+
+

केपी ओलीका अपराधहरु लिएर जनतामाझ जानुपर्छ : माधव नेपाल

अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पर्न बताए । उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १९:२२

९ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरुको साहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् ।

बुधवार काठमाडौंमा भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् ।

उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताए ।

‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफ्नो शक्ति बलियो भयो भने मात्र अरुसँगको तालमेलको कुनै अर्थ रहन्छ । अरुको सहारमा चुनाव जित्ने कुरा नसोच्नुहोस् । हाम्रो शक्तिको जगमा उभिएर नै अरुको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ ।’ उनले भने, ‘स्थिति कमजोर छ भने अनावश्यक रुपमा दावा गर्ने काम पनि गर्नु हुँदैन । फेस मूल्यांकन गर्नुपर्छ । लोकप्रिय व्यक्ति चाहिन्छ । पार्टीको नीतिहरु दरोसँग अवलम्वन गरेर अघि बढ्ने मान्छे चाहिन्छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गरे । उनले अध्यक्ष ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताए ।

अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पर्न बताए । उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए ।

उनले भने, ‘केपी ओलीका अपराधहरु के के हुन् ? जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ । भ्रष्टाचारसँग जोडिएका, राष्ट्रघातसँग जोडिएका, जनबिरोधी कामसँग जोडिएका, अनुचित कामसँग जोडिएका, कम्युनिष्टहरुको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका । एउटा कुरा त हामीले बुझेका छौँ, केपी ओली झुटो बोल्न माहिर छन् । उनले जे पनि भनिदिन सक्छन् ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए । उनले आफूले त्यसको बिरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताए । अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारिता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘मतका लागि जनताको बहुदलीय जनवाद भन्ने काममा ठिक व्यक्तिवादी अहंकार र अधिनायकवाद लाँद्ने, यो चरित्र कम्युनिष्ट चरित्रसँग मेल खाँदैन । त्यसैले केपी ओलीको विचारमा क्रान्तिकारिता छैन । सिद्धान्तप्रति निष्ठा, सिद्धान्त छैन । त्यसैले उनको प्रवृति दक्षिणपन्थी अवसरवाद हो ।’

अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए । उनले केपी ओली १४ वर्षसम्म जेल बसेको र १४ वर्षपछि केन्द्रिय कमिटीमा आएको भन्दै फुर्ति नदेखाउन चेतावनी दिए । अध्यक्ष नेपालले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताए ।

फरक प्रसंगमा अध्यक्ष नेपालले नेपालको नेपालको शिक्षा, स्वास्थ्य लगायतका धेरै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए । उनले जनतालाई रोजगारी, सीपप्रदान गर्ने लगायतका नीति तर्जुमा गर्न आवश्यक रहेको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘यो जम्मैमा परिवर्तन आवश्यक छ । शिक्षा प्रणालीमा परिवर्तन गर्नु जरुरी छ । स्वास्थ्यनीतिमा परिवर्तन गर्न जरुरी छ । जनतालाई रोजगारी प्रदान गर्ने कुरामा, सीप सिकाउने कुरामा, यावत नीतिहरु तर्जुमा गर्नुपर्ने आवश्यक्ता छ । समस्यामा परेका गरिबीले पिल्सिएका जनतालाई सेवा सुविधा पुर्‍याउनु पर्ने कुरामा ध्यान दिन आवश्यकता छ ।’

अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिष्पर्धा गरेमात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताए । उनले ओलीको घमण्डलाई चक्नाचुर पार्ने कुरामा नेपाली काँग्रेस पनि सहमत रहेको बताए ।

अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?