+
+

अधुरो मोहनापुल–अत्तरिया सडकमा अत्यधिक दुर्घटना

जनक विष्ट जनक विष्ट
२०७८ चैत ३ गते १४:२९

२ चैत, धनगढी । गत २३ फागुन दिउँसो धनगढी उपमहानगरपालिका–१३ को राजपुुरमा ट्रकको ठक्करबाट एक किशोरी घाइते भइन् ।

विद्यालयबाट साइकलमा फर्केकी १६ वर्षीया स्वस्तिका कुँवरलाई बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको उपचारकै क्रममा धनगढीकै माया मेट्रो अस्पतालमा मृत्यु भयो ।

प्रहरीका अनुसार मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा ट्रकले कुुँवर सवार साइकललाई ठक्कर दिएको थियो । ट्रक विपरीत लेनबाट गुडेकाले दुर्घटना भएको पनि प्रहरीको भनाइ छ ।

निर्माणकै चरणमा रहेको मोहनापुल–अत्तरिया ६ लेन सडकमा जथाभावी सवारी साधन चलाउँदा धेरै दुर्घटना भएका छन् । यो सडकमा दैनिकजसो दुर्घटना हुने गरेको प्रहरीको अभिखेल छ ।

२०७४ सालमा दुुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको ६ लेन सडक निर्माण कम्पनीले समयमा पूरा नगर्दा पटक पटक म्याद थप गरिएको छ । सडक कालोपत्रेको काम सकिए पनि ट्राफिक संकेत राख्ने, लेन विभाजन, रङ रोगनजस्ता काम अधुरै छ ।

सवारी चालक र यात्रुले लेन प्रयोगमा ध्यान नदिनु, सडकमा ट्राफिक चिह्न नराखिनु, जथाभावी डिभाइडर राखिनु, छाडा चौपाया र सडकमा जथाभावी खोलिएको क्रसपासका कारण दुर्घटना बढेको धनगढीका वासिन्दा दीपेन्द्र सिंह बताउँछन् ।

‘छ लेन सडक निर्माण भएपछि धनगढीको आर्थिक विकासमा टेवा पुर्‍याउँछ भन्ने विश्वास थियो तर सडक योजना कार्यालय र ट्राफिक प्रहरीको गम्भीर लापरवाहीका कारणले यो सडकले विनाश निम्त्याउन थालेको छ,’ सिंहले अनलाइनखबरसँग भने, ‘सडकको लेन प्रयोग गर्न नजान्दा धनगढीबासीले अकालमै ज्यान गुमाउनुुपर्ने अवस्था आएको छ ।’

धनगढीकै वासिन्दा प्रकाश विकले ६ लेन सडकमा दुई पांग्रे, चार पांग्रे, मालबाहक सवारी साधन, साइकल यात्री र पैदल यात्रीका लागि छुट्टाछुुट्टै लेनको व्यवस्था नहुँदा समस्या भएको बताए । ६ लेन सडक डिजाइन अनुसार नबनेकाले चालक र यात्रुुलाई लेन प्रयोगबारे थाहा हुन नसकेको बिक बताउँछन् ।

ट्राफिक प्रहरीले सवारी चालक अनुुमति पत्र जाँच गर्नेबाहेक अरु कुनै काम नगरेका कारण दुुर्घटना बढेको विकको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) वकिलबहादुर सिंहले सडक निर्माण् पूरा नभएकाले ट्राफिक व्यवस्थापन गर्न नसकिएको र दुर्घटना भइरहेको बताए ।

‘यो समस्या समाधान गर्न सबैभन्दा पहिले शीघ्र सडक निर्माण सम्पन्न गर्नुपर्ने हुुन्छ,’ सिंहले भने, ‘हाम्रो ६ लेन सडक अब कहिले पूर्ण हुुने हो ? सडक योजना कार्यालयले ६ लेन सडकको अवधारणाअनुुसार काम नगरेकाले समस्या भइरहेको देखिन्छ ।’

उनले सडक क्षेत्रमा ट्राफिक संकेत राख्ने काम समेत सडक योजना कार्यालयले नै गर्नुपर्ने बताए । ‘सडकमा टर्निङ प्वाइन्ट कहाँ राख्ने ? जेब्रा क्रसिङ कहाँ राख्ने ? डिभाइडरको अवधारणा के हो ? कुन लेनमा कस्तो सवारी साधन हिँड्ने ? भन्ने जस्ता कुुराको निर्क्यौल गरिएको छैन,’ ट्राफिक प्रहरी निरीक्षक सिंहले भने, ‘सडकका बीच भागमा बनाइएका क्रसिङ प्वाइन्टमा पनि स्पष्ट संकेत नराखिएकाले अन्यौल भइरहेको छ ।’

मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले सडक निर्माण अन्तिम चरणमा रहेको र सकिनेबित्तिकै ट्राफिक चिह्न राख्ने बताए ।

‘यी सबै निर्माण सकिएपछि गर्ने काम हुुन् । तीन चरणमा ठेक्का लगाइएकोमा हालसम्म पहिलो खण्डको काम ७ चैत, दोस्रो र तेस्रो चरणको काम चैत मसान्तसम्म सम्पन्न भएपछि ट्राफिक चिह्न राख्ने, पेन्टिङ गर्नेजस्ता काम गरिन्छन्,’ गुरुङले अनलाइनखबरसँग भने ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?