+
+

प्रशिक्षक पुवुदुले भने : टिम निर्माण हुँदैछ

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत १० गते २०:१८

१० चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दासानायकेले आफू सशक्त टिम निर्माणको प्रक्रियामा रहेको बताएका छन् ।

एक महिनाको अन्तरालमा टी–२० विश्वकप छनोटको असफलता र विश्वकप लिग टूमा टिमको व्याटिङ प्रदर्शनको आलोचनाबीच पपुवा न्यूगिनीसँग घरेलु मैदानमा हुन लागेको श्रृङ्खलाअघि प्रशिक्षक पुवुदुले युवा र क्षमतावान खेलाडीलाई अवसर दिँदै टिम निर्माणको चरणमा रहेको बताएका हुन् ।

‘हामी लिग टू बाहेक धेरैभन्दा धेरै खेल खेल्न चाहन्छौं । स्तरीय खेलसँगै युवा खेलाडीलाई अवसर दिन चाहन्छौं,’ शुक्रबारदेखि सुरु हुने पीएनजीसँगको एकदिवशीय शृङ्खलाअघिको पत्रकार सम्मेलनमा पुवुदुले भने, ‘हामी टिम बिल्डिङ फेजमा छौं । मुख्य प्रतियोगितामा अघि यो महत्वपूर्ण हुनेछ । युवा क्षमतावान खेलाडीहरु टिममा छन् । हामी यो सिरिजका लागि तयार छौं । म कोचको रुपमा योभन्दा बढी माग्न सक्दिन ।’

सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षण गरिसकेका पुवुदु दोस्रो कार्यकालका लागि दुई महिनाअघि नियुक्त भएका हुन् । नेपाली टोली बुधबारबाटै विश्वकप लिग टूको त्रिकोणात्मक श्रृङ्खला खेलेर युएईबाट स्वदेश फर्किएको हो । पुवुदुले नेपालमा क्रिकेटको माहोल अन्य देशभन्दा फरक रहेको बताए । साथै क्रिकेटलाई माया गर्ने थुप्रै समर्थकलाई धन्यवादसमेत दिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले पनि यस्ता श्रृङ्खला लामो यात्राका लागि महत्वपूर्ण आधार हुने बताए । ‘क्रिकेट संघलाई धन्यवाद भन्न चाहन्छु । यस्तो श्रृङ्खलाले नयाँ खेलाडीलाई अवसर दिनेछ । लामो यात्राका लागि आधार हुनेछ,’ पत्रकार सम्मेलनमा सन्दीपले भने ।

विश्वकप लिग टू अन्तर्गत गत साता सम्पन्न युएई र पीएनजी सम्मिलित श्रृङ्खलाअन्तर्गत नेपालले दुवै खेलमा पीएनजीलाई पराजित गरेको थियो । युएईसँगको दुवै खेल हारेको थियो । युएईको श्रृङ्खला सम्पन्न गरी पीएनजी टिम पनि बुधबारै नेपाल आएको हो ।

त्रिवि मैदानमा नेपाल र पीएनजीबीच शुक्रबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । यी दुई टोली शनिवार पनि खेल्नेछन् । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सोमबारदेखि नेपाल, पीएनजी र मलेसिया सम्मिलिति टी२० अन्तर्राष्ट्रिय श्रृंखला कीर्तिपुरमै हुनेछ । जहाँ पहिलो खेलमा नेपालले पीएनजीसँगै खेल्नेछ । टी–२० श्रृङ्खलामा हरेक टिमले एक अर्कासँग दुई–दुई खेल खेल्नेछन् ।

पछिल्लो एक महिना लगातार क्रिकेट खेल्दै आएको नेपालले घरेलु मैदानमा दुई वर्षपछि एकदिवशीय शृंखला लागेको हो । नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा कीर्तिपुरमा नेपाल, ओमान र अमेरिका सम्मिलित लिग टू को श्रृङ्खला खेलेको थियो ।

पीएनजीका प्रशिक्षक कार्लले दुई देशीय श्रृङ्खला आयोजनाका लागि क्रिकेट संघलाई धन्यबाद दिए । उनले भने, ‘एसोसिएट देशका लागि दुईपक्षीय प्रतिस्पर्धा महत्वपूर्ण हुन्छ । हामी राम्रो क्रिकेटको प्रतीक्षामा छौं । खेलाडीहरु उत्साहित छन्,’ उनले भने । पीएनजीका कप्तान असद भालाले पनि श्रृङ्खलाका लागि उत्साहित रहेको बताए ।

नेपाल क्रिकेट संघ क्यानले पहिलोपल्ट दुई देशीय शृंखला आयोजना गरेको कार्यबाहक सचिव प्रशान्त मल्लले जानकारी दिए । दुवै श्रृङ्खलालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको उनले जानकारी दिए ।

दुई श्रृङ्खलाका लागि करिव डेढ करोड खर्च लाग्ने क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए । एकदिवशीय शृंखलाको प्लेयर अफ द म्याचलाई १५० डलर र प्लेयर अफ द सिरिजलाई ३०० डलर पुरस्कार दिइनेछ । टी–२० श्रृङ्खलातर्फ प्लेयर अफ द म्याचले १०० डलर र प्लेयर अफ द सिरिजले ५०० डलर पुरस्कार पाउनेछन् । त्रिकोणात्मक टी–२० श्रृङ्खलाका लागि मलेसियाको टोली शनिबार नेपाल आउनेछ ।

दुवै श्रृङ्खलाका लागि ब्राण्डिङ र प्रमोसनको अधिकार शान्वी होल्डिङ्सले पाएको छ । दुवै पक्षले सम्झौता रकम खुलाउन चाहेनन् । शान्वीका प्रतिनिधि रोशन धितालले १५ दिनदेखि तयारी गरी अन्तर्राष्ट्रिय प्रायोजन ल्याउन सफल भएको बताए । यो एकदिवशीय शृंखलाका लागि डाफा न्युजले मुख्य प्रायोजन गरेको छ । धितालका अनुसार एक दिवशीय श्रृङ्खलाका खेलहरु त्रिवि मैदानमा गएर खेल हेर्नका लागि १५० रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ । आईएमई पेमार्फत टिकट खरिद गर्न सकिनेछ । टी–२० का लागि भने टिकट मूल्य निर्धारण गरिएको छैन ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?