+
+
फिल्म समीक्षा :

चिसो एस्ट्रे : काठमाडौंमाथि एउटा ‘क्लासरुम’ फिल्म

विष्णु शर्मा विष्णु शर्मा
२०७८ चैत ५ गते १८:०६

‘आँखामा आगो, ओठभरि ज्वाला बोकी
एकदिन मैले पनि कलंकीमा इन्ट्री हानें’

यो ‘पञ्च लाइन’ सँगै सुरु हुन्छ फिल्म । लाग्छ, भूपि शेरचनको सिनेम्याटिक युनिभर्सभित्र हामीले चिसो एस्ट्रेको उडान भर्दैछौं । यो उडानमा भूपिद्वारा वणिर्त पात्र, मनोदशा र भूगोल हामीसँगै सयर छन् । पचास वर्ष बितिसक्यो : समय उही छ, प्रश्न उनै छन्, काठमाडौंको चारभञ्ज्याङ खाल्डोले बाँचेको आयाम उही छ । आवरण बदलिए पनि आत्मा दुरुस्तै छ ।

तिनै भूपिले लेखेको ब्लकबस्टर कविता ‘चिसो एस्ट्रे’माथि दृश्यभाषा बुनिएको छ । यदि तपाईं काठमाडौंमा पहिलो पुस्ताको आप्रवासी हुनुहुन्छ भने गजब ! यो दृश्य भाषाभित्र तपाईं आफूलाई झोंछेको हिप्पी गल्लीको यायावर महसुस गर्न सक्नुहुन्छ । फिक्सनमै सही, भूपि र डाउनलोड जस्ता चिसा गल्लीका पात्रसँग आफूलाई अपनत्व तुल्याउन सक्नुहुन्छ ।

आख्यान सौन्दर्यभित्र डुबुल्की मारेर पात्रले बाँचिरहेको जीवन महसुस गर्ने सुविधा तपाईंलाई छ । निर्देशक दिन्श पाल्पालीले ‘चिसो एस्ट्रे’ क्राफ्टसँग दर्शकीय मनोविज्ञान साट्ने प्रयत्न गरेका छन् ।

कोभिड-१९ महामारी र अस्थिर राजनीतिले दुःखजिलो जीवन बाँचिरहेका सहरिया भुइँमान्छेसँग फिल्मका पात्रले बाँचेको समय आफ्नै लाग्न सक्छ । यो काठमाडौं चारभञ्ज्याङ खाल्डोको कथा मात्र हैन, बरु संसारका ठूला सहरको साझा चरित्र हो ।

न्यूयोर्क, टोकियो, आम्सटर्डम, बेइजिङ वा दिल्ली तपाईं जतातिर जानुस्, तपाईंलाई संसारका ठूला सहरहरू ‘चिसो एस्ट्रे’जस्तै लाग्न सक्छ । संसारका ठूला सहरहरूको साझा चरित्र नै चिसो एस्ट्रे हो । सभ्यता रहुञ्जेल सहरको ‘चिसो एस्ट्रे’ चरित्र निरन्तर रहिरहनेछ ।

असमानताका यिनै चरित्रले सिर्जना गरेका सहर मानवीय ‘सफोकेसन’का बिम्व पनि हुन्, यसकारण फिल्म ‘चिसो एस्ट्रे’ले फराकिलो ‘युनिभर्सल अपिलिङ’ पनि बोकेको छ । किनभने झोंछे गल्लीका तन्नेरीको उकुसमुकुस, न्यूयोर्क म्यानहटनको भुइँमान्छेलाई पनि साझा लाग्न सक्छ ।

