+
+

धवलागिरि गाउँपालिकाका बासिन्दाले चन्दा उठाएर किने डोजर

म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका बासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन् ।

रासस रासस
२०७८ चैत १५ गते १४:३६

१५ चैत, म्‍याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका बासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पुर्‍याउन गुर्जा विकास मञ्चको पहलमा चन्दा सङ्कलन गरेर चुरेन कन्ट्रक्सन प्रालिको नाममा डोजर किनेका हुन् ।

मञ्चका सचिव प्रेम छन्त्यालले कम्पनीले खरिद गरेको डोजर परिचालन गरेर धवलागिरि गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ हुँदै गुर्जा जोड्ने सडक अन्तर्गत महतला भिरमा मार्ग खोलिएको बताए ।

‘स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले सडक निर्माणका लागि चन्दा सङ्कलन गरेर डोजर किनेका हौँ,’ उनले भने, ‘हालसम्म करिब रु ७०÷७५ लाख सङ्कलन जुटिसकेको छ ।’ गुर्जा घर भई हाल पोखरामा बस्नुहुने भारतीय गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन लालबहादुर छन्त्यालको अध्यक्षतामा रहेको मञ्चले सडक निर्माणका लागि आर्थिक स्रोत जुटाउन समन्वय गरिरहेको छ ।

म्याग्दीका छ वटा स्थानीय तहका ४५ मध्ये गुर्जा मात्रै सडक नपुगेको वडा हो । धवलागिरि गाउँपालिका–२ लुलाङदेखि गुर्जा पुग्न तीन हजार ३०० मिटर अग्लो देउरालीडाँडा पार गरेर भीर, जङ्गल र खोल्साको पैदलमार्गमा पूरै दिन हिँड्नुपर्छ ।

२६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जाका बासिन्दा गम्भीर अवस्थाको बिरामी पर्दा बिरामीलाई हेलिकप्टर चार्टर गरेर, स्टे«चर र डोकामा बोकेर अस्पताल लैजानुपर्छ । पछिल्लो एक वर्षमा अस्पताल जान हेलिकप्टर चार्टर गर्न मात्र गुर्जावासीले करिब रु ४० लाख खर्चेको मञ्चका सचिव छन्त्याल बताए ।

खच्चर र भरियालाई पिँठ्युमा बोकाएर सामग्री ढुवानी गर्नुपर्छ । महतलादेखि गुर्जाको प्रतिकिलो ढुवानी शुल्क रु २२ तिर्नुपर्छ । विपन्न र शारीरिक अशक्त गाउँपालिका र जिल्ला सदरमुकाम पुग्न नसकेका सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । आलु, जडीबुटी र पशुजन्य वस्तु निकासी गर्न समस्या भएको छ ।

लोत्ता, पुवा, चोयालगायत वनपैदावार जङ्गलमा कुहिएर खेर गएको छ । महँगो ढुवानीका कारण विकास आयोजनाको लागत बढेर कार्यान्वयनमा समस्या भएको स्थानीयवासी गोर्खाबहादुर छन्त्यालले बताए ।

गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासमा गत पुस महिनामा करिब एक सय मिटर सडकको मार्ग खुलेको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारवाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ पुसमा बिएन कन्ट्रक्सनले रु ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।

विसं २०७७ चैतदेखि सहायक निर्माण व्यवसायीको रुपमा काम थालेको चुरेन कन्ट्रक्सनको डोजरले महतलाको भिरमा मार्ग खोलिएको हो । चट्टान काटेर मार्ग खोलिएको सडकको ग्रेड मिलाउने र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउने काम भइरहेको छ ।

महतलादेखि लुलाङ हुँदै गुर्जातर्फ जाने सडक खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादले निर्माण हुनसकेको छैन् । विवादित भूगोललाई छोडेर लुलाङदेखि देउराली हुँदै गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
धवलागिरि गाउँपालिकाले रु चार लाख खर्चेर बनाएको डीपीआर अनुसार सो सडक निर्माणका लागि रु ४७ करोड ८७ लाख लगानी आवश्यक पर्छ ।

‘वडा र पालिकाको बजेटबाट सम्भव नहुने भएपछि डीपीआर बनाएर सङ्घ र प्रदेश सरकारमा योजना प्रस्ताव गर्ने तयारीमा छौँ,’ वडाध्यक्ष छन्त्यालले भने, ‘गुर्जावासीले आफै डोजर खरिद गरेर सडक निर्माणमा अग्रसर भएपछि बजेट व्यवस्थापनमा दबाब परेको छ ।’ सरकारले इन्धन र चालकको तलब भत्ताको व्यवस्था गरेमा डोजर परिचालन गरेर सडक खन्ने गुर्जा विकास मञ्चका पदाधिकारीको भनाइ छ ।

विसं २०७४ मा भूगर्वविद् र प्राविधिक टोलीले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिए पनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको छ ।

गुर्जातर्फबाट मजदूर परिचालन गरेर देउरालीदेखि वनामसम्म दुई किलोमिटर आन्तरिक सडक निर्माण भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?