+
+

मधेशमा माओवादी केन्द्रको गुटगत लडाइँ चर्को

गुटगत विवादकै कारण २५ मंसिरमा उद्घाटन भएको प्रदेश सम्मेलनबाट नयाँ नेतृत्व बन्न सकेको छैन । आफ्ना मान्छे मात्रै समितिमा पार्नुपर्ने गुटगत होडले लामो समयसम्म प्रदेश समिति नै बन्न सकेको छैन । अन्य प्रदेशले पूर्णता पाएर स्थानीय चुनावका लागि कमाण्ड समेत बनाइसकेको अवस्थामा मधेश प्रदेशले त्यो गरेको छैन ।

रामकुमार डिसी रामकुमार डिसी
२०७८ चैत ९ गते १९:४७

९ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीका क्रममा माओवादी केन्द्रले मधेस प्रदेशको प्रशिक्षण मंगलबार धनुषाको तिरहुतिया बरगाछिमा राखेको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका शीर्ष नेताहरु उपस्थित प्रशिक्षण कार्यक्रममा नेता मातृका यादव भने देखिएनन् । आफ्नै गृह जिल्लामा आयोजना भएको प्रदेशस्तरीय प्रशिक्षणमा यादवको उपस्थितिले मधेस प्रदेशमा चलिरहेको गुटगत लडाइँ पुनः सतहमा आएको छ ।

आफूलाई स्वागत र विदाई गर्न विमानस्थलमा पुगेका यादव प्रशिक्षण कार्यक्रममा भने अनुपस्थित भएकोमा प्रचण्ड स्वयंले असन्तुष्टि जनाएका थिए । यादव भने आफ्नो जिम्मेवारी केही नभएकाले प्रशिक्षणमा नगएको बताउँछन् । ‘मेरो जिम्मेवारी केही थिएन, जिम्मेवारी केही नभएकाले आफ्नै काममा लागेँ,’ उनले भने, ‘अध्यक्ष कमरेडलाई चाहिँ स्वागत गएको थिएँ, विदाइ पनि गरेँ ।’

गुटको लडाइँ

माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र अर्का नेता नाराणकाजी श्रेष्ठको नेतृत्वको दुई समूह छ । प्रचण्ड समूहमा रहेका प्रभावशाली नेताहरुको पनि आफ्नै गुट छ ।

मदेश प्रदेशमा भने अलि पृथक आयाम छ । नेता श्रेष्ठ र मातृका यादव समूहको शक्ति संघर्ष असहिष्णु खालको छ । एकले अर्काको अस्तित्व नै स्वीकार गर्दैनन् ।

यादव, प्रचण्डले जनयुद्ध लडेकालाई पाखा पारेर अरुलाई च्यापेको र श्रेष्ठ समूहलाई अनावश्यक भाग दिइरहेको ठान्छन् । हालै भएको केन्द्रीय सदस्य नियुक्तिबारे पनि यादवले असन्तुष्टि जनाएका छन् । माओवादीबाट प्रदेश समितिमा ९ जना थप्दा आफूसँग परामर्श नगरी सबै श्रेष्ठ समूहबाट थपेको भन्दै यादवले पार्टी केन्द्रमा लिखित असन्तुष्टि समेत दर्ता गराएका छन् ।

यादवको अर्को असन्तुष्टि नेता कार्यकर्ता समायोजनमा छ । तत्कालीन नेकपा माओवादीले श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँग एकता गरेसँगै यादव असन्तुष्ट भएर छुट्टै पार्टी गठन गरेका थिए । नेकपा माओवादीलाई ब्यूँताएका यादव २०७३ जेठमा पुनः माओवादीको मुलधारमै फर्किएका थिए । तर आफ्ना पक्षमा नेता कार्यकर्ताको समायोजन हुन नसकेको यादवको गुनासो छ ।

श्रेष्ठ समूह भने यादवले जातीय राजनीति गर्न खोजेको र युद्ध लडेर आएका बाहेकको अस्तित्व स्वीकार गर्न नखोजेको आरोप लगाउँछ । ‘उहाँमा जातिवादी सोच छ,’ श्रेष्ठ समूहका एक नेता भन्छन्, ‘एकताबाट आएकाहरुलाई पोजेटिभली हेर्नुहुन्न । जनयुद्धका पक्षधर एकजुट हुनुपर्छ भन्नुहुन्छ । हिजो ४० को दशकमा भएका मतभेदहरु छन्, तिनै मतभेदको पछि–पछि कुद्नुहुन्छ ।’

दुबै समूह पार्टीको मधेस प्रदेशमा हाबी हुन चाहन्छ । श्रेष्ठ समूहका नेता गिरिराजमणि पोखरेलको महोत्तरीमा राम्रो प्रभाव छ । उनले त्यहाँबाट लगातार चुनाव जित्दै आएका छन् । तत्कालीन कम्युनिष्ट नेता निर्मल लामाको समेत प्रभाव क्षेत्र भएकाले श्रेष्ठ पनि त्यहाँ निरन्तर गइरहन्छन्, जुन यादव रुचाउँदैनन् ।