चरित्र चित्रण र सम्बन्ध स्थापना

सहर पसेको मदन (दिव्यदेव) वरपर फिल्मले फन्को मार्छ । महाकवि देवकोटाद्वारा वणिर्त मदनसँग यो आधुनिक मदनको अर्थपूर्ण र बिम्वात्मक साइनो छ । यो फिल्मी मदन चाहिं सुखी भविष्यको खोजी गर्दै कलंकीमा इन्ट्री हान्ने लाखौं नेपाली तन्नेरीमध्येको बिम्व हो । यो मदनसँग के मात्र चाहना छैन ? उसलाई हलिउड सुपरस्टार रोबर्ट डि निरोजस्तै बन्नुछ, धनी बन्नुछ, केटी साथी शालीनताको मन जित्नुछ र रोनी र ज्याकीजस्ता साथीको सपना पनि पूरा गर्नुछ ।

हामीले मदनभित्र बहुचरित्रकरण देख्न सक्छौं । ‘ग्रे कलर’को यो चरित्र सहरमा बस्ने समकालीन मान्छेको बिम्व पनि हो । काठमाडौं छिरेपछि मदनको भेट कसरी रविन तामाङ (बबी दाइ), रोनी (निकुन श्रेष्ठ), शालीनता (सृष्टि श्रेष्ठ) र ज्याकी (नवीन लम्साल)सँग हुन्छ ? ती पात्रको संगतले उसको चरित्र र गतिमा कस्ता कुइनेटा आउँछन् ? कथित ‘पाखे’ चरित्रलाई लुकाउन उसले काठमाडौंमा कस्ता परिस्थितिसँग सम्झौता गर्नुपर्छ ? सोलोडोलो यिनै यात्राको दृश्यभाषा हो- फिल्म ‘चिसो एस्ट्रे’ ।

चरित्र र उनका बान्कीले तपाईंलाई काठमाडौं सहरकोे यात्रा गराउँछ । ठमेलको रेस्टुरेन्टमा गीत गाएर हलिउड लेभलको म्युजिक भिडिओ बनाउन सपना देख्ने डाउनलोड गल्लीको रोनी चरित्र होस् या ग्याङस्टार बनेरै पैसा कमाउने भूपि गल्लीको ज्याकी । सेता पुतली अभियान चलाउने र अब्रोड रिटर्न शालीनता होस् या विना कारण घुम्ने र रिसाउने बिकी भेजा (सुशीलराज पाण्डे) नै किन नहोस् ?

अनि बबी दाइ ! ‘जेम्स बन्ड’ले सडकमा हाँक्ने बिटल कारलाई सम्झाउने बबी दाइ जस्ता मनकारी मान्छे पनि । सहरको गञ्जागोलमा आदर्श लाग्ने बबी दाइ जस्ता पात्र पनि छन् जो पेस्तोल ताकेर ग्याङस्टारलाई सम्झाउँछन् र चिया खुवाएर पठाउँछन् । सहरका यी अनेक चरित्रसँग ‘प्रोटागोनिस्ट’को भेट हुन्छ । जीवनमा इन्ट्रीभन्दा एक्जिट महत्वपूर्ण हो । अनेक बान्कीका यी चरित्रसँग अघि बढेको मदनको एक्जिट कसरी हुन्छ ? यी मोड थाहा पाउन फिल्म हेर्नुपर्छ ।

निर्देशन, पटकथा र द्वन्द्व

फिल्म चरित्र चित्रण र कथा मात्र हैन । दृश्यभाषाप्रति निर्देशकीय इमानदारी यसको पूर्वशर्त हो । दृश्यका आधारभूत व्याकरणप्रति निर्देशक दिन्श पाल्पाली इमानदार देखिए पनि अझै कतिपय पक्षको अभाव खट्किएको छ यसमा । ‘चिसो एस्ट्रे’ पछिल्लो समयको अब्बल क्राफ्ट हो तर पटकथामा अझै सुधारको गुञ्जायस रहन्छ ।

