+
+

नागरिकता दिनेले मधेसी नागरिकलाई चिन्दैन : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते २०:३०

१० चैत, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता दिने कुर्सीमा बस्ने व्यक्तिले आफ्नो देशको नागरिक नै चिन्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार वीरगञ्जमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले नागरिकताको कुरा आउनेवित्तिकै मधेसतिर औंला उठाउने गरिएको तर नागरिकता दिने कुर्सीमा बस्नेको अनुहार नहेरिएको बताए ।

‘नागरिकता मधेसको मात्रै होइन, सबैको सवाल हो । नागरिकताको मुद्धा उठ्दा मधेसतिर औंला उठाउने गरिन्छ । मधेसमा लाइन लाग्छ रे’ उनले भने, ‘मैले संसदमा पनि भनेको छु । मधेसमा लाइन लाग्छ भने कुर्सीमा को बस्छ ? जसले नागरिकता दिन्छ । उनीहरु आफ्नो देशको नागरिक चिन्दैनन् । कुर्सीमा बस्ने त मधेसी हुँदैन ।’

संविधानले नागरिकताको अधिकार दिए पनि संघीय कानुन बमोजिम भनेका कारण समस्या परेको उनले बताए । ‘संविधानमा त अधिकार दिएको छ । तर ‘संघीय कानुन बमोजिम नागरिकता दिइनेछ’ भनेर लेखियो’, उनले भने, ‘तर संघले अझैसम्म कुनै कानुन बनाउन सकेको छैन । समितिमा अड्किएको छ । संसदमा छलफलका लागि पेश नै भएको छैन । यसको कारण नागरिकता वितरण रोकिएको छ ।’

संविधानमा अनेक त्रुटि रहेका कारण आफूहरुले पूर्ण रुपमा स्वीकार नगरेको अध्यक्ष ठाकुरले बताए । ऐतिहासिक रुपमा बहिर्गमनमा परेका, उपेक्षित भएका, सहभागिता र निर्णयमा अलग राखिएकाको अधिकारका लागि आफूहरुले अझै संघर्ष जारी राखेको उनको भनाइ छ ।

‘केही सफलता मिलेको छ । तर अझैपनि संघर्षरत छौं । हाम्रा मानिसहरु शान्तिपूर्ण आन्दोलन गर्दा जेल परेका छन् । उनीहरु माथि विभिन्न किसिमको मुद्धा लगाइएको छ’ उनले भने ‘पूर्वमन्त्री तारिख धाइरहेका छन् । कैलालीको टीकापुरबाट निर्वाचित सांसद रेशम चौधरी अझै जेलमा छन् । सर्वोच्च अदालतमा उनको मुद्धा चलिरहेको छ ।’

तत्कालिन सुशील कोइराला लगायत सबै प्रधानमन्त्रीले मधेस आन्दोलनमा लागेकाहरुको मुद्धा फिर्ता लिने भनेपनि कार्यान्वयन नभएको अध्यक्ष ठाकुरले गुनासो गरे ।

‘जति पनि प्रधानमन्त्री बनेका छन् । सुशील कोइराला त बितिसक्नुभयो । दुई कुरामा सम्झौता भयो । सबै मुद्धा फिर्ता लिइन्छ, राजबन्दी जो जेलमा छन् । उनीहरुलाई छोडिनेछ भनियो’ अध्यक्ष ठाकुर भन्छन्, ‘तर अझैपनि मधेस आन्दोलनसँग सम्बन्धित मानिसहरु माथि मुद्धा छ । कतिपय लुकिछिपी बोर्डर क्रस गरेर आउँछन् । इष्टमित्र आफन्त मिलेर जान्छन् । केही अझै पनि बाहिरै बसेका छन् ।’

मधेसमा भय आतंकको वातावरण रहेको भन्दै उनले आफूहरु भय र आतंकबाट मुक्ति पाउन संघर्षरत रहेको बताए । ‘अझैपनि मधेस आतंकबाट मुक्त छैन । यी सबै कुराका लागि संघर्ष जारी छ । भेटघाट गरेर सत्तामा रहेकाहरुलाई सम्झाउने गरेका छौं, अहिलेको प्रधानमन्त्रीलाई पनि प्रधानमन्त्री बन्नुअघि सबै मुद्धा फिर्ता लिन्छु भन्नुभएको थियो । कार्यान्वयन गर्नुभएको छैन’ उनले भने ।

नेता राजेन्द्र महतो, अनिलकुमार झा, शरद सिंह भण्डारी समेतको उपस्थितिमा वीरगञ्जमा पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाका १ सय भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको लोसपा महानगर कमिटी अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?