+
+

नेपाली महिलाले बनाए कृषि समस्या समाधान गर्न एआईमा आधारित सफ्टवेयर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १८:५३

१४ चैत, काठमाडौं ।  नेपाली महिलाहरुको एक समूहले कृषि समस्या समाधानका लागि नेपालमै पहिलो पटक एआईमा आधारित सफ्टवेयर बनाएका छन् ।

सूचना प्रविधिमार्फत् कृषि व्यवसायलाई सहज बनाउने उद्देश्यसहित महिला विकास समितिअन्तर्गतको सक्रिय महिला प्राविधिकहरुको समूह ‘इम्प्याक्टर्स’ले एआईमा आधारित सफ्टवेयर तयार पारेका हुन् । उक्त समूहको नेतृत्व सूचना प्रविधि विज्ञ लचना हाडाले गरेकी छिन् भने उनलाई १६ जना प्राविधिकहरुले साथ दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महिला विकास समाजले सूचना प्रविधिमार्फत् कृषि व्यवसायलाई सहज बनाउने डिभाइस (आर्टिफिसियल इन्टेलिजेन्स(एआई) ‘साथी’ सार्वजनिक गरिएको हो ।

यस डिभाइसले नेपालका किसानहरुले खेतीपाती कार्यक्रममा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इण्टेलिजेन्स–एआई) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउनेछ ।

महिला विकास समाजकी संयोजक लचना हाडाले परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण कमजोर बन्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरूत्थान गर्न तथा किसानलाई सूचना प्रविधि उपलब्ध गराउन सो प्रविधि उपयोगी हुने दाबी गरिन् ।

उनका अनुसार यस डिभाइसबाट अब किसानले आफ्नो बारीको माटोको गुणस्तर, बालीनाली परीक्षणको नतिजा पाउन प्रयोगशाला धाउनुपर्ने बाध्यता हट्ने भएको छ । यो डिभाइस हाल एन्ड्रोइटमा उपलब्ध रहेपनि चाँडै नै आईओएसमा उपलब्ध हुने उनले बताइन् ।

उनले यो डिभाइसले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान गर्ने र धान, मकै, गहुँ, केरा, आलु, गोलभेंडा, जुट र कफिलगायतका २३ किसिमका बालीमा लागेको रोगको पहिचान पनि गर्ने बताइन् ।

यो सञ्चालनका लागि इन्टरनेट तथा क्लाउड पूर्वाधार नचाहिने भएकोले पनि हरेक किसानले यसलाई प्रयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?