
१० चैत, काठमाडौं । नेपालभाषा टाइम्सको आयोजनामा पाँच वर्षदेखि हुँदै आएको नेपालभाषा साहित्य महोत्सव कीर्तिपुरमा हुने भएको छ ।
कोरोना महामारीका कारण अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन । शुक्रबार र शनिबार हुने महोत्सवमा जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार मल्ल के सुन्दरलगायतको उपस्थिति रहनेछ । महोत्सवमा सातवटा सेसन सन्चालन हुनेछ ।
आ-आफ्नो स्थानीय तहमा नेपालभाषा अनिवार्य गरेकोमा काठमाडौं, ललितपुर र कीर्तिपुर नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरिने कार्यक्रम छ ।
महोत्सवको पहिलो दिन पहिलो सेसनमा उद्घाटनसँगै पुस्तक विमोचन समारोह हुने । कीर्तिपुर न्याम्हसिमास्थित नेपालभाषा एकेडेमीको हलमा हुने कार्यक्रममा पाँचवटा पुस्तकको लोकार्पण हुनेछ ।
पूर्णराम मुनकर्मीको निवन्ध नेवाः गौरव, महाकवि गिरिजाप्रसाद जोशीको उपन्यास संकलन गिरिजाप्रसादया उपज्यास, रामभक्त कायस्थकको हाइकु संकलन लखय् लूगु किचः, स्नेह सायमीको लघुकथा संकलन स्नेह साय्मिया चिबाखं र राजेन्द्र कुमार ‘पुता’को सांस्कृति उपन्यास खिउँफाल्चा लोकार्पण हुन लागेको हो ।
महोत्सवको दोस्रो दिन कीर्तिपुरको ऐतिहासिक स्थल पांगा लाछिमा कार्यक्रम हुनेछ । पांगाको सम्पदा भ्रमण गरी सुरु हुने कार्यक्रममा ‘कीर्तिपुरको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना’ र ‘नेपालभाषा पठनपाठनबाट हुने साहित्य विकास’ विषयमा अन्तक्रिया हुनेछ ।
नेपालभाषाको सांगीतिक प्रस्तुति, नाटक, एकांकी र स्ट्यान्डअप कमेडी पनि प्रस्तुत हुनेछ । महोत्सव अवधिभर नेपालभाषका पुस्तक प्रदर्शनी तथा नेवाः परिकारसहित खानाको स्टल रहनेछ ।
प्रतिक्रिया 4