+
+

मान्छेको विकृत मनोवृत्ति र युद्ध

कृष्णप्रसाद सुवेदी कृष्णप्रसाद सुवेदी
२०७८ चैत १० गते १२:१३

तानाशाह जोसेफ स्टालिनको मृत्युपछि निकिता ख्रुश्चेभ सोभियत संघका राष्ट्रपति भए । ख्रुश्चेभले एक दिन आमसभामा भाषण गर्दै भने– स्टालिनको निरङ्कुशता र क्रूरताको कारण रूसी कम्युनिष्ट पार्टीलाई धेरै क्षति भयो ।

दर्शकदीर्घाबाट एक श्रोताले कराउँदै भने– तिमी स्टालिनका समकालीन हौ । सँगै काम गर्दैथियौ । तर, स्टालिन भइन्जेल केही भनेनौ । अहिले स्टालिन छैनन्, अनि उसको विरोध गर्दैछौ !

ख्रुश्चेभले भने– को बोल्दै हुनुहुन्छ ? कृपया उठ्नुहोस् त । बोल्नेको अनुहार हेरौं । तर, ती व्यक्ति उठेनन् । आफ्नो नाम पनि बताएनन् । गुपचुप रहे । ख्रुस्चेभले भने– तिमी अहिले किन चुप बस्यौ ? हो, तिमी अहिले चुप भएजस्तै त्यसबेला मैले चुप लाग्नु परेको थियो ।

पहिलो विश्वयुद्धमा करिब पाँच करोड मानिस मारिएका थिए । दोस्रो विश्वयुद्धमा मारिने संख्या दश करोड पुग्यो । पहिलो विश्वयुद्ध भन्दा दोस्रो विश्वयुद्धमा धनजनको ठूलो नोक्सानी भएको थियो ।

दोस्रो विश्वयुद्ध पछि तेस्रो विश्वयुद्ध भएको छैन । तथापि देश–देश बीच भने युद्ध भइरहेकै छ । बहुराष्ट्रहरू मिलेर एउटा देशमाथि आक्रमण गरेका छन् । युद्ध निरन्तर छ ।

न्यूयोर्क टाइम्सको २००३ मा प्रकाशित एक सामग्रीका अनुसार मानव इतिहासको तीन हजार ४०० वर्षको दौरानमा केवल २६८ वर्ष मात्र युद्ध भएन । शान्त रह्यो । तर वास्तविकता के हो भने त्यो २६८ वर्षमा पनि शान्ति थिएन बरु युद्धको तयारीमा लागेको हुनुपर्दछ ।

मानव इतिहासमा जति युद्ध भए, ती सबै युद्ध शान्तिको लागि भनेर भएका छन् । शान्तिको रक्षाका लागि युद्ध जरूरी भन्दै लडिएका छन् । नेपोलियन हुन् या मुसोलिनी; हिटलर हुन् या स्टालिन ।

माओत्सेतुङ हुन् या सद्दाम हुसेन, विश्वका सबै तानाशाहले जति युद्ध लडे, ती सबै शान्तिको नाममा नै लडेका थिए । राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको शान्ति र अमनचयनका लागि भनेर युक्रेनमाथि बीभत्स हमला गरिरहेका छन् ।

अस्पताल तथा सर्वसाधारणका घरमा बम हानिरहेका छन् । लड्नु छ युद्ध, मच्चाउनु छ अशान्ति, सृजना गर्नु छ वितण्डता । तर, बहाना चाहिएको छ शान्तिको ! गजब छ दुनियाँ !

हामी सबै मनुष्यको विकृत मनोवृत्ति यस्तै छ । एक मनुष्य अर्को मनुष्यको विनाश भएको हेर्न लालायित छ । मनुष्यको जस्तो मनोदशा छ, त्यस्तै मनोदशा नेताको छ, देशको छ ।

नेता किन युद्ध चाहन्छन् ? मानिस किन युद्धमा होमिन्छ ? हिटलरले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्– ‘प्रत्येक युद्धले महान् नेता जन्माउने गर्दछ । यदि तिम्रो देशको कोही शत्रु छैन भने झुट नै सही एउटा शत्रु खडा गर । जबसम्म तिम्रो देशका विरुद्ध शत्रु खडा गर्दैनौ तबसम्म तिमी महान् नेता बन्न सक्दैनौ ।

