+
+
टिप्पणी :

ओस्कारमा एसियाको दबदबा, नेपाललाई सन्देश के ?

विष्णु शर्मा विष्णु शर्मा
२०७८ चैत १५ गते १८:०२
जापानी फिल्म 'ड्राइभ माइ कार'को एक दृश्य

काठमाडौं । ओस्कार जसले जिते पनि इतिहास लेखिनु थियो । ‘द पावर अफ द डग’ले जितेमा नेटफ्लिक्स र ‘कोडा’ले जिते एप्पल । अन्ततः इतिहास ‘कोडा’को पक्षमा लेखियो । यसरी एप्पल ओस्कार इतिहासमा सर्वोत्कृष्ट फिल्म उपाधि जित्ने पहिलो स्ट्रिमिङ प्लेटफर्म बन्यो ।

यो लडाइँ एप्पल भर्सेस नेटफ्लिक्सको होइन । सारमा स्ट्रिमिङ प्लेटफर्म र फिल्म हलबीचको लडाइँ हो । लडाइँको एकातिर सिलिकिन भ्याली केन्द्रित ठूला प्रविधि कम्पनी छन् भने अर्कोतिर मार्टिन स्कोरसिजजस्ता पाका हस्ती । बहसको यो लर्को तन्किएर अहिले ५५ वर्षे फिल्म इतिहास बोकेको नेपालसम्म आइपुगेको छ ।

यही नेपाल हो, जसको लागि पछिल्ला ओस्कारका संस्करणहरु सान्दर्भिक बन्दै आइरहेका छन् । २३ वर्षअघि एरिक भ्याली निर्देशित ‘हिमालयः क्याराभान’ विदेशीभाषी फिल्म विधातर्फ मनोनित भएयता नेपालले इतिहासको पुनरावृत्ति गर्न सकेको छैन । यस वर्ष त नेपाली फिल्म सिफारिस समेत भएन ।

तर ओस्कार जित्ने नेपाली सपना भने जीवन्त छ । यस संस्करणमा उत्कृष्ट फिल्म विधासहित अन्तर्राष्ट्रिय फिचर विधामा छानिएका फिल्मलाई लिएर नेपालमा समेत चर्चा भयो । नजिकैको छिमेकी मुलुक भुटानको ‘लुनानाः अ याक इन द क्लासरुम’ अन्तर्राष्ट्रिय फिचर विधामा छानिनु नेपालको लागि ठूलै सन्देश थियो । एकातिर नेपाली फिल्म सिफारिस समेत नहुनु र अर्कोतिर भुटानी फिल्म मनोनित हुनुको यो अन्तविरोधको खास अर्थ छ ।

विश्व फिल्मको गुरुत्वाकर्षण अहिले एसियातर्फ अग्रसर हुन थालेको छ । विश्व कूटनीति, अर्थतन्त्र र राजनीतिको केन्द्र एसिया बन्न थालेसँगै हलिउडले पनि बजार खोजी गर्दै एसिया छिर्न थालेको छ । चीन, जापान र भारत हलिउडका ठूला बजार हुन् । फलस्वरुप पात्र र कथावस्तुमा समेत हलिउडले एसियाली विविधतालाई आत्मसात गर्न थालेको छ ।

कोरोना महामारीले दुर्ई वर्ष भर्चुअल प्लेटफर्ममा सीमित ओस्कार समारोह नेपाली समयानुसार सोमबार बिहान भौतिक रुपमै सम्पन्न भएको छ । आफ्नी पत्नीको शारीरिक अवस्था र रोगलाई व्यंग्य गर्ने एक कमेडियनलाई थप्पड हान्ने विल स्मिथ प्रकरणको छायाँमा परेको ओस्कारमा विलले ‘किङ रिचर्ड’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाले । विश्व टेनिसमा आतंक मच्चाएका दिदीबहिनी सेरेना र भेनस विलिम्यसको पिताको भूमिकामा उनी फिल्ममा छन् । क्रिस रकलाई थप्पड हानेको घटनाले उनको विजयलाई पूरै छायाँमा पार्‍यो ।

