+
+

जीविकाका लागि कठिन श्रम गर्न बाध्य झलारीका मुक्तकमैया

रासस रासस
२०७८ चैत ८ गते १४:५२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० झलारीका वीरेन्द्र चौधरीले मजदुरी नगरे परिवारको खर्च चल्दैन । तीन वर्षदेखि उनले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आएकी थिइन् । लोड अनलोडको कार्य गरेबापत आउने रकमले घर खर्च चल्दै आएको उनी बताउँछिन् ।

‘दैनिक व्यापारीले ट्रकमार्फत ल्याउने सिमेन्ट झार्ने राख्ने कार्य गर्दै आएका छौं,’ उनले भनिन्, ‘यस कार्यमा १० जना संलग्न छौं ।’ सबै पूर्व मुक्तकमैया परिवारका हुन् । आर्थिक रुपमा विपन्न भएकै कारण जीविका चलाउनका लागि युवाले यस्तो कार्य गर्दै आएका छन् ।

‘कुन गाडीमा कति सिमेन्ट आउँछ त्यहींअनुसार कमाइ हुन्छ,’ जितराम चौधरीले भने, ‘औसतमा एक जनाले दैनिक एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म कमाइ गर्दै आएका छौं । सामान नआएका बेला कमाइ हुँदैन ।’ ढुवानीका साधनमा सिमेन्ट राख्दा प्रतिबोरा १० रुपैयाँ पाउने गरेका छन् । झार्दा भने प्रतिबोरा आठ रुपैयाँ मात्रै पाउने गरेका छन् ।

सिमेन्ट सरिया राख्ने झार्ने कार्य गर्नु निकै जोखिमपूर्ण भएकाले श्रमको मूल्य बढाउन माग गर्दै आएपनि व्यापारीले नबढाउँदा थोरै रकममा काम गर्नुपरेको उनीहरुको भनाइ छ । ‘सिमेन्ट लोड अनलोड गर्दा धुलो पूरै नाक, आँखा र मुखभित्र पस्ने गरेको छ । शरीर पूरै धुलोका कारण ढाकिने गरेको छ । यस्तो जोखिम हुँदाहुँदै पनि परिवार पाल्ने अर्को माध्यम नहुँदा यस कार्यलाई निरन्तरता दिंदै आएका छौं ।’

सन्तोष रानाले भने, ‘यस कार्य गरेबापत पाइने पारिश्रमिकले परिवारका लागि आवश्यक पर्ने नुन, तेल, चामल, तरकारी, लत्ताकपडासहित घरको सबै खर्च बेहोर्नुपर्ने हुन्छ । बालबालिकाको विद्यालयको खर्चसमेत यसबाटै चल्ने गरेको छ ।’

जोखिमको कार्य भएपनि व्यापारीले सुरक्षाका साधन उपलब्ध नगराएको उनीहरुको गुनासो छ । उनले भने, ‘आफ्नातर्फबाट मुख छोप्ने, मास्क लगाउने गरेपनि सिमेन्ट मुखभित्र पस्छ । त्यसबाट खोकीलगायत श्वासप्रश्वासको समस्या बेला बखत देखिने गरेको छ । पारिश्रमिकका रुपमा पाइने थोरै कामले सुरक्षाका साधन खरिद गरेर ल्याउने क्षमता पनि छैन,’  उनले भने । थोरै पाइने रकमले पौष्टिक खानेकुराको जोहो मिलाउन नसक्दा धेरैले यस कार्य छाड्दै जान थालेको उनीहरु बताउँछन् । सरिया सिमेन्ट लोड अनलोडको कार्य पहिला भारतीय मजदुरले मात्रै गर्दै आएका थिए ।

त्यस कार्यलाई यहाँका युवाले अपनाउन थालेपछि भारतीय मजदुर विस्थापित भएका छन् । ‘निकै जोखिमको काम छ । मजदुरको सरकारले बीमा गर्ने व्यवस्था गरिदिए यसलाई निरन्तरता दिन सकिन्छ,’ एक युवकले भने ।

झलारीका युवाले आफैंले कोष स्थापना गरी आपतविपत् परेका बेला रकम परिचालन गर्दै आएका छन् । कोषमा उनीहरुले एक लाख रुपैयाँ जम्मा गरेका छन् । बिरामी परे, चोटपटक लागे, घरमा अन्य आकस्मिक कार्य गर्नुपरे कोषबाट निश्चित समयका लागि न्यूनतम ब्याजमा रकम उपलब्ध गराइने गरिएको छ । काम गर्दा बाँड्नबाट बचेको रकम युवाले कोषमा राख्ने गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?