+
+

मोहन वैद्य : शक्तिहीन हुँदै गएपछि चुनाव बहिष्कार

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोर्चाले देशभर जम्मा १३ हजार ९ सय ४४ मत ल्याएको थियो । प्रदेशसभा निर्वाचनमा सबै प्रदेशमा गरी १५ हजार ९४३ हो ।न्यून मतका कारण मोर्चाले संघ र प्रदेश दुवै तहमा एउटा पनि जनप्रतिनिधि निर्वाचित गराउन सकेन । त्यसैले वैद्यले चुनावमा जाने भन्दा पनि बहिस्कार गरेर अरुभन्दा भिन्न र ‘क्रान्तिकारी’ हुने बाटो समातेको नेताहरु बताउँछन् ।

रामकुमार डिसी रामकुमार डिसी
२०७८ चैत ७ गते १९:००

७ चैत, काठमाडौं । अधिकांश दल स्थानीय तह निर्वाचनको तयारीमा जुटेका बेला मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले भने बहिस्कारको निर्णय लियो ।

२५ देखि २९ फागुनसम्म बसेको यो पार्टीको केन्द्रीय समिति बैठकले वैद्यकै प्रस्तावलाई पारित गरेपछि क्रान्तिकारी माओवादी स्थानीय चुनाव बहिस्कार गर्ने पहिलो दल बनेको छ ।

चुनावमा पैसाको खोलो बग्ने र त्यस्तो चुनाव आफूहरुका लागि उपयुक्त नहुने तर्क वैद्यले बैठकमा गरेका थिए । ‘प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै सम्भावना नरहेको’ वैद्यको तर्क छ । उनको पार्टीले दुई महिने बहिस्कार अभिायन नै सञ्चालन गर्ने जनाएको छ ।

चुनाव उपयोग गर्ने वा बहिस्कार गर्ने भन्नबारे व्यापक मन्थन भए पनि समग्र राजनीतिक परिदृश्यको मूल्यांकन गरेर निर्णय लिएको क्रान्तिकारी माओवादीका नेता परि थापा बताउँछन् ।

‘महासचिवको प्रस्तावमा व्यापक छलफल भयो,’ थापाले अनलाइनखबरसँग भने, ‘यो एक/दुई दिनमा छलफल गरेर टुंगिएको विषय होइन । बैठक पो तीन दिन चल्यो तर समग्र राजनीतिक परिदृश्यको मूल्यांकन लामो समयदेखि गरेका थियौं ।’

करिब २० वर्ष संसदीय राजनीतिको अनुभव भएका थापा अहिलेको अवस्थामा बहिस्कार सही भएको दाबी गर्छन् । भन्छन्, ‘अहिलेको अवस्थामा बहिस्कार गरेर अगाडि बढ्दा नै फाइदा हुन्छ भन्ने सोचले यो निर्णयमा पुगेका हौं । हामी एउटा ‘मिसन पोलिटिक्स’मा छौं, पदलोलुपताको राजनीतिमा छैनौं ।’

त्यो उपयोग र लज्जास्पद नतिजा

चुनावी प्रणाली र अभ्यासको खरो आलोचना गरेका वैद्यको पार्टीले चुनाव उपयोग र बहिस्कार गरेको इतिहास छ ।

तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग भएपछि वैद्य नेतृत्वको पार्टीले २०७० को दोस्रो संविधासभा निर्वाचन बहिस्कार गरेको थियो । २०७४ को स्थानीय, प्रदेश र संघीय चुनाव भने उपयोग गर्‍यो, तर नजिता लज्जास्पद आयो । वैद्यको पार्टी क्रान्तिकारी माओवादी अझैसम्म निर्वाचन आयोगमा दर्ता नभएको पार्टी हो ।

चुनावी प्रयोजनका लागि बनाइएको देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत वैद्यको पार्टी २०७४ को चुनावमा गएको थियो । वरिष्ठ नेता सिपी गजुरेलले नेतृत्व गरेको यो मोर्चाको चुनावमा प्रर्दशन भने शून्य रह्यो । स्थानीय चुनावमा एक पद पनि जित्न नसकेको मोर्चाले संघ र प्रदेशसभामा देशभरको मत २० हजार पनि पुर्‍याउन सकेन ।

प्रतिनिधिसभा निर्वाचनमा मोर्चाले देशभर जम्मा १३ हजार ९ सय ४४ मत ल्याएको थियो । प्रदेशसभा निर्वाचनमा सबै प्रदेशमा मोर्चाले पाएको मत जम्मा १५ हजार ९४३ हो । न्यून मतका कारण मोर्चाले संघ र प्रदेश दुवै तहमा एउटा पनि जनप्रतिनिधि निर्वाचित गराउन सकेन ।

