+
+

बसाइँसराइले रित्तिंदै गाउँघर : झाडी भए आँगन र पिंढी

रासस रासस
२०७८ चैत १५ गते १३:३६
प्रतीकात्मक तस्वीर

गलेश्वर । ढुंगाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आँगन र कठवार लगाइएका पिंढी । घरनजिकै पानीको धारा, वरिपरि खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आँखैमा ठोक्किन आउँछन् कि जस्ता देखिने हिमशृंखला ।

चारैतिर हरियाली । अजिंगरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगंगा गाउँपालिका-४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगर जातिको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिंदै गएको छ ।

गुजुम्म परेको बस्तीमा रहेका एक सय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् ।  आँगन र पिंढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ । दर्मिजा मात्रै होइन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको संख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।

संघीयताको मर्मअनुसार विकेन्द्रीकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडक हुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालय गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छ । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिस घट्दै गएका छन् ।

विकास थपिंदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण बनेका छन् । जनसंख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको रघुगंगा गाउँपालिका-४ का वडासदस्य समेत रहेका दर्मिजाका अगुवा धनबहादुर गर्बुजाले बताए ।

२०६८ सालमा एक घर परिवारभित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजामा ३.६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।

‘बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण संकलन धेरै भएको छ,’ उनले भने । खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहरबजारमा धेरै रहेको उनको भनाइ छ ।

पूर्वप्रमुख सापकोटाले भनेजस्तै जिल्लाका ६ वटै स्थानीय तहमा समेत २०७८ सालको जनगणना अनुसार जनसंख्यामा कमी आएको देखिन्छ । जनगणना कार्यालय म्याग्दीले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतसहित तेस्रो मुलुकमा म्याग्दीबाट विदेशिनेको कुल संख्या १० हजार ७१३ रहेको छ । तीमध्ये ८ हजार ८४३ पुरुष र एक हजार ८७० महिला रहेको छ । ९५.८७ लैंगिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कुल जनसंख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसंख्याको अन्तर घट्दो रहेको छ ।

श्रीमान वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसंख्या पातलिंदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताए । ‘पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा ६/७ जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्ध बुबाआमा मात्र भेटिन्छन्,’ उनले भने, ‘घर संरक्षणको अभावमा खाली हँुदा खेतबारी बाँझोमा परिणत भएका छन् ।’

संघीय व्यवस्था लागु भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइमा आकर्षित गर्ने नसकेको अवस्थामा नयाँ जनसंख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको पूर्वक्याम्पस प्रमुख थापाको भनाइ छ । बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमा समेत विद्यार्थीको संख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ । ‘युवा विदेशमा छन्, अशक्त वृद्धवृद्धाको सेवा गर्नेको समेत कमी छ,’ बेनी नगरपालिका-२ ज्यामरुककोटका वडाअध्यक्ष हीराबहादुर थापाले भने ।

उनले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरेपनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहरबजार र विदेश जाने गरेको बताए । बसाइँसराइका कारण गाउँबस्ती पातलिंदै जान थालेपछि बिरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाइ छ । २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजा अनुसार एक लाख सात हजार ३७२ जना रहेको छ ।

हराउँदै गयो गाउँलेपन

एक दशक अघिसम्म म्याग्दीका गाउँघरमा वरपर, तल माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस टन्न हुन्थे, निकै रमाइलो थियो । चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गथ्र्यो । दशैंको सराय नाच हेर्न होस् वा तीजको मेला हेर्न, तिहारमा देउसीभैलो खेल्न वा भजनकीर्तन कुनै पनि मेला महोत्सवमा धेरै मानिसको उपस्थिति हुने गर्दथ्यो । कुनै पनि चाडपर्व आउँदा भने मनमा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।

कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष उमंग नहोस् । गाउँमा मेलापात गर्दा होस् वा गाईबाख्रा चराउन वन जंगलमा जाँदा तिजु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् वा हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गर्दथ्यो । तर आजभोलि ती सबै कुरा इतिहास बनेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?