केन्द्रीय पात्र र द्वन्द्व स्थापना गर्न सकेको भए यसले दर्शकसँगको अन्तरक्रियालाई अझै बलशाली तुल्याउन सक्थ्यो । पात्रबीचको सम्बन्ध र द्वन्द्वको विकासमा समस्या हुँदा यसले पर्याप्त ‘इमोसन ट्रान्सफर’ गर्न सकेको देखिंदैन । मुख्य पात्रसँग स्पष्ट लक्ष्य छैन । अधिकांश चरित्रको मनोदशा र कारणको व्याख्या खुलेको छैन । अकारण उनीहरू ‘लाउड’ देखिन्छन् । परिस्थिति अनुसार पात्रको प्राथमिकता बदलिन्छ । चरित्र र लक्ष्य स्थापना हुन नसक्दा यसले पटकथाको लयमा समस्या सिर्जना गरेको छ ।

तर, यी समस्यालाई सुन्दर छायांकन, अभिनय र ब्याकग्राउन्ड स्कोरले ओझेलमा पारिदिएको छ । दर्शकले अढाइ घण्टा फिल्म हेर्दा इन्गेज महसुस गर्छन् । पटकथामा निहित थुप्रै ‘लुपहोल्ज’ बाबजुद पनि निर्देशकले मौलिक कथावस्तुमा फिल्म पस्किएका छन् जहाँ अध्यात्म, उत्तर आधुनिकतादेखि पूँजीवादका धेरै बाछिटा यसमा महसुस गर्न सकिन्छ । पछिल्लो दशकमा क्रिटिक्सले भन्दै आएको तथ्य के हो भने : आवरणमा परिवर्तन आइरहे पनि फिल्मको आत्मालाई जीवन्त तुल्याउनुपर्छ भन्ने हो ।

के चिसो एस्ट्रेले भूपि दृष्टिकोणलाई ‘काव्यिक न्याय’ दिलाउन सकेको छ ? के चिसो एस्ट्रेले फिल्मको आत्मालाई जीवन्त तुल्याएको छ ? या यो कुनै दर्शन र साहित्यको वाचाल संस्करण मात्र हो ? यसमाथि बहस हुनु जरूरी छ । पटकथामा केही समस्याबाहेक ‘चिसो एस्ट्रे’ घरेलु फिल्मको स्तरीय क्राफ्ट हो । यो फिल्म मात्र हैन, बरु एउटा गहिरो प्रश्न पनि हो । आफूलाई ‘कस्मोपोलिटन’ ठान्ने काठमाडौं सहरको यथार्थ ।

अभिनय र प्राविधिक पक्ष

पात्रको मनोदशा र द्वन्द्वसँग गल्लीको नामकरण गरेर निर्देशकले काल्पनिक संसार पोतेका छन् । फिल्म हेरेर घर फर्कंदा पनि तपाईं ती गल्लीलाई मनमा राख्नुहुन्छ । चोभार डाँडोलाई चुनौती दिंदै काठमाडौंका गल्लीलाई ट्रेन्डसेटर फिल्म ‘लुट’ले जसरी पर्दामा स्थापित गर्‍यो उसैगरी, ‘चिसो एस्ट्रे’ले फिल्ममा ‘गल्लीको कथा’ पस्किएको छ ।

गल्लीमा हुने भागदौड र पात्रलाई पछ्याइरहेको क्यामेराको गतिसँग दर्शकले आफूलाई महसुस गर्छन् । जब निर्देशन, सिनेम्याटोग्राफी, सम्पादन, कलर ग्रेडिङ र ब्याकग्राउन्ड स्कोरबीच सहकार्य हुन्छ, तब ‘चिसो एस्ट्रेज’ स्तो फिल्म बन्छ । प्राविधिक पक्षको मामिलामा यो फिल्म अविस्मरणीय हुनेछ । छायांकन र प्रकाश संयोजन बलियो छ ।

