसका लागि तत्कालै पहल थाल्ने उनको भनाइ छ ।
भोजपुर जिल्ला अस्पतालमा ५० बेडको पूर्वाधार बनेको छ । तर, हालसम्म १५ बेडभन्दा बढी सन्चालनमा आएको छैन । पूर्वाधारको विस्तारबिना नै ५० बेड चल्ने भएकाले सोही अनुसारको जनशक्तिको व्यवस्थापन गरेर स्वास्थ्य सेवा बढाइने मन्त्री श्रेष्ठले बताए ।
भोजपुर अस्पताललाई पूर्वकै नमूना अस्पतालका रुपमा विकास र विस्तार गर्न आफू लागि परेको भन्दै मन्त्री श्रेष्ठले धरान र विराटनगर बिरामी पठाउने अवस्था अन्त्य गर्न लागिपर्ने स्पष्ट पारे ।
भोजपुर जिल्ला अस्पतालबाट मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, डा. रत्नमणि गजुरेल, डा. आनन्द श्रेष्ठ लगायतले विशेषज्ञ सेवा दिएका छन् । अस्पतालबाहिर विद्योदय स्कुलबाट डा. भुपेन्द्र कुमार बस्नेत, डा. बद्री रिजाल, डा. प्रमोद जोशी, डा. अनिल विक्रम कार्की, डा. लोचन कार्की, प्रकाश बुढाथोकी, दीपक सिग्देललगायत ५० जनाभन्दा बढी चिकित्सकले सेवा दिइरहेका छन् ।
प्रतिक्रिया 4