+
+

खेलाडी बन्ने सपना पूरा गर्न ‘फुड डेलिभरी’ गरिरहेकी वन्दना

अंगद सिंह अंगद सिंह
२०७८ चैत १४ गते १९:५६

१४ चैत, काठमाडौं । काठमाडौंको धुँवा-धुलो अनि चर्को घाममा दिनभर डुलिरहन मन छैन वन्दनालाई । तर आफ्नो सपना पूरा गर्न र बाध्यताबाट पार पाउन धुँवा-धुलो र घाम-पानीको पर्वाह नगरी काठमाडौंका गल्ली चहारिरहेकी छन् ।

आफ्नो सपनाका लागि उनको मेहनत फिक्का लाग्छ वन्दना राईलाई । रहर पूरा गर्न जिन्दगीमा कहीं न कतै कम्परमाइज गर्नै पर्छ जस्तो लाग्छ । ‘म रहरका खातिर लागिरहेकी भएपनि सपना पूरा गर्न अझै धेरै दौडिन बाँकी छ । वन्दना भन्छिन्, ‘मेरो खेलाडी बन्ने सपनाका लागि म जे नि गर्न तयार छु ।’

मनमा खेलाडी बन्ने सपनालाई बोकेर दौडिरहेकी छन्, इलामको देउमाई नगरपालिका-५ की वन्दना । उनी पठाओको फुड डेलिभर गर्लका रुपमा काम गर्छिन् ।

पुरुषले मात्र नभई महिलाले पनि पुरुषसरह सबै काम गर्न सक्छन् भन्ने गतिलो उदाहरण पेस गरेकी छन् वन्दनाले ।

विहान मर्निङ वाकमा दौडिनेबाहेक उनको अधिकांश समय बाइकमा नै बित्छ । त्यसैले एक घण्टा उनले मर्निङ वाकका लागि छुट्याएकी छन् । बिहानको तीन-चार घण्टा कलेजका लागि पनि छुट्याएकी छन् ।

बिहान १० बजेदेखि बेलुका नौ बजेसम्म उनी फुड डेलिभरीको काममा खटिन्छिन् । नक्साल, चावहिल, ठमेल, बानेश्वर, ज्ञानेश्वर, न्युरोड र कोटेश्वर उनका मुख्य जक्सन हुन् । यिनै ठाउँबाट उनी धेरैजसो अर्डर लिएर ग्राहकको ढोकासम्म पुग्छिन् ।

पहाडी जिल्ला इलाममा जन्मेकी वन्दनालाई सुरुमा सहरिया परिकारका विषयमा ज्ञान थिएन । ‘गाउँमा चाउमिन, मःमः, चाउचाउको नाम सुनेकी थिएँ, खाएकी थिएँ । तर यहाँ आएपछि त नामसम्म नसुनेका पिज्जा, बर्गर जस्ता अनेक  परिकार डेलिभरी गरें, जसको नामसम्म उच्चारण गर्न समस्या भयो,’ हाँस्दै उनले सुनाइन् ।

साइकल समेत चलाएकी थिइनन्, एकैचोटि बाइकमा

इलाममा हुँदा उनले साइकल समेत चलाएकी थिइनन् । काठमाडौं आएर दिनमा १०-११ घण्टासम्म बाइक चलाउँदा हात–खुट्टा र शरीर निकै दुख्यो । एक दिन फुड डेलिभरी गरेपछि उनी दुई दिनसम्म काममा गइनन् । कारण, उनलाई निकै थकान महसुस भएको थियो । बाइक नै चलाउन नसक्ने अवस्थामा उनी पुगेकी थिइन् ।

तर पछि बिस्तारै बानी पर्दै गएपछि उनी कामलाई निरन्तरता दिन थालिन् । कामलाई रहरसँग जोड्न थालेपछि भने वन्दनालाई गाह्रो भएन ।

इलामबाट प्लस टु पढ्न काठमाडौ आएकी वन्दनाले पढाइ खर्च जुटाउनका लागि होटलमा सानीआमा र फूपुलाई सघाइन् र सँगै मार्केटिङको पनि काम गरिन् । प्लस टु पढ्दा सानो चिया पसलमा आफन्तलाई सघाएर मार्केटिङको काम गरेर खर्च जोहो गरिन् भने अहिले उनी पठाओमा काम गरेर पढाइ खर्च जुटाइरहेकी छन् ।