‘जम्प-कटिङ’ सम्पादन र टाइमिङको तादात्म्यता आकर्षक छ । द्वन्द्वको सघनता र पात्र मनोदशा अनुसारको रङ संयोजन फिल्मको अर्को राम्रो पक्ष हो । ‘फस्ट-एक्ट’ संरचनाका दृश्यमा गुलाबी रङ पोतिएको देखिन्छ । फिल्ममा जब द्वन्द्वको उचाइ बढ्दै जान्छ र पात्र विभिन्न मनोदशामा जेलिन्छन्, रङ गाढा बन्दै जान्छ । फिल्ममा रङको पनि अर्थ हुन्छ । साउन्ड इन्जिनियरिङ अर्को सुखद पक्ष हो । तपाईं ३६० डिग्रीमै ध्वनिको डिजाइन सुन्न सक्नुहुन्छ । प्रोडक्सन र कस्ट्युम डिजाइन सन्तोषजनक छ ।

चरित्र अनुसार सबै जना पात्रमा फिट छन् । कतिपय चरित्रको स्थापना नहुँदा दर्शकलाई अन्योल हुनसक्छ । कथालाई हाँक्ने पात्र मदन बनेका दिव्य देव, रोनी बनेका निकुन, ज्याकी बनेका नवीन, शालीनता बनेकी सृष्टि, विकी भेजा बनेका सुशील र बबी दाइ बनेका रविन जस्ता हेभिवेट चरित्र फिल्ममा छन् ।

मदन पात्रको सहरी रूपान्तरण चाखलाग्दो प्रस्तुति हो । कसरी संगत र चाहनाको हुटहुटीले यो अग्लो कदको पात्रलाई काठमाडौं जस्तो बनाइदिन्छ, यो प्रस्तुति रोचक छ । संगीतले द्वन्द्वको पृष्ठभूमिलाई अझै घनीभूत तुल्याएको छ । सविन राईको ‘बाबा पशुपति’ एउटा उदाहरण हो । तपाईं यो गीत हेरिरहँदा पात्रको मनोदशामा केन्दि्रत हुनुहुनेछ । संगीत र निर्देशनबीचको सहकार्य फिल्मको अर्को आकर्षक पक्ष हो ।

छायांकार उज्वल बस्ताकोटी, कास्टिङ निर्देशक निगम श्रेष्ठ, नोबल फिक्सको ब्याकग्राउन्ड स्कोर, सोनिया मर्सियरको प्रोडक्सन डिजाइन, उत्तम न्यौपानेको ध्वनि डिजाइनसहित सम्पादन उत्कृष्ट लाग्छ । अभिनय र प्रविधिका यी आयामले पक्कै पनि फिल्मलाई दर्शनीय त तुल्याएको छ नै, साथै, यो फिल्मले मौलिक फिल्म निर्माण हुनुपर्छ भन्ने दशकौंदेखिको बहसमा रचनात्मक ऊर्जा थप्ने विश्वास गर्न सकिन्छ ।

फिल्म साहित्यिक, बौद्धिक र सामाजिक उत्पादन पनि हो भन्ने बहस पनि चिसो एस्ट्रे रिलिजसँगै पुनः ब्युँतिएको छ । यदि तपाईं रोनाधोना र परम्परागत कथा वाचनका ‘मेडिकोर’ फिल्मबाट मुक्त भएर नवीन सोच र प्रयत्नमा आधारित फिल्म हेर्न चाहनुहुन्छ भने ‘चिसो एस्ट्रे’ योग्य फिल्म हुन सक्छ ।

निर्देशक : दिन्श पाल्पाली

निर्माता : महेशबाबु तिमल्सिना

जानरा : सोसल ड्रामा

छायांकार : उज्वल बस्ताकोटी

सम्पादक : उज्वल ढकाल, प्रवीण स्याङबो र दिन्श पाल्पाली

पाश्र्व ध्वनि : नोबल फिक्स

कास्ट : दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सृष्टि श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ

लेखकको बारेमा
विष्णु शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?