+
+

स्थानीय तह निर्वाचनको तयारीका लागि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 शेखर पक्षले असन्तुष्टि पोख्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते ७:३५

११ चैत , काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन बैठक बस्न लागेको हो ।

उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन,  निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा बैठकमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ।  उम्मेदवार तय गरिसक्नु समयमा  संसदीय समिति गठन गर्न बैठक बोलाइएको छ ।

चार तहले संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था छ  । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ ।

केन्द्रीय संसदीय समितिमा सभापति, महामन्त्री स्वतः सदस्य हुन्छन् भने पदाधिकारीहरू पदेन सदस्य हुन्छन् । सभापतिले समावेशिताको आधारमा केन्द्रीय सदस्यबाट ११ जना संसदीय समितिमा मनोनीत गर्ने व्यवस्था छ । महानगर प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई छ ।

उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला संसदीय समितिले गर्नुपर्दछ । प्रतिनिधि सभा क्षेत्र संसदीय समितिले देशभरका ६ हजार ७४३ वडाका अध्यक्ष र सदस्यको उम्मेवारको निर्णय गर्ने अधिकार विधानले अधिकार दिएको छ ।

कांग्रेस संस्थापनइतर पक्षले विधान अनुसार टिकट वितरणको अधिकार सबन्धित संरचनालाई दिनुपर्ने तर्क राख्दै आएको छ ।  डा शेखर कोइराला पक्षका नेता गुरुराज घिमिरेले भने ,’ विधानले चार तहको संसदीय समितिले टिकट बाँड्ने अधिकार दिएको छ । तलका तहले विधान अनुसार उम्मेदवार छान्न पाउनुपर्दछ।’

बैठकमा सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा पनि छलफल हुनेछ । सभापति शेरबहादुर देउवा पक्ष चुनावी तालमेलको पक्षमा छ । नेता शेखर पक्ष देशभर घोषित तालमेल गर्न नहुनेमा अडिग छ । ‘ हामी एक्लै चुनाव लड्न सक्षम छौं । तालमेल गर्नु नै परे तल्लो पार्टी संरचनाले त्यहाँको आवश्यकता अनुसार निर्णय लिन्छ । माथिबाट निर्णय लाद्न हुँदैन,’ नेता घिमिरे भन्छन् ।

सभापति देउवाले अर्को पक्षसँग परामर्श नगरी भ्रातृ संस्थाको नेतृत्व चयन गरेको भन्दै शेखर समूह रुष्ट बनेको छ । उक्त विषयलाई पनि शेखर पक्षले बैठकमा उठाउने भएको छ । नेपाल विद्यार्थी संघको अध्यक्ष दुजाङ शेर्पा र तरुण दलको अध्यक्ष विद्वान गुरुङ मनोनीत गर्दा सभापतिले परामर्श नगरेको शेखर पक्षको दाबी छ ।

केन्द्रीय कार्यालय सानेपामा २ बजेदेखि बोलाइएको वैठक अघि शेखर पक्षका विद्यार्थीले विरोध प्रदर्शनसमेत गर्ने भएका छन् । नेविसंघको पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानाले भनिन्, ‘ सभापतिले विना परामर्श एक पक्षीय रूपमा नेविसंघको अध्यक्ष मनोनीत गर्नुभएको छ । एकलौटी निर्णयको विरोधमा प्रदर्शन गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?