+
+

‘खानीबाट बाहिर निस्कँदा लडाइँ जिते जस्तै हुन्छ’

सुरुङभित्र छिरेपछि फर्किने, नफर्किने निश्चित हुँदैन । बाहिर निस्केपछि युद्ध जिते जस्तो हुन्छ । घर पुगेपछि परिवार खुसी हुन्छन् । तर त्यो खुसी धेरै बेर टिक्दैन । बिहान भएपछि फेरि यही चिन्ता सुरु भइहाल्छ ।

टोपबहादुर घर्ती मगर टोपबहादुर घर्ती मगर
२०७८ फागुन ३० गते १९:४९

पहाडमा कोइला खन्ने काम सुरु भएदेखि म खानीमै छु । तोस खानी ५०० मिटर गहिरो छ । २० वर्षदेखि म यहाँका सुरुङभित्र गएर कोइला खन्ने र निकाल्ने काम गर्दै आएको छु ।

२०५२ सालदेखि तोस (घोराही उपमहानगर नगरपालिका–१९ मा अवस्थित गाउँ) मा कोइला निकाल्न सुरु भयो । काठमाडौंबाट जाङ्बो शेर्पा आएर यहाँका पहाडमा कोइला खन्न सुरु गरे । जाङ्बो शेर्पाले पूर्वका मान्छेहरू ल्याएर कोइला खन्न लगाए । उनीहरू कोइला निस्केको ठाउँमा सुरुङ खन्दै कोइला निकाल्दै गए । त्यसपछि मात्र हो, यो ठाउँ आसपासका अरू पहाडमा पनि कोइला खन्न सुरु भएको, जुन अहिले पनि चलिरहेको छ ।

सुरु–सुरुमा पूर्वबाट मानिस आएर सुरुङ खन्दै कोइला झिक्ने काम गर्थे । गाउँका मानिस सुरुङ भित्र छिरेर उनीहरूले खनेका कोइलाहरू बोकेर बाहिर ल्याउँथे । पछि यही गाउँका मान्छेले कोइला खन्न सिके, त्यसपछि पूर्वका मान्छेहरू आउन छोडे । यसरी यो गाउँका मान्छेले कोइला खन्न थालेका हुन् ।

पहिलो चोटि कोइलाखानीमा काम गर्न आउँदा म २१ वर्षको थिएँ, अहिले ४५ पुगें । सुरुमा शेर्पाहरूले खनेको कोइला खानीबाट बोकेर बाहिर ल्याउँथेें । यसरी बोक्दा–बोक्दै सुरुङ खन्न सिकें । कोइला खनेको २५ वर्ष हुनलाग्यो । कोइलासँग आधा जीवन साटियो भन्दा पनि हुन्छ । कोइला खन्दा–खन्दा आफैं कोइला जस्तै भइयो । सुरुङका पत्थर फोड्दा फोड्दै शरीरको बल सकियो ।

पहिले–पहिले खानीमा काम गर्न आउनेलाई गाह्रो हुन्छ । सुरुमा खानी छिर्दा निसासिएर मरुला झैं हुन्छ । अँध्यारोसँग बानी नपरेको मान्छेले खानीमा काम गर्न सक्दैन । जति गहिरो खानी, त्यति–त्यति अँध्यारो । भित्र पूरै अन्धकार हुन्छ । यता, हेर्‍यो कालो, उता हेर्‍यो कालो । जीवनमा धेरै उज्यालो भन्दा अँध्यारो देखियो होला । त्यसैले पूरै जिन्दगी अन्धकार जस्तो लाग्छ ।