पहिलोपटक ओस्कार जित्दाको खुसी भन्दा उक्त काण्डले विललाई दबाबमा राख्यो । थप्पडको लफडाले अझै केही समय चर्चा पाउनेवाला छ । अर्कोतर्फ ‘पावर अफ द डग’बाट जेनी क्याम्पेनले निर्देशन विधामा ओस्कार जित्ने तेस्रो महिला बनिन् । यसअघि ‘हर्ट लकर’बाट क्याथरिन बिगेलो र ‘नोम्याडल्यान्ड’बाट कोल झाओले इतिहास रचिसकेका छन् ।

‘कोडा’ले अन्य इतिहास पनि रचेको छ । एकातिर सनडान्स फिल्म फेस्टिभल हुँदै ओस्कारको यात्रा तय गर्नु र अर्कोतिर निर्देशन तथा सम्पादन विधामा मनोनयन नभई बेस्ट फिल्मको उपाधि जित्ने पहिलो फिल्म । फिल्म मात्र होइन, सहअभिनेता, एडप्टेड स्क्रिनप्ले विधामा समेत कोडाले ट्रफी उचाल्यो ।

‘ड्राइभ माइ कार’को जित स्वभाविक थियो । १४ वर्षपछि जापानले ओस्कर जित्नु र पहिलोपटक भुटानी फिल्म ‘युनाना’ मनोनयन हुनुसँग नेपाली उत्प्रेरणा गाँसिएको छ । सन् २०२० मा बोङ जुन हो, निर्देशित दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले सर्वोत्कृष्ट फिल्मको ट्रफी नै उचालेपछि ओस्करलाई हेर्ने एसियाली दृष्टिकोण बदलिएको छ ।

एक्सपोज हुँदैछन् एसियाली फिल्म’

केही वर्षअघिसम्म ओस्कारमा अमेरिकी फिल्मको दबदबा थियो । पाँच–छवटा हलिउड स्टुडियोमा निर्माण भएका पश्चिमा फिल्मले मात्र मौका पाउँथे । एकाध एसियाली फिल्म विदेशीभाषी विधामा छनोट त हुन्थे, तर त्यो मनोनयनमा भूगोल थिएन । दुई वर्षअघि जब दक्षिण कोरियाको ‘प्यारासाइट’ ओस्कारमा फिल्म विधा जित्ने पहिलो विदेशीभाषी फिल्म बन्यो तब ‘पटकथा’ बदलियो । त्यसपछि विश्व फिल्मको गति र दिशाले अलग मोड लियो । यसपटक जापानी फिल्म ‘ड्राइभ माइ कार’ले संसार हल्लायो । फिल्म र अन्तर्राष्ट्रिय फिचर विधामा छानिएको फिल्मले जापानी फिल्मलाई सधैंभरिको लागि बदल्ने चर्चा टोकियोमा सुरु भएको छ ।

‘ड्राइभ माइ कार’को कथा भयंकर छैन । पत्नी विछोडबाट मुक्त हुन युसुकी काफाकु नामक रंगमञ्चको निर्देशकले गरेको संघर्ष वरपर फिल्म घुमेको छ । फिल्मले प्रवाह गर्ने संवेदना यति बलियो छ, जसलाई समीक्षकले मास्टरपिस भनेका छन् । लेखक हारुकी मुराकामीलाई आगामी नोबेल पुरस्कार जिताउन पनि फिल्मले मद्दत गर्ने विश्लेषण गरिएको छ । कुनै ठूला स्ट्रिमिङ प्लेटफर्मको साथबिना जापानी फिल्मले प्राप्त गरेको यो जितलाई जापानमा उत्सवकै रुपमा मनाइएको छ ।

सन् १९७४ मा लेबनानी मूलका निर्देशक विलियम पिटर ब्लाटीको ‘द एक्जोर्सिस्ट’ मनोनयन भएयता एसियाको ओस्कार यात्रा सुरु भएको हो । तर यो फिल्ममा लेबनान र अमेरिकी कम्पनीको संयुक्त लगानी थियो । सन् १९८० मा रोनाल्ड एल स्क्वारीको लेवनानी फिल्म ‘अर्डिनरी पिपुल’ ओस्कार जित्ने एसियाली फिल्म बन्यो । सन् २०१९ मा ‘प्यारासाइट’ र २०२० मा ‘नोम्याडल्याण्ड’मार्फत एसियाले लगातार ओस्कार जित्यो ।