चार महिना भयो राईले पठाओमा फुड डेलिभर गर्लका रुपमा काम गरेको । अहिले उनी सन्तुष्ट र खुसी छिन् । कक्षा १० सम्म गाउँकै डम्बरदेवी उच्च माध्यमिक विद्यालयमा पढेकी वन्दना प्लस टु पढ्न भन्दै काठमाडौं आइन् । गाउँमा स्कुल पढ्दा उनी स्कुलमा विभिन्न दौड तथा रिले दौड प्रतियोगिामा भाग लिन्थिन् ।

स्कुलमा उनी दौडिन सक्ने छात्रामा गनिन्थिन् वन्दना । ‘स्कुल पढ्दादेखि नै मलाई दौड खुब मन पथ्र्यो । मलाई ठूलो भएपछि खेलाडी बन्छु भन्ने थियो । मेरो दौडप्रतिको लगावलाई अहिले मूर्त रुप दिन खोजिरहेकी छु,’ उनी भन्छिन् ।

वन्दनाले शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसबाट प्लस टु उत्तीर्ण गरिन् । सोही क्याम्पसमा हाल उनी स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । पठाओमा फ्रिल्यान्सरका रुपमा काम गर्छिन् । आफ्नो काम पर्दा कार्यालयलाई जानकारी गराएर बिदा बस्छिन् ।

चिनेजानेका एक जनाले पठाओमा फुड डेलिभरीमा काम छ, गर्दा हुन्छ भनेपछि आफ्नै खुट्टामा उभिनका लागि उनी यसतर्फ आकर्षित भएकी हुन् । अहिले उनी मासिक ३०-३५ हजार रुपैयाँ कमाउँछिन् ।

पठाओमा काम गर्ने निश्चित भएपछि उनले दाजुभाइसँग बाइक किन्न सहयोग मागिन् । विदेशमा रहेका दाजुले बाइक किन्नमा सहयोग गरेपछि उनको काम गर्ने बाटो खुल्यो । केही आफूले काम गरेको पैसा र केही दाजुले पठाएको पैसा मिलाएर उनले बाइक किनिन् र फुड डेलिभर गर्लको रुपमा काम गरिन् ।

सपना पूरा गरेरै छाड्ने अठोट

काम गर्दैगर्दा आफ्नो सपना पनि उनले बिर्सिएकी छैनन् । वन्दना बिहान दौडनका लागि दशरथ रंगशाला पुग्छिन् । अहिले गाउँबाट बिरामी भएर आमा पनि काठमाडौं आएकी छन् । उनलाई बेलाबेला अस्पताल पुर्‍याउनुपर्छ । जसका कारण उनको प्रशिक्षण तथा कलेज बिथोलिएको छ ।

‘आमा बिरामी भएका कारण अस्पताल लैजाने र हेरचाह गर्नुपर्ने भएकाले प्रशिक्षणमा जान नपाएपनि आफैं प्रयास गरिरहेकी छु,’ उनी भन्छिन् ।’

गाउँमा स्कुल जाँदा राईले करिब एक–डेढ घण्टा उकालो हिंड्नुपर्थ्यो । बिहान एक भारी घाँस काटेर स्कुल पुग्दा जहिल्यै ढिलो हुन्थ्यो । हतारहतारमा एक भारी घाँस काटेर खाना खाएर उनी स्कुल दौडिन्थिन् । तर जति हतार गरेपनि नदौडिएर समयमा स्कुल पुग्दिनथिइन् ।

‘समयमा स्कुल पुग्न उकालो भएपनि दौडिनैपर्ने हुन्थ्यो,’ उनी भन्छिन्, ‘स्कुुल जाँदा हतारहतारमा दौडिने बानीले गर्दा दौडप्रति आकर्षण बढ्यो जसको प्रभाव अहिलेसम्म छ ।’

वन्दनाले काठमाडौं तथा काठमाडौं बाहिर हुने विभिन्न दौड प्रतियोगितामा भाग लिइसकेकी छन् । स्वयम्भूमा हुने दौड, दशरथ रंगशालामा हुने विभिन्न दौड, हरेक वर्ष नुवाकोटमा हुने झिल्टुङ क्रस कन्ट्री दौड तथा धरानमा हुने दौडमा उनले सहभागिता जनाइसकेकी छन् ।

सहभागी भएका प्रतियोगितामा कुनैमा प्रथम कुनैमा तेस्रो र कुनैमा उत्कृष्ट १० मा पर्न सफल भएकी छन् । वन्दनाको एथलेटिक्समा मात्रै रुचि छैन, उनी तेक्वान्दोको ब्ल्याक बेल्ट पनि हुन् ।