कोइलाखानी आफैं बनेका हुँदैनन् । भित्र जमिनको कुरा हो, कतै बसेर, कतै सुतेर खन्नुपर्छ । अन्दाजका भरमा पहाड खन्दै–खन्दै जाने हो । खन्ती र हथौडाले पहाड फोर्दै भित्रभित्र सुरुङ बनाउँदै बढ्नुपर्छ । कोइला भेटिंदै गए सुरुङ त्यही ठाउँमा खन्दै जाने हो । भेटिन छाडे फेरि अर्काे ठाउँमा खन्न सुरु गर्नुपर्छ । एउटै सुरुङभित्र पनि स–साना सुरुङहरू बनेका हुन्छन् । छुट्टा–छुट्टै समूह त्यहाँ भित्र छिरेर कोइला खन्ने काम चलिरहेको हुन्छ ।

टोपबहादुर घर्ती मगर

बिहान राम्रोसँग घाम देख्न नपाउँदै कोइलाखानीमा छिर्नुपर्छ । अँध्यारो सुरुङभित्र बाटो सजिलो हुँदैन । साह्रै साँघुरो हुन्छ । एक जना मान्छे मुश्किलले छिर्न सक्छ । कतै भिरालै भिरालो हुन्छ, कतै उकालै–उकालो । निस्पट्ट अन्धकार, मुखमा टर्च लाइट बालेर सुरुङभित्र जाने हो । भित्र पुगेपछि दिन र रात थाहा हुँदैन ।

अहिले त कुनै–कुनै खानीमा बत्ती पनि छन् । पहिले–पहिले टर्च, बिजुली केही हुँदैनथे । मैन बत्ती बालेर सुरुङभित्र कोइला खन्नुपथ्र्याे । बत्ती आएदेखि केही सुविस्ता भएको छ, तर सबै ठाउँमा बिजुली हुँदैन । टर्च बालेरै खन्ने हो ।

भित्र काम गर्नु अरू जस्तो सजिलो हुन्न । भित्र हावा एकदमै कम हुन्छ, सास फेर्न गाह्रो हुन्छ । सीधा उभिने ठाउँ हुँदैन, निहुरेरै र कतै सुतेर खन्ने हो । केही गरी माथिबाट ढुंगा–माटो खस्न थाल्यो भने काम रोक्ने हो ।

सुरुङभित्र काम गर्नु मृत्युको मुखमा जानु जस्तै हो । कोइला खन्दा खन्दै सुरुङ भत्किन्छ । सुरुङभित्र माटो खसेर कतै भत्किए वा ढुंगा खसे त्यहीं च्यापिएर, निसासिएर प्राण जाने हो । कुनै–कुनै ठाउँ, खन्दै जाँदा भित्र हावा नै छिर्दैन । हावा नछिर्ने ठाउँमा अक्सिजन हुँदैन । त्यस्तो ठाउँमा पुग्यो भने ज्यान जान समय लाग्दैन । कोइलाखानी भित्र काम गर्नु हरेक पल जोखिमपूर्ण छ ।

मसँगै काम गर्ने तोसकै दुर्गाबहादुर थिए । हामी दुई जना काम गर्ने पार्टनर थियौं । घटना २०५८ सालतिरको हो । दिउँसो तीन बजे उनी भित्र सुरुङ खन्दै थिए । म कोइला बोकेर बाहिर आएको बेला भित्र सुरुङ भत्किएछ । म भित्र पुग्दा उनी च्यापिएर पुरिएका रहेछन् । बाहिर आएर हो–हल्ला गरेपछि कम्पनीलाई खबर गर्‍यौं । पुलिस पनि आयो । तर उनको लाश त्यसदिन झिक्न सकिएन । अर्काे दिन बिहान मात्र लाश बाहिर ल्याइयो । घरमा दुर्गाबहादुरका श्रीमती र दुई स–साना छोरा थिए । उनी बितेपछि परिवारको बिचल्ली भयो ।

आफ्नै पार्टनर खानीमा वितेपछि यहाँ कति जोखिम छ भन्ने मैले आँखा अघि देखें । त्यो घटनापछि खानीमा काम गर्न मन लागेन । तर त्यति नै बेला छोड्न पनि सकिनँ । काम गर्न छोडे मुखमा माड लाग्न छुट्थ्यो । घरमा श्रीमती, छोराछोरीलाई ख्वाउनु, पढाउन, हुर्काउनुपथ्र्याे ।

