+
+

यसरी पनि अब समाज चल्छ र ?

डा.अच्युत शाली घिमिरे डा.अच्युत शाली घिमिरे
२०७८ चैत ११ गते १३:२४

आखिर हाम्रो समाजमा किन छ त बुढेसकालमा पाल्ने बेलामा र दाहसंस्कारमा छोरा नै चाहिने चलन ? के छोरीको अस्तित्व नै त्यति कमजोर सावित गरिएको हो र ? वा छोरीहरूले किरिया बस्दैमा स्वर्ग नतरिने पौराणिक कहानीहरूमा बल पुगेको हो ? नौलो वैज्ञानिक समाजवादको युगमा समेत हामी पुरातन सोच र मानसिकताका साथ किन बाँचिरहेका छौं त ? सबैले सोच्नुपर्ने विषय भएको छ।

समाजको सोचहरू विस्तारै परिवर्तन हुनु जरुरी छ। आकाशतिर हेरेर गर्भमा छोरा माग्ने र छोरी भए खिन्न हुने बानी त्याग्नुपर्छ। मेरो मामाघरतिरकी हजुरआमाको छोरा हुनुहुन्थेन। मेरी आमा जेठी छोरी भएकाले हामीले सँगै राखेर पाल्यौं। छोरीको घर बसेर खानु परेको भन्दै सधैं विलौना गर्नुहुन्थ्यो। मामाघर कास्की हो। सकुन्जेल कहिल्यै पनि हाम्रो घर अर्थात् भोर्लेटार (लमजुङ) आएर बस्न मान्नुभएन।

हामी आफैं हजुरआमालाई भेट्न जान्थ्यौं। खानेकुराहरू पुर्‍याउँथ्यौं। एक्लै नीरस जीवन हजुरआमाले सकुन्जेल स्यास्त्रीमै बिताउनुभयो। हजुरआमालाई बेलैमा टाठो हुँदा छोरीको घर आउन रोक्ने मूल कारण भनेकै पुरातन सोच र मानसिकता नै हो। अझ समाज र धर्म संस्कारले के भन्छ भन्नेमा समेत हजुरआमा निकै पिरलोमा पर्नुहुन्थ्यो।

पछि लामो समयसम्म हामीसँग बस्दा पनि स्यास्त्री नै फर्की–फर्की जानुहुन्थ्यो। मन त्यति रमाएको थिएन हजुरआमाको। छोरा नभएको र बुढेसकालमा छोरीको शरण पर्नुपरेकोमा हजुरआमाको अन्तर्ध्वनि रोइरहेको थियो।

हामीले थोरै त्यो महसुस गर्न सक्थ्यौं। जति नै माया र सेवासुविधा छोराले दिने भन्दा बढी आमाले हजुरआमालाई दिए पनि त्यो सन्तुष्टि कहिल्यै पुगेन जस्तो देखिनुहुन्थ्यो हजुरआमा। यसले पनि देखाउँछ समाजको ऐना। छोरामा ईश्वरको रूप देख्ने उदाहरण अझै जीवित छ कुनाकन्दरामा।

पछि हजुरआमा बित्नुभयो र दाहसंस्कार पनि आमाले नै गर्नुभयो। किरिया पनि आमा र सानिमा नै बस्नुभयो। कुरा काट्नेले भित्रभित्रै काटे होलान् त छोरा जस्तै छोरीहरू पनि सक्षम छन् भन्ने कुरा आमाले सबैलाई देखाएर छाड्नुभयो।

हुन सक्छ हजुरआमाको चाहना आफ्नै छोरा नभएकाले जेठाजुका छोराहरूले दागबत्ती दिउन् भन्ने थियो होला तर पालनपोषण गर्न सक्षम हुने छोरी दाहसंस्कार गर्न कसरी अक्षम हुन सक्छन् र ? भन्दै आफैं अग्रसर हुनुभयो ।

सायद यस्तै खालको परिवर्तन आजको समाजले खोजिरहेको छ। मनोवैज्ञानिक रूपमा नै छोरीको भावनालाई हल्का रूपमा लिनुहुँदैन। अचेलका छोरीहरू भावनामा रसाउने मात्र होइन प्रेरणायुक्त क्रियाहरू समेत जागृत गर्न सफल छन्।

एक्लै नीरस जीवन हजुरआमाले सकुन्जेल स्यास्त्रीमै बिताउनुभयो। हजुरआमालाई बेलैमा टाठो हुँदा छोरीको घर आउन रोक्ने मूल कारण भनेकै पुरातन सोच र मानसिकता नै हो।

उनीहरूको क्षमतालाई पुरुषसँग तुलना गरेर घोषित रूपमै घटाउनु निन्दनीय छ। जुन संरक्षक शक्ति बनेर आमाबुवाको आदर गर्न सिक्ने छोरीहरू छन् उनीहरूको त्यही हिसाबमा कदर गर्नुपर्छ।

