
१४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गरेकोमा असन्तुष्ट युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन वहिष्कार गर्ने निर्णय गरेको थियो । त्यसप्रति असन्तुष्ट युवाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नयाँ मोर्चाको घोषणा गरेका हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा संयुक्त समाजवादी मोर्चाको घोषणा गरिएको छ ।
पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरी वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको संयुक्त समाजवादी मोर्चाका अध्यक्ष भण्डारीले बताए ।
‘अहिलेको वहिष्कार कार्यक्रमबाट हामी कहाँ पुग्छौँ ? यसले के नतिजा दिन्छ ? यसले जुन नतिजा दिन्छ त्यो नतिजा पछाडी थप हाम्रा कार्यक्रमहरु के हुने हुन् ? यो कुनै कुरामा स्पष्टता नदेखाइकन नेतृत्वले जुन हठात किसिमले वहिष्कारको निर्णय गर्यो हाम्रो यसमा चित्त बुझेन’, उनले भने ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तत्कालिन माओवादी पार्टीबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको भन्दै उनले मोहन वैद्यको नेतृत्वमा समाजवादी क्रान्ति पुरा गर्न सम्भव नभएको पनि बताए ।
‘मोहन वैद्यको क्षमताबाट अब अगाडी बढ्न सम्भव छैन । अब समाजवादी क्रान्ति गर्ने भनेर हामीले भनिरहेका छौँ । त्यो समाजवादमा पुग्ने लक्ष्यका निम्ति मोहन वैद्य लगायतको नेतृत्वको क्षमता बाधक बन्न पुग्यो’, उनले भने ‘त्यसकारणले गर्दाखेरि हामीले विद्रोहको आँट ग¥यौं ।’
उनले नवगठित मोर्चाले ३० वैशाखको स्थानीय तहको निर्वाचनमा भाग लिने बताए । तत्काल आफूहरुको मोर्चा निर्वाचन आयोगमा दर्ता हुन नसक्ने भएकाले अन्य पार्टीको निर्वाचन चिन्हमार्फत् निर्वाचनमा जाने अध्यक्ष भण्डारीले स्पष्ट पारे । मोर्चाले १५ दिन भित्रमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ ।
प्रतिक्रिया 4