जिन्दगी यस्तै रहेछ, जहाँ गए पनि दुःख छुट्ने होइन, काल नआई कोही मर्दैन भनेर फेरि मन ठूलो बनाएँ । दुई वर्षपछि फेरि सोचें, जति दुःख गरे पनि दुःख फेरिने होइन । ज्यान लिने यो खानीमा काम गर्दिनँ भन्ने लाग्यो । अनि विदेश गएँ । ६ वर्ष कतार बसें । विदेशमा त केही सुख होला भन्ने सोचेको थिएँ । तर अर्काको देशमा कहाँ सुख हुनु र ? भनेको बेला छुट्टी नपाइने । दिनको १४–१५ घण्टा ‘ड्युटी’ हुन्थ्यो । उत्पात गर्मी उस्तै ।

२०६८ सालतिर नेपाल फर्कें । जीवनभर विदेश बसेर पनि नहुने । जहाँ गरे पनि दुःख छुट्ने होइन । ६ महिना गाउँमा बसेर खेतीपाती गरें । तर त्यसले पनि खान लाउन नपुग्ने । परिवार चलाउनै धौ–धौ भयो । जानेको काम अरू थिएन । केही उपाय नलागेपछि फेरि कोइलाखानीमै फर्कें ।

म मात्रै हैन, यहाँ काम गर्ने धेरै यस्तै छन् । केही वर्ष खानीमा काम गर्न आउँछन् । खानीको दुःख र जोखिम सम्झेर कोही सहरतिर र कोही विदेश जान्छन् । केही वर्षपछि फेरि खानीमै फर्किन्छन् । गाउँमा अरू रोजगारी भइदिएको भए हामीले यस्तो सास्ती खेपेर काम गर्नुपर्ने थिएन कि जस्तो लाग्छ । हाम्रो कुरा कसले सुन्छ र ?

सबैभन्दा दुःख त केमा लाग्छ भने आफ्नो जीवन त यस्तै भयो; खानीमा काम गर्न आउने गाउँका भर्खरका केटाकेटी देख्दा मेरो मन अमिलो हुन्छ । यिनको जीवन पनि हाम्रो जस्तै नहोस् भन्ने मलाई लाग्छ । मैले पीर गरेर पनि के हुनु र आखिर आफ्नो दुःख आफैंसँग छ ।

खानीमा काम गर्न लागेको २५ वर्ष हुन लाग्यो । आफ्नै अगाडि साथीको ज्यान गुमाउँदा पनि यो काम छोड्न सकिनँ । एक मनले यहाँ किन आएछु भन्ने लाग्छ, तर अब जाने ठाउँ पनि छैन । पटक–पटक खानी छिर्दा दुर्गाबहादुरको मुहार सम्झन्छु । दुःख लाग्छ । तर पनि के गर्ने, सबै कुरा बिर्सनुपर्ने रहेछ । खानीमा काम गर्दाका दुःख कति छन्, सुनाएर सकिंदैन । सरकारी जागिर भएको भए पेन्सन आएर ‘रिटाएर्ड’ भइसक्थें होला । आफू मजदुर परियो के गर्ने ?

खानीमा बिहान ८ बजे छिरेपछि १२ बजे निस्कन्छौं । १२ बजे भित्र बस्नुहुन्न भन्ने मान्यता छ । १ बजे खाना खाएर भित्र छिर्न हतार भइहाल्छ । बेलुकी चार बजे बाहिर निस्केपछि लडाइँ जिते जस्तो हुन्छ । घर पुगेपछि परिवार खुसी हुन्छन् । तर भोलिपल्ट बिहान फेरि यही चिन्ता सुरु भइहाल्छ ।

(तोस कोइलाखानीमा झण्डै २५ वर्षदेखि काम गरिरहेका स्थानीय मजदुर ४५ वर्षीय घर्ती मगरसँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?