अब चुनावमा जँदा पनि वैद्य नेतृत्वको पार्टीको अवस्था यो भन्दा मजबुत हुने स्थिति थिएन । त्यसैले वैद्यले चुनावमा जाने भन्दा पनि बहिस्कार गरेर अरुभन्दा भिन्न र ‘क्रान्तिकारी’ हुने बाटो समातेको नेताहरु बताउँछन् ।

अमेरिकी सहयता परियोजना एमसीसीको विरोधले थोरै भएपनि सहानुभूति पाएका वैद्यले चुनावमा नजाँदा नै पार्टीको क्रान्तिकारी छवि कायम रहने ठाने । त्यही विश्लेषण वैद्यले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि छ ।

‘निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने सम्भावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन, बहिष्कारद्वारा नै समुज्ज्वल हुने देखिएकाले स्थानीय निर्वाचनको बहिष्कार गर्ने,’ प्रतिवेदनमा भनिएको छ ।

क्रान्तिकारी माओवादीका वरिष्ठ नेता गजुरेल २०७४ को चुनावमा आफूहरु जित्न नभई जनतामा परेको भ्रम तोड्न गएको बताउँछन् । ‘२०७४ मा हामी निर्वाचन जित्नका निम्ति, निर्वाचनबाट सरकार बनाउनका निम्ति जान खोजेकै होइन,’ अनलाइनखबरसँग उनले भने, ‘त्यतिखेर जनतामा भ्रम के थियो भने भर्खर–भर्खर संविधान बनेको थियो । यो संविधानबाट धेरै कुराहरु प्राप्त हुन्छ, राष्ट्रिय स्वाधीनता पनि जोगिन्छ, जनताका जनजीविकाको प्रश्न पनि समाधान हुन्छ र हाम्रो अधिकार स्थापित हुन्छ ।’

क्रान्तिकारी माओवादीका नेता गजुरेल थप्छन्, ‘जनतालाई त्यस्तो भ्रम परेको बेलामा उनीहरुले सम्मान गर्ने, हामीले बहिस्कार गर्ने हुन जान्थ्यो । जनताको स्वार्थसँग हाम्रो गतिविधि बाझिन्थ्यो, त्यसकारण हामीले उपयोग भन्यौंं ।’

बहिस्कारमा अरुले साथ देलान् ?

एमसीसीको विरोध गर्न साना ६ कम्युनिस्ट पार्टी र २ मोर्चा एकठाउँमा आएका थिए । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेक्रविक्रम चन्द ‘विप्लव’को नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा लगायतले २० फागुनमा काठमाडौंमा संयुक्त आमसभा समेत गरेका थिए ।

तर, स्थानीय तहको उपयोग वा बहिस्कार भन्ने सन्दर्भमा साना कम्युनिष्ट पार्टीहरुबीचको मोर्चामा फाटो देखिन थालेको छ । वैद्यको दलले चुनाव बहिस्कारको निर्णय गर्दा विप्लवले चुनाव उपयोगको प्रस्ताव अघि सारेका छन् ।

शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकमा चुनाव उपयोगबारे विप्लवले राखेको प्रस्तावमाथि छलफल जारी छ । विप्लव स्वयं र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेता चुनावको पक्षमा देखिएकाले नेकपा चुनावमै जाने सम्भावना छ ।

एमसीसी विरोधी मोर्चामा आवद्ध अर्को दल राष्ट्रिय जनमोर्चाले आफूहरु चुनावमा जाने बताइसकेको छ । बाँकी रहेका साना दल मात्रै चुनाव बहिस्कारको पक्षमा हुनसक्छन् । एमसीसीको विरोध गर्ने अनि चुनावमा पनि जाने गतल हुने तर्क गर्दै गजुरेल अन्य दललाई बहिस्कारको पक्षमा उभ्याउन कोसिस गर्ने बताउँछन् । ‘यो बीचमा संवाद हुने स्थिति बनेको छैन,’ उनको भनाइ छ, ‘हामीले त सबैलाई चुनाव बहिस्कारका लागि आह्वान गरेकै छौं, तर हेर्दैं जाउँ न के हुन्छ ।’

वैद्यको घट्दो शक्ति

२०६९ मा तत्कालीन एकीकृत माओवादीबाट अलग हुँदा वैद्यले झण्डै आधा शक्ति लगेका थिए । वैद्य नेतृत्वको नेकपा माओवादीतिर रामबहादुर थापा ‘बादल’, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, पम्फा भुसाल, देव गुुरुङ, खड्गबहादुर विश्वकर्मा, कुलप्रसाद केसी, हितमान शाक्य लगायतका प्रभावशाली नेताहरु गएका थिए । तर यो शक्ति लामो समय एकीकृत रहन सकेन ।

