+
+

बालबालिकालाई प्रश्न सोध्न सिकाउनुपर्छ

कुनै प्रकारका मूढाग्रह, अवैज्ञानिक मान्यता, विज्ञानबाट पुष्टि नहुने कुरा, जीवन र जगतका अनुभवबाट गलत पुष्टि भएका कुराहरू हामीले बालमस्तिष्कमा हालिदिनुहुँदैन । उनीहरूलाई खुला छोडिदिनुपर्छ ।

डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई
२०७८ चैत १ गते १५:३०

के पढ्ने, किन पढ्ने भन्ने विषयको सुरुवात म वैज्ञानिक न्यूटनको भनाइबाट सुरु गर्न चाहन्छु- हामीले जानेको भनेको एक थोपा हो, हामीले जान्न बाँकी कुरा भनेको पूरै समुद्र हो । यसको अर्थ हामीले जान्नुपर्ने कुरा धेरै छ, मैलै जानेको छैन भन्नेबाट सुरु गर्नुपर्छ । त्यो नै प्राथमिक विन्दु हो । हामीले हाम्रा छोराछोरीलाई सिकाउने भनेको यो विश्व, ब्रम्हाण्ड र आफैंलाई बुझ्न सिकाउने नै हो ।

म आफ्नो नातिको धेरै कुरा सामाजिक सञ्जालमा राखिराख्छु । धेरैले मलाई पूर्वप्रधानमन्त्रीले आफ्नो नातिको कुरा के राखेको होला भनेर पनि प्रतिक्रिया दिनुहुन्छ तर मैले उसले सिकिराखेको कुरा राख्नुको अर्थ ऊ भविष्यको नागरिक भनेर हो, मेरो नाति भनेर मात्र होइन ।

मैले उसलाई दिएको पहिलो उपहार पुस्तक नै हो । सन् २०२० मा जन्मेको ऊ २२ औं शताब्दीको नागरिक हो । त्यसैले ऊ र ऊजस्ता बालबालिका हाम्रो पुस्ताभन्दा उत्कृष्ट हुनुपर्छ भन्ने हो ।

म भन्दा तपाईं अभिभावक र शिक्षक ज्ञानी हनुहुन्छ । मेरो एउटा बुझाइ के छ भने हामीले हाम्रा छोराछोरीलाई सही ढंगले सिकाउन पनि जान्नुपर्छ । मैले किन सिकाउने वा पढ्ने त भनें तर, के सिकाउने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । जे सत्य छ, तथ्यपरक छ त्यही सिकाउने हो ।

हामीले हिजो जे सुन्यौं, त्यही सिकायौं । गलत पनि सिकायौं । तथ्यमा नगई सिकायौं । हाम्रो उखानै छ- आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको । बुढाको कुरा सुनेपछि त बुढाले पुरानो कुरा मात्र गर्छ । जबकि हामी त भविष्यमा बाँच्नु छ । यति ठूलो ज्ञान-विज्ञानको आविष्कार छ । प्रविधिको यति धेरै विकास भइरहेको छ । ज्ञानका यति धेरै क्षेत्र खुलिरहेका छन् । त्यो विषय पो सिकाउने हो ।

त्यसैले हामीले कुरा सुन्नु बुढाको होइन, कुरा सुन्ने त हामीले वैज्ञानिकको हो, चिन्तकको हो । आविष्कारकहरूको हो । जसले नयाँ नयाँ कुराको खोजी गर्छन्, तिनको कुरा सुन्ने हो । त्यसैले मेरो आग्रह के हो भने हामीले हाम्रा छोराछोरीहरूलाई वैज्ञानिक चेत दिनुपर्छ ।

कुनै प्रकारका मूढाग्रह, अवैज्ञानिक मान्यता, विज्ञानबाट पुष्टि नहुने कुरा, जीवन र जगतका अनुभवबाट गलत पुष्टि भएका कुराहरू हामीले बालमस्तिष्कमा हाल्दिनुहुँदैन । उनीहरूलाई खुला छोडिदिनुपर्छ । विज्ञानले पुष्टि गरेका वैज्ञानिक कुरा मात्र सिकाउनुपर्छ । र, त्यस्तै किताब पढ्न उत्प्रेरित गर्नुपर्छ ।

