
२ चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिन नसक्ने बताएका छन् ।
जेलेन्स्कीले युक्रेनले अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको सदस्यता लिन नसक्ने बताएका हुन् । ‘युक्रेन नेटोको सदस्य होइन र हामीले वर्षौंदेखि ढोका खुला रहेको कुरा सुनिरहेका छौं’, उनले भने, ‘तर हामीले नेटोमा आबद्ध हुन नसक्ने कुरा पनि सुनिरहेका छौं । यो सत्य हो र यसलाई आत्मसात गर्नुपर्छ ।’
नेटोले आफूहरूलाई सदस्यता नदिने भन्दै युक्रेन तटस्थ बस्न सक्ने पनि जेलेन्स्कीको भनाइ थियो । तर पश्चिमी मुलुक र रुसबाट सुरक्षाको ग्यारेन्टी हुनुपर्ने पनि उनले बताए ।
‘हाम्रा जनताले यो कुरा बुझ्न थालेको कारण म खुशी छ’, जेलेन्स्कीले थपे । युक्रेनका जनताले आफैं र सहयोग गरिरहेका साझेदारमाथि भर पर्नु पर्ने कुरा बुझ्न थालेको पनि उनको भनाइ थियो ।
रुससँगको वार्ता थव सार्थक हुँदै गएको पनि जेलेन्स्कीले बताए । तर वार्तालाई अर्थपूर्ण निष्कर्षमा पुर्याउन समय, धैर्यता र समय आवश्यक पर्ने पनि उनको भनाइ थियो ।
‘अझै थप प्रयास गर्नुपर्ने हुन्छ, धैर्यताको खाँचो छ’, उनले भने, ‘कुनै पनि युद्ध सहमतिबाट टुंगिन्छ ।’ जेलेन्स्कीले युक्रेनलाई थप हतियार दिन र रुसमाथि थप प्रतिबन्ध लगाउन समेत आग्रह गरेका छन् । त्यस्तै, उनले रुसी मिसाइल र विमानलाई युक्रेनको आकाशमा प्रतिबन्ध लगाउनु पर्ने अडान पुन: दोहोर्याएका छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4