+
+

देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको हुँ : प्रकाश सपुत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते ११:२२
गायक प्रकाश सपुत । फाइल तस्वीर

३० फागुन, काठमाडौं । युट्युबमा यसै साता सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि गायक प्रकाश सपुतले प्रष्टीकरण दिएका छन् ।

भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए । अनलाइनखबरसँग उनले भने, ‘वास्तविक पात्र, स्वभाव र सोचको अध्ययन गरेर नै गीत तयार पारिएको छ ।’

माओवादी ‘जनयुद्ध’लाई लिएर सार्वजनिक सञ्चारमाध्यममा समेत टीकाटिप्पणी हुँदै आएको र आफूले तिनै विषयवस्तुलाई गीतमा चित्रण गरेको उनले बताए । ‘यी कुराहरु मिडियामै भनिएका र समीक्षा गरिएका कुरा हुन्,’ उनले भने ।

तर उनले पूर्वछापामार युवती देहव्यापारमा संलग्न भएको दृश्यप्रति भने आत्मालोचना गरे । ‘केही बढी कोट्याइएको एउटा दृश्य छ । त्यसलाई प्रतीकात्मक रुपमा राखिएको हो । कसैको आत्मसम्मानमा ठोस पुग्न सक्ने महसुस गरेको छु । यसमा मैले आत्मालोचना गर्छु,’ उनले भने ।

गीतलाई लिएर प्राप्त भइरहेका सबै प्रतिक्रियालाई अध्ययन गरिरहेको सपुतले बताए । ‘मैले गलत बुझेको हो कि तपाईंहरुले, समीक्षा गर्दैछु,’ उनले भने । साथै, राजनीतिक पूर्वाग्रह राखेर गीत निकालेको भन्ने आरोपको पनि उनले खण्डन गरे ।

माओवादी वृत्तबाट आलोचना

गायक प्रकाश सपुतको उक्त गीतबाट सबैभन्दा बढी सत्तारुढ नेकपा माओवादी केन्द्र चिढिएको छ । धेरैजसो माओवादी कार्यकर्ता गीतविरुद्ध खनिएका छन् ।

माओवादी केन्द्र सम्बद्ध चार भातृ संगठनले आइतबार बेलुका संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई तत्काल युट्युबबाट हटाउनुपर्ने अडान कायमै राखेका छन् । सोमबार धनगढी पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ‘पीर’ गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुनपर्ने बताएका छन् ।

मुख्यतः माओवादी नेताहरुले गीतभन्दा पनि त्यहाँ समावेश गरिएको पूर्वछापामार महिला देहव्यापारमा संलग्न भएको दृश्यप्रति आपत्ति जनाइएको छ । पूर्वमाओवादी लडाकुको अपमान भएको आरोप उनीहरुले लगाएका छन् ।

चुनावको मुखमा माओवादीविरुद्ध षड्यन्त्र भएको आरोप समेत उनीहरुले गायक सपुतविरुद्ध लगाएका छन् ।

सपुतको संगीत र स्वर रहेको ‘पीर’ गीतलाई यो समाचार तयार पार्दासम्म ३७ लाखभन्दा बढी पटक हेरिएको छ भने युट्युब ट्रेन्डिङको शीर्षस्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?