+
+

प्रधानमन्त्रीसँग विप्लवको भेट, सहमति कार्यान्वयन नभएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते २१:०५

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित बालुवाटार पुगेका विप्लवले सरकारसँग भएको तीनबुँदे समझदारीको कार्यान्वयन नभएको गुनासो गरेको छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २१ फागुन २०७७ मा सरकार र नेकपाबीच तीनबुँदे समझदारी भएको थियो । समझदारी भएसँगै हिंसात्मक गतिविधि गरिरहेको पार्टी शान्तिपूर्ण राजनीतिमा आएको थियो । तर सरकार पक्षबाट सहमति कार्यान्वयनमा अलमल भएको पार्टीका प्रवक्ता प्रकाण्ड बताउँछन् । भन्छन्, ‘सरकारले सहमति कार्यान्वयनमा इमान्दारिता देखाउनुपर्छ ।’

भेटमा प्रधानमन्त्री देउवाले भने सहमति कार्यान्वयनका लागि सहयोग गर्ने आश्वसन दिएको भनिएको छ । उनले यस विषयमा गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुसँग पनि छुट्टै छलफल गर्ने बताएका छन् ।

सरकारसँग भएको समझदारीमा दुवै पक्ष देशका राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न तयार भएको भनिएको थियो । दोस्रो बुँदामा विप्लव नेतृत्वको नेकपाले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा गर्ने भनिएको थियो । साथै, सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो । यही बुँदा कार्यान्वयनमा नभएको भन्दै विप्लवले पटकपटक सरकार पक्षका नेताहरुलाई भेट गरिरहेका छन् ।

समझदारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका विप्लवका केही नेता कार्यकर्ता रिहा भएका थिए । केहीलाई अदालतले धरौटीमा छाडेको थियो । तर अदालतमा मुद्दा विचाराधीन रहेकासहित १२५ नेता कार्यकर्ता अझै कारागारमा रहेको नेकपाको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?