श्रेष्ठ र यादव समूहले झगडाले प्रचण्ड सकसमा छन् । दुवै समूहलाई मिलाउन गाह्रो भएपछि उनले मधेश प्रदेशको नेतृत्व समेत मध्यमार्गी नेतालाई सुम्पिएका छन् । नेकपा संयुक्तबाट आएका नेता गणेश साह माओवादीको मधेश प्रदेश इन्चार्ज हुन् । यादव आफू मधेश प्रदेशको इन्चार्ज हुन चाहन्छन् । अर्को पक्षले स्वीकार नगर्ने भएकाले प्रचण्डले उनलाई जिम्मेवारी दिएनन्, जसलाई इंगित गर्दै यादवले आफूले जिम्मेवारी नपाएको टिप्पणी गरेका हुन् ।

मध्यमार्गी मानिएका नेता साह आफूले दुवै पक्षबीचमा ट्राफिक जस्तो भएर काम गरिरहेको बताउँछन् । ‘पार्टीमा म ट्राफिक पुलिस जस्तै हो,’ साह भन्छन्, ‘गाडी राम्ररी चल्यो भने राम्ररी सिठ्ठी बजाएर पठाइदिन्छु । जाम भयो भने समय अनुसार चिया र चिसो खाएर बसिदिन्छु । गाडी जब आफैं विस्तारै बाटो लिन थाल्छन्, त्यतिखेर म आउँछु । सबैको असन्तुष्टि सम्बोधन गरिरहन्छु ।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य श्रवण यादव भने ‘सबैलाई लखेटेर आफू राजा बन्ने’ प्रवृत्ति केही नेतामा देखिएको बताउँछन् । ‘जुनसुकै पार्टीको वामपन्थी होस्, जो–जो यो पार्टीमा आउन खोजेका छन्, सबैलाई लखेटर आफैं राजा बन्ने प्रवृत्ति केही नेतामा देखिएको छ,’ तत्कालीन मधेश प्रदेश समितिका सचिवसमेत रहेका यादवले भने, ‘माओवादी पार्टीमा जुन अराजकता भइरहेको छ, त्यसमा लगाम र अंकुश अध्यक्ष प्रचण्डले लगाउनुपर्छ ।’

प्रदेश समिति निर्माणमा समेत कठिनाइ

गुटगत विवादकै कारण २५ मंसिरमा उद्घाटन भएको प्रदेश सम्मेलनबाट नयाँ नेतृत्व बन्न सकेको छैन ।

आफ्ना मान्छे मात्रै समितिमा पार्नुपर्ने गुटगत होडले लामो समयसम्म प्रदेश समिति नै बन्न सकेको छैन । अन्य प्रदेशले पूर्णता पाएर स्थानीय चुनावका लागि कमाण्ड समेत बनाइसकेको अवस्थामा मधेश प्रदेशले त्यो गरेको छैन ।

प्रदेश इन्चार्ज साह १५ गते हुने बैठकमा प्रदेश समिति गठन गरेर पदाधिकारी समेत टुंग्याउने कोशिश हुने बताउँछन् । ‘प्रदेश समितिले पूर्णता पाएको छैन,’ साहले भने, ‘अब १५ गते सबै टुंग्याउने गरी लागेका छौं ।’

सालिकको विवाद

माओवादी सशस्त्र विद्रोहमा केन्द्रीय नेतृत्वबाट शहीद हुनेहरुमा रामवृक्ष यादव पनि एक हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकुहरुलाई समायोजना प्रक्रियाका लागि अस्थायी शिविरमा राखिएको थियो । जसमध्ये एउटा बिग्रेड महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ११ को खैरमारामा रहेको थियो ।

बिग्रेडको नामकरण पनि रामवृक्ष यादवकै नाममा गरिएको थियो भने यादवको सालिक राखिएको थियो । लडाकू समायोजन सकिएपछि यादवको सालिक संरक्षणविहीन भयो । तत्कालीन नेकपा सरकारमा पोखरेल शिक्षामन्त्री भएपछि उनले आफ्नो क्षेत्रमा एउटा बहुप्राविधिक शिक्षालय बनाउने आयोजना लगे ।

लडाकु शिविर बसेकै स्थानमा निर्मल लामा बहुप्राविधिक शिक्षालय बनाउने गरी काम अगाडि बढाइयो । निर्माणका क्रममा उक्त क्षेत्रमा लथालिङ्ग रहेको यादवको सालिक हटाइयो । गत पुसमा बसेको माओवादी केन्द्रको आठौं महाधिवेशनमा रामवृक्षको त्यही सालिक हटाएको विषयले विवाद भएको थियो ।