अर्को कुरा हामी यो समाजमा छौं । समाजमा त वर्ग, जाति, धर्म, क्षेत्र, लिंग, समुदाय अनेकमा हामी मान्छे बाँडिएका छौं । हाम्रा रूपरङ्ग फरक होलान् तर हामी सबै मान्छे हौं । हाम्रो औसत क्षमता बराबर छ । विज्ञानले भन्छ- हामी प्रत्येक मान्छे बराबर हौं । चाहे हामी होचो वा अग्लो वा गोरो वा कालो वा महिला वा पुरुष वा अन्य हौं । हामी सबैको औसत क्षमता बराबर हो । त्यसैले कोही सानो वा ठूलो हुँदैन । सबै मान्छे बराबर हुन्छन् ।

महिला र पुरुषबीचको विभेद, धनी र गरिबबीचको विभेद, जाति र रङ्ग बीचको विभेद, मधेश र पहाडमा बस्ने मान्छे बीचको विभेद, नेपाल र अन्यत्र बस्ने मान्छे बीचको विभेद कुनै पनि हिसाबमा स्वीकार्य हुँदैन । त्यो सत्य होइन, वैज्ञानिक होइन । हामीले बालबालिकामा बराबरीको सम्बन्धको चेत दिनुपर्छ । समानता र न्यायको कुरालाई बालबालिकाको मस्तिष्कमा हाल्दिनुपर्छ ।

त्यसैक्रममा आन्विका गिरीको ‘मेरो दिदी’ बालउपन्यासमा छोरा र छोरीबीचमा हामीले जसरी विभेद गर्छौं, त्यसलाई उहाँले अत्यन्त रोचक र मार्मिक ढंगले राख्नुभएको छ । बच्चा जन्मँदा छोरा वा छोरी हुनु कसैको छनोटको कुरा होइन । मैले छानेर म छोराको रूपमा जन्मेको होइन र उहाँले (लेखक गिरी) छानेर छोरीका रूपमा जन्मेको होइन । हाम्रा बा र आमा दुवैको हाम्रो बनोटमा ५०/५० प्रतिशतको हिस्सेदारी छ ।

यो कुरा विज्ञानले भन्छ । तर हामी बालाई बढी सम्मान गर्ने, बालाई बढी महत्व दिने, बाकै सन्तान हुँ भनेर परिचय गराउने गर्छौं । तर आमाको भूमिकालाई कम आँक्ने अर्थमा हाम्रो हुर्काइ हुन्छ जबकि हामी जन्मिनुमा आधा योगदान छ र अझ व्यावहारिक रूपमा लालनपालनमा आमाको बढी भूमिका हुन्छ । त्यसैले यस्तो लैंगिक विभेद ठिकै छैन भनेर उहाँले (लेखक गिरी) लेख्नुभएको छ ।

तेस्रो कुरा, के पढ्ने भन्ने सवालमा हामी हाम्रा बच्चाहरूलाई तँ यो बन् भनेर भन्छौं । भर्खर जन्मेको बच्चालाई पनि हामी यो ठूलो भएपछि डाक्टर बन्छ, इन्जिनियर बन्छ, पाइलट बन्छ भनेर उसको बारेमा निर्णय गर्छौं र त्यही कुरा उसको बालदिमागमा पनि हाल्छौं । हामी को हौं त्यसो भन्ने ? बच्चालाई सोच्न स्वतन्त्र छाड्नुपर्छ । बालबालिकाको मस्तिष्कको विकासमा हामीले योगदान गर्ने हो । बालबालिका हुर्कंदै गएपछि उनीहरूका रुचि के छन् ?

