+
+

दलदलमा फसेका पुटिन : रुस-युक्रेन युद्ध कता जाँदै छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १४:०३

८ चैत,  काठमाडौं । रुसले युक्रेनमा हमला गरेको २७ दिन पुगिसकेको छ । यस अवधिमा दुबै पक्षले ठूलो मानवीय क्षति ब्यहोरिसकेका छन् भने युक्रेनमा अर्बौं डलर बराबरको भौतिक क्षति भइसकेको छ ।

आर्थिक एवं मानवीय संकट गहिरिँदै गएपछि युद्ध अन्त्यका लागि कुटनीतिक पहलसमेत तीव्र बनिरहेको छ । शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गरी जारी युद्ध अन्त्य गर्न तयार रहेको बताएका थिए । युरोपेली आयोगले पनि चीनलाई मध्यस्थकर्ताको भूमिका निभाउन अपिल गरिसकेको छ ।

तर हालसम्म युद्ध अन्त्‍य हुने कुनै संकेत देखिएको छैन । यस्तो अवस्थामा जारी युद्ध कसरी अन्त्य  होला भनेर विभिन्न अडकलबाजीसमेत हुन थालेका छन् ।

खासगरी पाँचवट परिदृश्यबारे पछिल्लो समय चर्चा हुन थालेको देखिन्छ ।

. सैन्य दलदल

हमलाको सुरुवाती दिनदेखि नै युक्रेनी सेनाले रुसको कडा प्रतिरोध गरेको देखिन्छ । युक्रेनी सेनाको प्रतिरोधका कारण रुसी सेनातर्फ निकै ठूलो भौतिक एवं मानवीय क्षति भएको छ । युक्रेनी सेनाका अनुसार रुसी सेना कुनै पनि मोर्चामा अघि बढ्न सकिरहेको छैन ।

रुसले आफ्नो सेना युक्रेनको तुलनामा कैयौं गुणा शक्तिशाली रहेको दाबी गर्छ र यो कुरा सत्य पनि हो । तर पश्चिमी मुलुकले युक्रेनमा पठाएका ट्याङ्क एवं विमानभेदी मिसाइलका कारण रुसले सोचे जस्तो सफलता हात पार्न सकिरहेको छैन । अमेरिकासहितका मुलुकले युक्रेनलाई थप हतियार दिने बताइसकेका छन् । यस्तो अवस्थामा युद्ध थप लम्बिने र रुस तथा युक्रेन दुबै सैन्य दलदलमा फँस्ने कतिपयको आँकलन छ ।

. शान्ति सम्झौता

रुस र युक्रेनका वार्ताकारले युद्ध सुरु भएदेखि नै आपसमा कुराकानी गरिरहेका छन् । पहिलो चरणको वार्ता बेलारुसको सीमा जनिकै सम्पन्न भएको थियो भने त्यसपछिका वार्ता टर्की र किएभमा भइसकेका छन् । वार्तापछि रुसले मानवीय सहायता मार्ग खोल्न सहमत भइसकेको छ ।

रणभूमिका बढ्दो मानवीय क्षति र पश्चिमी मुलुकको प्रतिबन्धका कारण अर्थतन्त्र धरासायी बन्न थालेपछि रुसभित्रै राष्ट्रपति पुटिनको आलोचना हुन थालेको छ । यसले उनलाई आफ्नो ‘फेस सेभिङ’ गर्दै चाँडो भन्दा चाँडो युद्ध अन्त्य गर्न दबाब दिइरहेको छ ।

गत बुधबार रुसी विदेशमन्त्री सर्गेई ल्याभरोभले युक्रेन पनि स्विडेन र अष्ट्रिया जस्तै तटस्थ बस्ने गरी शान्ति सम्झौता हुन सक्ने संकेत गरेका थिए । जेलेन्स्कीले समेत रुसले युद्ध अन्त्‍य गरे आफूहरू नेटोको सदस्य नबन्ने भनेर पटक-पटक दोहोर्‍याइरहेका छन् । यदि दुबै पक्षले वार्तालाई जारी राख्दै रुसको सुरक्षा चासो सम्बोधन हुने र युक्रेनमाथि भविष्यमा कुनै हमला नहुने ग्यारेन्टी गर्दै शान्ति सम्झौता गर्न सक्छन् ।