८ मंसिर २०७१ मा पार्टीमा विभाजन आयो । विप्लवसँग विश्वकर्मा, धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश वली लगायतका नेताहरु बाहिरिएर नयाँ पार्टी घोषणा गरेका थिए । विप्लव लगायतका नेताहरु बाहिरिएपछि कमजोर भएका वैद्यमा अर्को विभाजन ६ जेठ २०७३ मा आयो । बादल, देव गुरुङ, पम्फा भुसाल लगायतका नेताहरु माओवादीको मुलधारमै फर्किए । त्यसपछि पनि पार्टीमा विग्रह रोकिएको छैन ।

हामी अनैतिक राजनीति गर्दैनौं

सिपी गजुरेल

वरिष्ठ नेता, नेकपा क्रान्तिकारी माओवादी

पहिलो, एमसीसी संसदबाट अनुमोदन गर्ने काम यिनै राजनीतिक पार्टीहरुले गरे । संसदको मुख्य काम राष्ट्र बचाउने, राष्ट्रियताको रक्षा गर्ने हो । संसदले नै देशको राष्ट्रिय स्वाधीनता गुमाउने, विदेशीहरुको उपनिवेश गराउने निर्णय गरेर सुम्पिन्छ भने त्यो संसदको औचित्य कति रह्यो ? यो व्यवस्थाले देश बचाउला भनेर सर्मथन गर्ने हो कि राष्ट्रघाती सन्धी गर्नलाई ?

दोस्रो कुरा, जसको पैसा छ, जसका गुण्डाहरु छन्, जोसँग स्रोतहरु छ, जोजसको विदेशीहरुसँग सम्बन्ध छ, उनीहरुले नै त्यसको बलमा चुनाव जित्छन् । यस्तो चुनावलाई हामी कसरी यो आदर्श हो, ठीक हो भनेर भन्नसक्छौं ?

तेस्रो, ८० प्रतिशत जनता एमसीसी खारेज गर्ने पक्षमा थिए । त्यसो हुँदाहुँदै उनीहरुले एमसीसी अनुमोदन गरेका छन् । तिनीहरुलाई पुरस्कृत गर्ने हो कि दण्डित गर्ने हो ? मुख्य कुरा यही हो । जनताको बीचमा गएर हामीले यो कुरा राखेपछि जनताले नै बहिस्कार गरेर भाग लिँदैनन् भने नैतिक दृष्टिमा त उनीहरु संकटमा पर्छन् ।

चुनाव नाम मात्रैको भयो र जनता विरोधमा उत्रिए भने त उनीहरुलाई चुनाव जिते भनेर घोषणा गर्न संकट हुन्छ । हाम्रो बहिस्कारले यो चुनाव नहुने वातावरण पनि बन्न सक्छ । जसले राष्ट्रघात गर्छ, त्यसैले आयोजना गरेको चुनावमा भोट हाल्ने हो भने त्यो अनैतिक हुन्छ । यो राष्ट्रघात गर्छ, त्यसैलाई पुरस्कृति गरेर फेरि राष्ट्रघात गर्न ‘लाइसेन्स’ दिने कि नदिने भन्ने हो ।

चौथो, २०७४ मा हामी निर्वाचन जित्नका निम्ति, निर्वाचनबाट सरकार बनाउनका निम्ति जान खोजकै होइन । त्यतिखेर जनतामा भ्रम के थियो भने भर्खर भर्खर संविधान बनेको थियो । यो संविधानबाट धेरै कुराहरु प्राप्त हुन्छ, राष्ट्रिय स्वाधीनता पनि जोगिन्छ, जनताका जनजीविकाको प्रश्न पनि समाधान हुन्छ र हाम्रो अधिकार स्थापित हुन्छ भन्ने थियो ।

जनतालाई त्यस्तो भ्रम परेको बेलामा उनीहरुले सम्मान गर्ने, हामीले बहिस्कार गर्ने हुन जान्थ्यो । जनताको स्वार्थसँग हाम्रो गतिविधि बाझिन्थ्यो, त्यसकारण हामीले उपयोग भन्यौंं । हामीले प्रष्ट भनेका थियौं, हामी जित्न गएको होइन, तपाईंहरुमा जुन भ्रम परेको छ, त्यो साफ हुन्छ भनेर भनेका थियौं । तर, अहिलेको स्थिति बदलिएको छ। यदि एमसीसी सम्झौता मात्रै पनि नभइदिएको भए सोच्न सकिन्थ्यो ।

पाँचौ, एमसीसी राष्ट्रघाती छ भन्ने अनि अहिले राष्ट्रघातीसँगै कुममा कुम जोडेर हामीलाई भोट हाल भन्ने भइसकेपछि त्यो गलत हुन्छ । त्यस्तौ अनैतिक राजनीति हामी गर्दैनौं । एमसीसीविरुद्धको मोर्चाबन्दीमा हामीसँगै रहेका साथीहरुलाई हामीले चुनाव बहिस्कारका लागि आह्वान गरेका छौं । उहाँहरुले के गर्नुहुन्छ, हेर्दै जाऊँ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?