+
+

बारको चुनाव बहिस्कार गर्ने डोटीका अधिवक्ता भट्टको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते १८:४९

५ चैत, डोटी । डोटी जिल्लामा रही १६ बर्षदेखि वकालत गर्दै आएका अधिवक्ता नवराज भट्टले नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा हुने निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।

कानुन व्यवसायीहरुको हकहितका लागि स्थापना भएको बार एशोसिएसन पेशागत हकहित भन्दा बढी राजनीतिक दलको इसारामा चल्ने गरेको आरोप लगाउँदै भट्टले आफुले निर्वाचनका सम्पूर्ण प्रक्रिया बहिस्कार गर्ने बताएका छन् । ‘यस निर्वाचनमा म कुनै पक्षका लागि पनि भोट माग्ने र भोट दिने छैन’ १२ बुँदामा आफ्नो असहमति सार्वजनिक गर्दै भट्टले भने ।

डोटी जिल्ला अदालतमा बैतानिक वकिल समेत रहेका भट्टले नेपाल बार एशोसिएसनले पेशा नचलेका कानुन व्यवसायीहरुको हितमा काम गर्न नसकेको, स्थानीय तहहरुमा कानुन व्यवसायीको नियुक्तिबारे पलह गर्न नसकेको, कानुन व्यवसायीको दक्षता अभिवृद्धि गर्न कुनै पहल नगरेको र स्थानीय बारको भौतिक संरचना निर्माणमा कुनै ध्यान नदिएको आरोप लगाएका छन् ।

‘मोफसलमा काम गर्ने कानुन व्यवसायीहरुको लगत संकलन गरी उनीहरुलाई प्रोत्साहन दिन सकेको छैन’ उनले भने ‘प्रो–वोनो गर्ने कानुन व्यवसायीलाई प्रोत्साहन दिन कुनै ठोस योजना ल्याउन सकेन ।’

निर्वाचनबाट अध्यक्षदेखि सदस्य पदमा जाने व्यक्तिहरु सामूहिक स्वार्थ भन्दा पनि नीजि स्वार्थमा लागेको उनको आरोप छ । उनी भन्छन् ‘आफू, आफ्ना भाइ–छोरालाई न्यायाधीश, महान्यायाधिवक्ता र संवैधानिक निकायमा नियुक्ति गर्नका लागि पहल गर्ने र स्थानीय बारलाई भोट बैङ्कको रुपमा प्रयोग गर्ने काम भइरहेको छ ।’

बारको निर्वाचनमा पेशागत हकहितका लागि भन्दा पनि राजनीतिक स्वार्थ सिद्ध गर्ने अभिप्रायले राजनीतिक समीकरण हुने गरेको उनी बताउँछन् । बारले कानुन व्यवसायीको योग्यता क्षमताको पनि कहिल्यै कदर नगरेको भट्टको आरोप छ । उनी भन्छन् ‘जबसम्म नेपाल बार साँच्चै कानुन व्यवसायीहरुको हकहित गर्ने संस्था बन्दैन, तबसम्म निर्वाचनमा भोट हाल्नुको कुनै अर्थ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?