. पुटिनको बहिर्गमन

पुटिनले रुसमा आफ्नो पकड मजबुत बनाउँदै गइरहेका छन् । सोभियत संघको पतनपछि कमजोर बनेको रुसको पुनर्रोदयमा उनको सोंच र रणनीतिले ठूलो भूमिका खेलिरहेको छ । तर पछिल्लो समय उनको स्वेच्छाचारी कार्यशैलीका कारण सत्तारुढ ‘इलिट’भित्र दरार पैदा हुन थालेको छ ।

युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि पुटिनको विपक्षमा लाग्ने धनाढ्य र सांसदको संख्या बढ्न थालेको छ । यति बेला रुसका प्रभावशाली कम्पनी र व्यक्तिले पुटिनमाथि चाँडो भन्दा चाँडो युक्रेनसँग युद्धविराम गरी युद्ध अन्त्य दबाब दिइरहेका छन् ।

यदि शक्तिशाली वर्गको कुरा सुनेनन् भने पुटिनप्रतिको असन्तोष थप बढ्न सक्छ । असन्तोष एवं आक्रोश बढ्दै गयो भने यसले जन प्रदर्शनको रुप लिन सक्ने वा पुटिनविरुद्ध उनकै भित्रियाबाट ‘कू’ हुन सक्ने एक खाले विश्लेषण समेत हुन थालेको छ ।

. रुसको जीत

सैन्य हिसाबले हेर्दा रुस महाशक्ति राष्ट्र हो । उसको जल, स्थल र वायु सेना युक्रेनको तुलनामा निकै शक्तिशाली छ । यदि रुसले आफ्नो सबै सैन्य तागत लगायो भने युक्रेनी सेनालाई क्षणभरमा पराजित गर्न सक्ने पश्चिमी मुलुकका रक्षा विज्ञले नै बताइसकेका छन् ।

रुसले आफ्नो सैन्य सामर्थ्यसँगै सिरियाबाट अनुभवप्राप्त भाडाका सैनिक परिचालन गर्ने तयारी गरेको बताइन्छ । निजी सुरक्षा कम्पनी वाग्नर ग्रुपमार्फत् त्यस्ता सैनिक परिचालन गर्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

रुसले आफ्नो सैन्य सामर्थ्य एवं भाडाका विदेशी लडाकुको प्रभावकारी समन्वय गरी युक्रेनको राजधानी किएभ र दक्षिणी बन्दरगाह शहर ओडेसा जस्ता शहरलाई केही दिनमै कब्जामा लिन सक्छ । तर लामो समयसम्म युक्रेनलाई नियन्त्रणमा राखिराख्न रुसलाई चुनौतीपूर्ण बन्ने कुरामा कुनै शंका छैन ।

. युद्ध अन्यत्रसमेत फैलिन सक्ने

रुससँग सीमाना जोडिएका र हाल नेटो गठबन्धनको सदस्य रहेका तीन वटा मुलुक यसअघि सोभियत संघको अंग थिए । पुटिनले बाल्टिक क्षेत्रमा अवस्थित ती मुलुकका रुसी अल्पसंख्यकको सुरक्षा गर्ने बाचा गरिसकेका छन् । यसबाहेक, सोभियत संघको पतनलाई ‘भूराजनीतिक विपत’ भनेर व्याख्या गर्ने पुटिनको भौगोलिक महत्वाकांक्षा कसैबाट छिपेको छैन ।

रुसले इस्टोनिया, लात्भिया र लिथुआनियामाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने भनेर पश्चिमा मुलुकले बेला-बेला चिन्ता व्यक्त गर्दै आएको पाइन्छ । पुटिनले आफ्नो आणविक फौजलाई उच्च सतर्कतामा रहन निर्देशन दिइसकेका छन् भने विदेश मन्त्री ल्याभरोभले तेस्रो विश्व युद्ध आणविक हुने चेतावनी दिइसकेका छन् । । यही भएर पुटिनले नेटोमा आबद्ध बाल्टिक मुलुकमा आक्रमण गरे यसले डरलाग्दो रुप लिने निश्चित प्राय: छ । – एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?