महाधिवेशनमा प्रदेश २ बाट समूहको रिपोर्टिङ गर्ने क्रममा सत्यनारायण भगतले रामवृक्ष यादवको सालिक हटाएको विषयमा कुरा उठाएका थिए । उनले तत्कालीन शिक्षामन्त्री एवं माओवादी नेता गिरिराजमणि पोखरेलले सालिक हटाएर ‘राजनीतिक अपराध’ गरेको आरोप लगाएपछि यसले विवाद भएको थियो ।

आफूलाई गम्भीर आरोप लगाएपछि पोखरेल पक्षका नेताहरुले शब्द फिर्ता नलिएसम्म बन्दसत्र चल्न नदिने चेतावनी दिएका थिए । विवाद बढ्दै गएपछि नेता कृष्णबहादुर महराले पहल गरेर भगतले बोलेको शब्द फिर्ता लिन लगाएपछि पोखरेल बन्दसत्रमा सहभागी भएका थिए ।

यो विषयलाई गत फागुन २० मा बसेको केन्द्रीय समिति बैठकको एजेन्डा बनाइएको थियो । तर त्यसमाथि कुनै निर्णय भएन । श्रेष्ठ समूहका नेताहरु सहमतिमै उक्त सालिक हटाइएको भएपनि अहिले अनावश्यक रुपमा विषय उठाइएको बताउँछन् । ‘रामवृक्ष यादव धनुषाको हो, उहाँलाई जन्मस्थलमै स्थापित गर्ने ढंगले सोचिएको थियो,’ श्रेष्ठनिकट एक नेताले भने, ‘त्यसमा सबैको सहमति थियो, तर त्यही कुरालाई महाधिवेशनमा फरक ढंगले अतिरञ्जित गरियो ।’

यादव समूहका नेताहले रामवृक्षको साटो निर्मल लामालाई स्थापित गर्न खोजेको अर्थ लगाउँछन् ।

एमालेले उठाउन सक्छ फाइदा

२०७४ को चुनावी नतिजा अनुसार नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेशमा हाराहारी शक्ति हुन् ।

प्रदेशभर एमालेले समानुपातिकतर्फ पाएको मत माओवादीको भन्दा केही बढी भए पनि स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिधि धेरै माअ‍ोवादीतर्फ निर्वाचित भएका थिए । एमालेले मधेश प्रदेशमा कुल २ लाख ४९ हजार ७ सय ३४ मत पाएको थियो । माओवादी केन्द्रले १ लाख ८२ हजार ६ सय १९ मत पाएको थियो । यो एमालेले पाएको भन्दा ६७ हजार १ सय १५ हो ।

स्थानीय जनप्रतिनिधि एमालेले भन्दा धेरै माओवादीले जितेको थियो । एमालेले माओवादीले १८ पालिका प्रमुख/अध्यक्ष जित्दा माओवादीले २१ प्रमुख जितेको थियो । त्यस्तै एमालेले १९ उपप्रमुख/उपाध्यक्ष जित्दा माओवादीले २४ उपप्रमुख/उपाध्यक्ष जितेको थियो । त्यस्तै एमालेले २३० वडाध्यक्ष जित्दा माओवादीले २३१ वडाध्यक्ष जितेको थियो ।

२०७४ को प्रदेश र संघीय चुनावमा भने एमाले र माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेका थिए । प्रतिनिधिसभा सदस्यको सिट बाँडफाँट गर्दा एमालेले १३ र माओवादीले १७ उम्मेदवार पायो । एमालेका रघुवीर महासेठ र लिलानाथ श्रेष्ठ मात्रै निर्वाचित हुँदा माओवादी केन्द्रबाट भने पाँच जनाले चुनाव जितेका थिए । माओवादीबाट गिरिराजमणि पोखरेल, मात्रिका यादव, सुरेशचन्द्र दास, प्रभु साह र रामेश्वर राय यादवले जितेका थिए ।

तर दुवै पार्टीको अवस्था २०७४ को जस्तो छैन । एमाले विभाजित भएको छ, बहुमत प्रदेश सांसद एकीकृत समाजवादीतिर गएका छन् । मधेशमा राम्रो पडक भएका नेता प्रभु साह लगायतका माओवादीका केही नेताले एमालेमा छन् ।

एमालले पछिल्लो समय मधेश प्रदेशमा पार्टी प्रवेश अभियान आक्राम रुपमा चलाएको छ । हालै मात्रै वीरगञ्जका मेयर विजय सरावगी जसपा त्यागेर एमाले प्रवेश गरेका छन् । माओवादीका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरिरहेका छन् ।

माओवादीभित्रको जारी गुटगत लडाइँ नरोकिए यसको फाइँदा एमालेले उठाउन सक्छ । मधेश मामिलाका विश्लेषक तुलानारायण साहले ‘कोर मधेश’मा कमजोर एमालेले कार्यकर्ता प्रवेश गराउने ‘भ्याकेन्सी’ खोलेकाले त्यसको ज्यादा असर माओवादी केन्द्र, जसपा र लोसपाहरुलाई पर्ने आँकलन गर्छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?