मान्छेका त थुप्रै रुचि हुन्छन् । हाम्रो मन मस्तिष्कमा विभिन्न रूचिहरू उत्पन्न हुन्छन् । त्यसैले भौतिक विज्ञानका कुरा, सामाजिक विज्ञानका कुरा, सौन्दर्यशास्त्रका कुरा यी सबै कुरा हामीले बालबालिकालाई सिकाउनुपर्छ । कता रुचि छ भन्ने कुरा सुरुमा नै बच्चालाई थाहा हुँदैन । म आफै एउटा गाउँले परिवेशमा हुर्किएँ ।

स्कूलमा निबन्ध लेख्न दिइन्थ्यो, तिम्रो भविष्यको लक्ष्य के हो ? भनेर । अनि हामी त्यतिबेला मेरो जीवनको लक्ष्य इन्जिनियर, डाक्टर, पाइटल बन्ने लेख्थ्यौं । हाम्रा गुरुहरू मख्ख परेर नम्बर दिनुहुन्थ्यो । जबकि हामीलाई केही थाहा थिएन । हामीले हल्लैहल्लाको भरमा सुनेर लेखेका हुन्थ्यौं । पछि थाहा भयो जीवन र जगत त धेरै जटिल रहेछ । त्यसैले बालबच्चालाई सुरुमै के बन्ने भनेर तोकिदिनुहुँदैन ।

कोही राम्रो कलाकार छ, कलातिर उसको रुचि छ भने कलामा नै उसले उत्कृष्टता हासिल गरोस् न । कसैको साहित्यप्रति रुचि छ, राम्रो साहित्यकार बनोस् । कसैको समाजशास्त्रमा रुचि छ, समाजशास्त्री बनोस् । राजनीतिमा रुचि छ, नेता बनोस् । अर्थशास्त्रमा रुचि छ, अर्थशास्त्री बनोस् । भौतिक विज्ञानमा रुचि भए, प्राविधिज्ञ बनोस् । जीव विज्ञानमा रुचि छ, चिकित्सक बनोस् । बच्चालाई उसको रुचिमा छोडिदिनुपर्छ । यो हुने त्यो नहुने भन्ने हामीले (अभिभावक, शिक्षक) लाद्नुहुँदैन ।

चौथो कुरा इतिहासले हामीलाई के सिकाउँछ भने अन्ततः हामी जुन धन, सम्पत्ति, समृद्धि हासिल गर्छौं, त्यसको स्रोत भनेको मानवीय श्रम हो, शारीरिक श्रम होस् वा मानसिक श्रम होस् । त्यसैले हामीले पढेपछि श्रम गर्नुहुँदैन भनेर जुन हामी सिकाउँछौं त्यो गलत हो । आन्विकाजीको उपन्यासमा पनि उहाँले यो कुरा राम्ररी उल्लेख गर्नुभएको छ । हामीले सबै प्रकारका श्रमको सम्मान गर्नुपर्छ ।

आखिर विकास समृद्धिको स्रोत भनेको मानवीय श्रम नै हो । श्रम गर्नुमा हामीले गर्व गर्नुपर्छ । श्रम सानो ठूलो हुँदैन । यो हामीले सिकाउनै पर्छ । श्रमको महत्व बुझाउने पुस्तकहरू हामीले हाम्रा केटाकेटीलाई पढ्न दिनुपर्छ । अन्त्यमा मेरो आग्रह के छ भने हामीले हाम्रो दिमागलाई खुला राख्न सिकाउनुपर्छ ।

बालबालिकालाई हामीले हाम्रा कुरा लाद्ने होइन, प्रश्न सोध्न सिकाउनुपर्छ । उनीहरूको जुन क्षमता छ, त्यसलाई प्रस्फुटित गरिदिने हो । त्यसैले यो दुनियाँ के हो ? संसार के हो ? के ठिक हो, के बेठिक हो भन्ने प्रश्न उनीहरूले गर्ने र ज्ञानलाई आफैंले आत्मसात् गरे भने त्यो ज्ञान बलियो हुन्छ ।

घोकन्ते ज्ञान र अर्काले हाल्देको कुराले मात्र मान्छेको ज्ञान पूर्ण हुँदैन । बालबालिकालाई पढ्न सिकाउने भनेको उनीहरूको सृजनशील क्षमता वृद्धि गर्ने नै हो ।

(आन्विका गिरीको पुस्तक ‘मेरी दिदी’को विमोचन कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा व्यक्त विचार)

लेखकको बारेमा
डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री समेत रहेका लेखक नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?