प्लस टु पढ्न भन्दै काठमाडौ आएपछि उनले दशरथ रंगशालामा एक दिन सेतो ड्रेसमा कराते खेलिरहेको देखिन् । चिटिक्क परेको सेतो ड्रेसले उनको मन छोयो र उनले घरमा तेक्वान्दो खेल्ने चाहना राखिन् । तर आमाबुबाले मानेनन् । तेक्वान्दोमा जोखिम हुने भएकाले उनलाई घरपरिवारले अन्य खेल खेल्न सुझाव दियो । ‘बाआमाले बरु अन्य खेल खेल । छोरी मान्छेले तेक्वान्दो खेल्नु हुँदैन जोखिम हुन्छ । यो राम्रो खेल होइन भन्नुहुन्थ्यो । तर मैले मेरो मन र आँखामा गढेर बसेको तेक्वान्दो नखेली बस्न सकिनँ,’ उनी भन्छिन् ।

अहिले उनलाई तेक्वान्दो खलेर ठिकै गरेछु जस्तो लाग्छ । कारण उनी आवश्यक परे केही हदसम्म आफ्नो सुरक्षा आफैं गर्न सक्छिन् ।

गाउँमै आधा जिन्दगी बिताएका आमाबुबालाई तेक्वान्दोबारे थाहा थिएन । वर्षौंदेखि उनीहरुले गर्दै आएको काम नै कृषि थियो । खेलबारे अनविज्ञ राईका आमाबुबाले तेक्वान्दो नखेल यो खेलेर के काम ? भन्नुको कारण नै खेलबारे थाहा नपाउनु थियो ।

उनको चाहना त बरु आफूले एक छाक कम खाएर पनि छोरीले काठमाडौं गएर पढोेस् । सरकारी जागिर खाओस् भन्ने थियो ।

फुड डेलिभरी गर्दा राति अलि गाह्रो

पठाओमा काम गरेको चार महिना भइसक्दासम्म राईले काममा अप्ठ्यारो महसुस गरेकी छैनन् । तर काठमाडौं राति नौ बजे नै सुनसान भइसक्ने हुँदा केही डर भने उनलाई लाग्छ । त्यसैले राति नौ बजे पछाडि उनी काम गर्दिनन् ।

काठमाडौंमा अत्यधिक ट्राफिक जाम हुने हुँदा कहिलेकाहीं ग्राहकसम्म पुग्न समय लाग्छ । समय लाग्दा परिकार चिसो भइसक्छ । चिसो भएपछि ग्राहकले रिसाएर थर्काउने गरेको पनि उनी सुनाउँछिन् ।

ग्राहक रिसाएर थर्काउँदा वन्दना ‘सरी’ भन्छिन् । फेरि ग्राहकले ‘सरी’ भनेर हुन्छ र भन्छन् । यस्ता कुराले भने कहिलेकाहीं वन्दनाको मन अमिलो हुन्छ । तर उनीसँग माफी माग्नुको विकल्प हुँदैन ।

कुनै पनि काम सानो र ठूलो नहुने भएकाले काम गरेर खान लाज मान्न नहुने उनको बुझाइ छ । पठाओको फुड डेलिभर गर्लका रुपमा काम गर्दा पढाइ खर्चका साथै आफ्नो सपना पूरा गर्न थप हौसला मिलेको उनी बताउँछिन् ।

‘काम गर्न लाज सरम हटाउनुपर्छ । काम गरेर कोही सानो ठूलो हुँदैन । कामका पछि बाध्यता मात्रै नभई सपना पनि जोडिएको हुन्छ,’ उनी भन्छिन् ।

यतिका समय भइसक्दा पनि आफू डेलिभर गर्लका रुपमा काम गर्छु भनेर वन्दनाले आमाबुबालाई भने सुनाएकी छैनन् । दाजुभाइ, दिदीबहिनी र भाउजूलाई भने थाहा छ । यस्तै नजिकका साथीबाहेक अरुलाई पनि उनले थाहा दिएकी छैनन् । तर थाहा पाएकाहरुले वन्दनालाई राम्रो काम गरिरहेको भन्दै हौसला दिइरहन्छन् ।

पठाओ नेपालका अनुसार फुड डेलिभरका रुपमा अहिले १० जना महिला काम गरिरहेका छन् । जसमा आठ जनाले स्कुटर र दुई जनाले बाइक प्रयोग गरिरहेका छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?