धर्म र आस्थाका आधारमा मात्र संसार हाँक्न सकिंदैन। धेरै हदसम्म छोरीकै साथ सहयोगको खाँचो पर्न सक्छ। छोरा जन्मिँदा भाले काट्ने र छोरी जन्मिँदा जन्मिदा अँध्यारो मुख लाउने नियतिको अन्त्य हुनु जरुरी छ।

म हाल सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको पनि दुर्गम भेग कोल्टीमा चिकित्सकको रूपमा कार्यरत छु। यहाँ छोराको चाहनामा बच्चा निरन्तर पाइराखेर आफ्नो स्वास्थ्य नै प्रतिकूल बनाएका आमाहरू धेरै छन्। लगातार सातदेखि एघार जनासम्म छोरीछोरी पाउँदा समेत छोरा पाउने धीत मरेको हुँदैन।

छोरा पाएपछि बुढेसकालमा आराम मिल्ने र मरेपछि स्वर्ग जाने बाटो खुल्ने नाटीकुटी र अन्धविश्वासमा आमाहरू लगातार सानै उमेरमा बच्चा जन्माइरहन्छन्। यसकै कारणले पाठेघर खस्ने, ढाड दुख्ने तथा सेतो पानी बग्ने समस्या लिएर स्वास्थ्य केन्द्र आइपुगेका हुन्छन्।

यसैबाट प्रष्ट हुन्छ कि विवेक र विज्ञानको आँखाले हार खाइरहँदा पनि कसरी छोराप्रति गहिरो विश्वास लिएर बाँचेको हुन्छन् आमाहरू र हाम्रो समाज।

जिउँदो हुँदा समेत छोराकै सहारा खोज्ने र मरिसकेपछि पनि छोराले नै दागबत्ती गरिदेयोस् भन्ने कामनाले कसरी समतामूलक सृष्टि चल्छ ? छोरीहरूमा आफू पनि परिवार वा समाजको हिस्सा हुँ भन्ने भाव जागृत गर्न समेत सामाजिक रीतिरिवाज, पारिवारिक दायित्व र जन्मेदेखि नमरुन्जेलसम्म हुने अष्ट संस्कारहरूमा नारीहरूलाई समान सहभागिता दिनुपर्छ।

लैंगिक विभेदको जरोलाई तोड्न समेत नारीहरूलाई शारीरिक र जन्मकै आधारमा कमजोर मानेर त्यही अनुसार समाजका फर्मूलाहरू निर्माण गर्न बन्द गरिनुपर्छ। हरेक घरहरूमा विद्रोह चेतहरू जन्मिनुपर्ने आवश्यकता छ। मलामी जाने, दाहसंस्कार गर्ने, किरिया बस्ने मात्र होइन हरेक चाडपर्व र चलनचल्तीहरूमा आफ्नो हक नारीहरूले खोज्नुपर्छ।

महिनावारीमा छुट्टै बस्नुपर्ने अझ त्यही बेला धार्मिक कार्य परे त सरिक नै हुन नपाउने जस्ता बन्धनहरूबाट समेत मुक्तिको खोजी हुनुपर्छ। के नारीहरूले वेद पाठ गर्न सक्दैनन्? के नारीहरूले गायत्री मन्त्र भन्न सक्दैनन्? के नारीहरूले एकादशीमा तुलसी रोप्न सक्दैनन्? यो कदापि होइन।

पुरुषहरू भन्दा बढ्ता सक्छन् र सकिरहेका छन्। तर पूर्व परिभाषित व्याख्याहरूमा टेकेर नारीहरू पँधेरो धाउन, भात पकाउन, जुठा भाँडा माझ्न, सन्तान जन्माउन मात्र जन्मिएका हुन् भनेर सोचिनु पितृसत्ताको दास मानसिकता मात्र हो। कथित यी नियमहरूलाई तोड्दै हलो जोत्नेदेखि लिएर धुरी छाउनेसम्मका साहसिक कार्यमा समेत नारीहरू अगाडि बढ्नुपर्ने देखिन्छ।

छोरा नभएकाहरूले हीनताबोध होइन छोरीले पाल्न र मरेपछि समेत दागबत्ती दिन सकेकोमा गर्व गर्न सक्नुपर्छ। छोराले हेला गरेपछि मात्र हैन आफूलाई राम्रो हुने हिसाबमा छोरीसँगै बसेर बुढेसकाल काट्ने हिम्मत समेत राख्नुपर्छ। छोरा नपाउँदैमा केही बिग्रिंदैन तर छोरालाई जस्तै व्यवहार र समानता छोरीलाई दिन सकिएन भने यो सृष्टिले नै धिक्कार्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?