+
+

छुस्याबहाल अगाडि पुरातत्व विभागले सुरू गर्‍यो उत्खनन्

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ फागुन २७ गते १४:३०

२६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २७ को छुस्याबहाल अगाडि बहीलाछीमा पुरातत्व विभागले उत्खनन् सुरु गरेको छ । वडा कार्यालय बनाउन लागिएको ठाउँमा ऐतिहासिक पाटी रहेको भन्दै स्थानीय तथा अभियान्ताहरुले विरोध गरेपछि निर्माण रोकिएको उक्त ठाउँमा उत्खनन् सुरु गरिएको विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले जानकारी दिए ।

शुक्रबार पुरातत्व विशेषज्ञ उद्धव आचार्यको नेतृत्वमा विभागको टोलीले १०/१० को ट्रेन्ज खोलेर उत्खनन् सुरु गरेको हो । ठमेलस्थित ज्याठामा रहेको मल्लकालीन छुस्याबहालको सम्मुखमा बहीलाछी फल्चा थियो कि थिएन भन्नेमा स्थानीयको दुई मत छ । अभियन्ता सहितको एउटा पक्षले त्यहाँ फल्चा रहेको दाबी गरेको छ भने स्थानीय क्लबका सदस्यसहितको अर्को पक्षले त्यसलाई खण्डन गर्दै आएको छ ।

तर बहीलाछी सांस्कृतिक महत्वको ठाउँ रहेको भन्दै पुरातत्व विभागले गत माघ २७ गते वडा कार्यालयलाई पत्र लेख्दै ध्यानाकर्षण गराएको थियो । पछि सो क्षेत्र पुरातात्विक महत्वको रहे नरहेको यकिन गर्न उत्खनन् गर्न लागिएको विभागले जनाएको छ ।

पाटीको थामलाई अड्याउन राखिने ‘इल्वहँ’ भेटिएकोले सो क्षेत्रमा पाटी थियो भन्ने प्रमाण पाइने सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरको भनाइ छ । त्यस क्षेत्रमा इल्वहँको चारवटा अवशेष भेटिएको छ ।

त्यस्तै, शिलालेख विशेषज्ञ सिद्धिरत्न शाक्य छुस्याबहालभित्र रहेको एउटा शिलालेखले अहिले वडा कार्यालय भवन बनिरहेको ठाउँमा फल्चा रहेको प्रमाण दिएको बताउँछन् । तर त्यहाँ फल्चा रहेको कुनै प्रमाण नरहेको भन्दै वडा कार्यालय र स्थानीय क्लबका सदस्यहरुले भने त्यसको खण्डन गर्दै आएका छन् ।

शिलालेख विशेषज्ञ शाक्यका अनुसार उक्त पाटीमा हरहर लोकेश्वरको प्रतिमा राखिएको थियो । कसैले पाटी भत्कायो भने पञ्च महापाप लाग्छ भन्ने व्यहोरा शिलालेखमा उल्लेख गरिएको छ । सो पाटीको संरक्षण गर्नु सबैको दायित्व रहेको भन्दै त्यसको संरक्षण गर्नेलाई एक हजारवटा विहार बनाएको र कोटी यज्ञ गरे बराबरको पुण्य प्राप्त हुने कुरा अभिलेखमा लेखिएको शाक्य बताउँछन् ।

तर २७ नम्बर वडाका वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भने सो क्षेत्र पुरातात्विक महत्वको क्षेत्र हो भन्ने प्रमाण भेटियो भने सोही ठाउँमा फल्चा बनाउन वडा कार्यालय तयार रहेको बताए । अहिले वडा कार्यालयको समेत समन्वयमा उत्खनन् सुरु भएको भन्दै त्यो पुरातात्विक महत्वको ठाउँ हो भन्ने यकिन भयो भने त्यहाँ फल्चा नै बनाउन आफूहरु तयार रहेको उनको भनाइ छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?