+
+

मेयरविरुद्ध जातीय छुवाछुत गर्नेलाई दुई महिना कैद

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते २०:३२

३० फागुन, डोटी । सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिने व्यक्तिलाई उच्च अदालत दिपायलले दुई महिना कैद सजाय सुनाएको छ ।

२०७७ साल वैशाख २७ गते कैलालीको रेडियो डेलिमेलको फेसबुक लाइभ कार्यक्रममा कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै जात करे उत्पात भनेको यही हो भनी सामाजिक सञ्जालमा लेखी जातीय रुपमा विभेद गरेको भन्दै पतिराम सोवसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए ।

सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिमाना मात्र गरेको थियो । उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र बीस हजार रुपैयाँ जरवानाको सजाय सुनाएको छ । कैलाली जिल्ला अदालतले पुरानो कानूनी व्यवस्था प्रयोग गरी गरेको फैसला त्रुटिपूर्ण भएको इजलासको ठहर छ ।

उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दा समेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ ।

सम्पूर्ण मानव जाती आफ्नो गरिमा र प्रतिष्ठाको लागि उँच निच नभई समान हुने, महिला र पुरुषबाहेक अर्को जाति नहुने फैसलामा उल्लेख छ । फैसलामा जातजातिको व्यवस्थालाई विभेदपूर्ण व्यवहारमा प्रयोग गर्ने कार्य गैरकानूनी भई त्यस्तो अभिव्यक्ति संविधानमा व्यवस्था भएको दलितको हक विरुद्ध भएको उल्लेख छ ।

उच्च अदालतको यस फैसलाबाट कसैले पनि सामाजिक सञ्जालमा जात जातिको आधारमा होच्याउने प्रवृत्ति निरुत्साहित हुने र समाजमा रहेको जातिय विभेद सम्बन्धी कुसंस्कार परिवर्तन गर्न मद्दत पुग्ने देखिएको छ ।

रेडियो डेलीमेलबाट नगरपालिकाका गतिविधिलाई समेटी फेसबुक लाइभबाट सहभागीहरुसँग अन्तर्क्रिया गर्दै गर्दा पाण्डेले जातीय विभेदकारी टिप्पणी गरेका थिए । जाहेरीकर्ताले सोको प्रमाण स्वरुप प्रिन्ट नै अदालत समक्ष पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?