+
+

जब मदनकृष्णले धुलाम्मे सडकमा खाना पकाउन थाले

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते २०:०८

८ चैत, काठमाडौं । चैतको चर्को गर्मी । धुलाम्मे सडक । हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ सडक माझमा बसेका छन्, सानो टुलमा । उनको अघिल्तिर ग्याँस सिलिन्डर छ । नजिकै चुलोमा केही पकाइदैछ । अर्कोतर्फ सुकुलमा केही व्यक्ति बसेका छन् ।

यो कुनै प्रहसनको दृश्य होइन । न कुनै फिल्म-टेलिफिल्म छायांकनको । खासमा मदनकृष्ण श्रेष्ठ लगायत स्थानीयले प्रतिकात्मक विरोध जनाएका हुन्, सडकको दूरावस्थाबारे ।

ललितपुर सुनकोठी सडक खण्डमा उनीहरु यसरी बसेका रहेछन् । भद्रगोल सडकको केही थान फोटो राख्दै मदनकृष्णले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘दिनमा हजारौं गाडी गुड्ने सुनकोठीको बाटो दशौं बर्षदेखि यत्तिकै छ ।

घाममा धुलो बाक्लिँदो, बर्षामा हिलो बाक्लिँदो, सुनाकोठीका जनताहरुको स्वास्थ्यमा रोग बाक्लिँदो, पातलो न पातलो पीच गरेर कत्तिन राम्रो सडक बनाए जस्तो गरी दिनुहुने ठेकेदार महाशयहरुको खल्ती बाक्लो । सबैथोक बाक्लो । सिर्फ पीच मात्र पातलो ।’

दशौं बर्षसम्म पनि उत्तिकै जीर्ण अवस्थामा रहेको सडकले मदनकृष्ण लगायतलाई सडकमा उतारेको रहेछ । कालोपत्रे गर्ने नाममा कमसल ढंगले काम गर्दा स्थानियवासीले हैरानी खेप्नुपरेको उनले उल्लेख गरेका छन् ।

गर्मी याममा धुलाम्मे हुने, बर्षायाममा हिलाम्मे हुने र यसले स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको उनले बताएका छन् । सडक बनाउने नाममा धेरैभन्दा धेरै मुनाफा खोज्ने र गैरजिम्मेवार ढंगले काम गर्ने ठेकेदारी प्रवृत्तिमाथि उनले लेखेका छन्, ‘पैसा त देश बनाएर पनि कमाउन सकिन्छ । देश बिगारेर पैसा कमाउने बुद्धि कहिलेसम्म बाक्लिने हो खै ?’

उक्त सडकमा कालोपत्रे नभएसम्म बाटो बन्द गरिएको भन्दै उनीहरुले सम्बन्धित निकायलाई दबाब दिएका छन् । उक्त सडक कालोपत्रे नभएसम्म बैकल्पिक बाटो प्रयोग गरिदिन हुन भनिएको छ ।

स्थानीयवासीलाई धुलो र धुँवाले हैरान बनाएपछि यसरी सांकेतिक रुपमा बिरोध जनाएका हुन् ।

त्यसो त राजधानीका थुप्रै भित्री सडकको बेहाल छ । कतिपय सडकको कालोपत्रे उप्किएको छ । ठूल–ठूला खाल्डा परेको छ । कतै धुलाम्मे छ । अव्यवस्थित सडकको कारण सोही सडक हुँदै आउजाउ गर्ने सैयौं यात्रु सडकजाम लगायतका सास्ती ब्यहोरिरहेका छन् । सडक दुर्घटनामा पनि अव्यवस्थित सडक कारक बन्ने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?