
३ चैत, काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको आज उदघाटन भएको छ ।
२ करोड २६ लाख नेपाली रुपैयाँ लागतमा बनेको भवनको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
भवन उदघाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरेका थिए ।
भारतीय राजदूतावासका नियोग उपप्रमुख खम्पाले यो परियोजना भारत र नेपाल बीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताइन् ।
१५ शय्या क्षमताको यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसहरुलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास छ ।
भवनमा प्रसूति कक्ष, चौबिसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएकोमा ४६७ वटा सम्पन्न भइसकेका काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले बताएका छन् । तीमध्ये भोजपुरका ४ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले भोजपुर जिल्लामा हालसम्म ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको प्रवक्ता नवीन कुमारले जानकारी दिए ।
प्रतिक्रिया 4