+
+

बजारबाट पैसा कहाँ हरायो ? सिरानीमुनि छ कि म खोज्दैछु : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १८:५९

४ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नगद रकम घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सृजना भएको संकेत गरेका छन् । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै उनले त्यस्तो पैसा खोज्न आफू लागि परेको बताए ।

शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले तरलताको अभाव सृजना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको बताएका हुन् । ‘आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु,’ उनले भने, ‘हाम्रो पूँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’

उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पूँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी गराए । उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फ्लाइ हुने प्रक्रिया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् ।’

पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पूँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए । ‘बैंक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादन मुलक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु’ उनले भने । बैंकिङ प्रणालीमा बिस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने उनको विश्वास छ ।

उनले मुलुकले अहिले भोगिरहेको शोधनान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको समेत बताए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डन्डी तथा डन्डीजन्य वस्तु, खानेतेल, प्लास्टिकलगायतको मूल्य बढेको उनले बताए । ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाडादर पनि वृद्धि भएको उनको भनाइ छ । ‘अर्कातिर डलरको बिनिमयदर पनि बढेको छ,’ उनले भने, ‘त्यसैले यो सबैको चाप भुक्तानीमा पर्न गयो र शोधनान्तरस्थित हामीले सोचेभन्दा केही फरक पर्न गएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?