महान नेता बन्न युद्धको भूमिका जरूरी पर्दछ । साँच्चीको दुश्मन भएमा अति उत्तम, छैन भने झुटै दुश्मन भए पनि खडा गर । दुश्मन भएमा डर, भय पैदा हुन्छ । त्रसित जनता मात्र नेताको पछि लाग्दछन् । भयभीत जनता युद्धमा होमिन्छन् ।’

शान्तिकालमा निरंकुश व्यक्ति नेता बन्न सक्दैन । निरंकुश शासकले भन्न त शान्ति स्थापना गर्ने हो भन्दै शान्तिको प्रतीक परेवा पनि उडाउँछन् । तर यथार्थ अर्कै हुन्छ । शान्ति देखाउनका लागि मात्र हो । भित्री मनमा अशान्तिको कामना हुन्छ । युद्ध नहुँदा तानाशाही नेताको कुनै महत्व रहँदैन । राजनीति जालझेल, हिंसा तथा प्रतिहिंसामा टिकेको हुन्छ ।

राजनीति टिकाउनु छ भने अर्को देशलाई शत्रु करार गर । युद्ध भड्काऊ । त्यसो गर्न सकेनौ भने देशभित्र भए पनि शत्रु खडा गर । हिंसात्मक द्वन्द्व भड्काऊ । जनता–जनताबीच भिडाउन सकेनौ भने आफ्नै पार्टीभित्र भए पनि द्वन्द्व चर्काऊ ।

द्वन्द्वमा खेल । तिम्रो नेतागिरी चलाऊ । सत्ता टिकाऊ । तानाशाहीलाई सत्ता टिकाउन युद्धको सहारा चाहिन्छ । रूसका राष्ट्रपति पुटिनले युक्रेनमा आक्रमण गर्नुको कारण यही नै हो ।

हामी सबै मनुष्यको विकृत मनोवृत्ति यस्तै छ । एक मनुष्य अर्को मनुष्यको विनाश भएको हेर्न लालायित छ । मनुष्यको जस्तो मनोदशा छ, त्यस्तै मनोदशा नेताको छ, देशको छ । एक देश अर्को देशको नक्सा मेटाउन तयार छ । भूगोल नामेट पार्न तम्तयार छ । अर्को देशको विनाशका लागि आतुर छ ।

आतुरता अर्काको देशको विनाशमा हैन, आफ्नो देशको समृद्धिका लागि हुनुपर्ने हो । समग्र प्राणीको जीवन बाँच्नको लागि हुनुपर्ने हो । आतुरता सुखमय तथा आनन्दको जीवन बाँच्ने अभिलाषाको लागि हुनपर्ने हो । अरूलाई निमिट्यान्न पार्न खोज्दा बरू आफू सकिन तथा आफ्नो देश नष्ट गर्न तयार हुने धुन्धुकारी सोचको विकास मान्छेमा कसरी हुनगयो ?

युद्ध जुनसुकै बहानामा गरिए पनि युद्धले ल्याउने भनेको क्रूरता नै हो । बर्बरता हो । दुःख हो । पीडा हो । हिंसा हो र अन्ततः ल्याउने भनेकै अशान्ति हो । मानिसले आफूलाई सृष्टिको सबैभन्दा सुन्दर तथा चेतनशील प्राणी भन्दछ ।

सबैभन्दा विवेकशील, बुद्धिमान प्राणी हो भन्ने ठान्दछ । तर यस्तो हिंस्रक व्यवहार किन देखाउँदछ ! यस धर्तीमा मनुष्यको लागि अन्य प्राणीबाट कुनै खतरा छैन । यदि खतरा छ भने केवल मानिसबाट मात्रै छ । मानिसबाट केवल मानिसको लागि मात्र खतरा छैन, अरू प्राणीको लागि पनि खतरा छ ।

प्राणीको लागि मात्र हैन मानिसको उपद्रोका कारण यस धर्तीमातालाई पनि खतरा छ । यस पृथ्वीमा यदि मानिस नहुँदो हो त पृथ्वी साँच्चिकै सुन्दर, शान्त हुने थिइन् ।

सवाल के हो भने मानिसले इतिहासबाट सिक्दै अघि बढ्ने हो न कि इतिहासको गल्तीलाई दोहोर्‍याउने । शान्ति केवल समझदारीबाट प्राप्त हुन्छ, समझदारीमा फस्टाउँछ । जबरजस्ती थोपर्दैमा शान्ति किमार्थ आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?