+
+

‘मतपत्रको रङबारे एमालेको चित्त बुझ्यो ?’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १७:४२

२७ फागुन, काठमाडौं । शुक्रबार निर्वाचन आयोगका अधिकारीहरु र विभिन्न १७ वटा राजनीतिक दलका प्रतिनिधिहरुबीच आगामी स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको रङको विषयमा छलफल भयो ।

रङको विषयमा छलफलको सुरुवात गर्ने पार्टी एमाले हो । सुरुमा निर्वाचन आयोगले प्रस्तुतीकरणमा प्रयोग हुने रङबारे जानकारी गरयो । त्यसपछि नेकपा एमालेका तर्फबाट सहभागी नेता बाबुराम दाहालले मतपत्रमा प्रयोग हुने रङ परिवर्तन गर्दा किन छलफल नगरेको भनी प्रश्न गरे ।

उनले विगतका निर्वाचनमा प्रयोग भएका रङहरुबारे जानकारी गराए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निलो रङ प्रयोग भएको, प्रदेशको निर्वाचनमा कालो रङ प्रयोग भएको र प्रतिनिधिसभाको निर्वाचनमा हरियो रङ प्रयोग भएको भन्दै उनले अहिले स्थानीय तहको निर्वाचनमा हरियो रङ प्रयोग गर्नुको कारण सोधे ।

‘यसअघि प्रतिनिधिसभाको निर्वाचनमा हरियो रङ प्रयोग भएको हो । तर, अहिले प्रतिनिधिसभाको निर्वाचन होइन । स्थानीय तहको निर्वाचनमा पहिले निलो रङ प्रयोग भएको थियो अहिले किन हरियो ?’ दाहालले प्रश्न गरे ।

निर्वाचन आयोगले कुनै पनि निर्णय लिँदा प्रमुख राजनीतिक दलको सहमति लिनुपर्ने र विगतमा यस्तो अभ्यास रहेको भन्दै उनले आयोगका अधिकारीहरुको ध्यानाकर्षण गरे ।

बैठकपछि दाहाललाई ‘रङ’बारे तपाईंहरुको आशंका सकियो ? भनेर अनलाइनखबरको प्रश्नमा दाहालले भने, ‘अब हामी यसलाई मुद्दा-मामिला गर्दैनौं । यस्तो नीति पार्टीले बनाएका छैन् ।’ ‘चित्त बुझ्यो कि बाँकी छ ?’ भन्ने पुरक प्रश्नमा दाहाल थप्छन्, ‘ खाली आयोगले रङ परिवर्तन गर्दा सुझाव लिएको भए हुन्थ्यो भन्ने हो । थप केही थिएन र होइन ।’

बरु निर्वाचन आयोगका अधिकारीहरुले दलहरुका तर्फबाट उठेका विषयमा छलफल गर्छौं भनेर आफूहरुले उठाएका विषयलाई सम्बोधन गरेको नेता दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?