सन् २००५ को फिल्म ‘ब्रोकब्याक माउन्टेन’बाट आङ ली ओस्कार जित्ने पहिलो एसियाली निर्देशक बने । सन् २०१२ मा आङ लीले ‘लाइफ अफ पाइ’ र बोङ जोन होले ‘प्यारासाइट’ निर्देशन र पटकथा विधामा ओस्कार जिते । सन् १९५१ मा जापानी निर्देशक अकिरा कुरोसावाले ‘रोसोमोन’, तेइनोसुके किंगुआसाले सन् १८५४ मा ‘गेट अफ हेल’ र हिरोसी इनागाकीले सन् १९५५ मा ‘सामुराईः मुसासी मियोमोतो’बाट विदेशीभाषी फिल्म विधामा जित हात पारे । जापानका ओजिरो ताकिता, इरानका असगर फरादीले पनि एसियाबाट ओस्कार जित्ने नाम हुन् । पछिल्ला वर्षमा ओस्कारमा मनोनयन हुने र जित्ने एसियाली फिल्मको संख्यामा वृद्धि भएको देखिन्छ ।

एसियाली दबदबा ओस्कारमा मात्र आएको चाहिं होइन । हलिउडमा समेत एसियाली प्रभाव बढेको छ । ‘क्रेजी रिच एसियन्स’, डिज्नीको ‘साङची’ हलिउड डाइभर्सिटीका ठूला उत्पादन हुन् । पात्र, कथ्य र भूगोल एसियाली खिचिएको ‘क्रेजी रिच एसियन्स’ले विश्व बक्स अफिसमा २३८.५ मिलियन डलर कमायो । टाइम म्यागजिनले यो फिल्ममाथि कभर स्टोरी लेख्दै ‘हलिउडको विनिर्माण’ भन्यो । नेपालमा समेत यसले करोडभन्दा बढी कमाइ गरेको थियो ।

एसिया र नेपाललाई सन्देश के ?

ध्वनि सम्पादक उत्तम न्यौपाने ओस्कारमा पछिल्लो समय एसियाली फिल्मको दबदबा बढेको बताउँछन् । ‘कोभिड अगाडि अधिकांश अमेरिकी फिल्मको दबदबा थियो ओस्कारमा । पछिल्लो समय एसियाली फिल्मले मौका पाउन थालेका छन् । चेन ब्रेक हुनथाल्यो,’ अनलाइनखबरसँग उनले भने, ‘अहिले अमेरिकीभन्दा बाहिरका फिल्मले धेरै राम्रो एक्सपोजर पाइरहेका छन् । भुटानको फिल्म छानिनु र प्यारासाइटले जित्नु एकदमै ठूलो कुरा हो ।’

‘प्यारासाइट’पछि ओस्कारप्रतिको ‘पर्सपेक्टिभ’ बदलिएको महसुस हुने उनको विश्लेषण छ । ‘प्यारासाइटले ओस्कार जित्दा हाम्रोजस्तो एसियाली बजारलाई यसले मोटिभेट गरेको छ,’ न्यौपाने भन्छन्, ‘यसपटक नेपालजस्तै सानो मुलुक भुटानको फिल्म पनि ओस्कारमा गएको छ । सानो इण्डष्ट्रीको फिल्म पनि गइरहेको छ भने यसबाट हामीले सिक्नुपर्ने धेरै छ । मलाई व्यक्तिगत रुपमा पनि यसले एकदमै मोटिभेट गरेको छ ।’

ओस्कारमा जान सक्ने खालको फिल्म तयार गर्न नेपालले पनि राम्रो कन्टेन्टमा फिल्म बनाउनुपर्ने उनको सुझाव छ । ओस्कारमा ध्वनि विधामा प्रभाव राख्ने हलिउडको संस्था सिनेमा अडियो सोसाइटी (सीएएस)का सदस्य समेत रहेका न्यौपाने भुटान ओस्कारमा जान सक्छ भने नेपाल पनि सक्ने सम्भावना रहेको तर्क गर्छन् ।

‘उनीहरु जान सक्छन् भने हामी पनि जान सक्छौं । तर ओस्कारको मापदण्डभित्र रहेर हामी पनि त्यो लेभलको कन्टेन्टमा जान तयार हुनुपर्‍यो,’ उनको सुझाव छ । उनी प्लेटफर्मभन्दा पनि कन्टेन्ट बलियो हुनुपर्ने तर्क गर्छन् । न्यौपानेले यसपटकको ओस्कारमा आफ्नो संस्था सीएएसमार्फत जापानी फिल्म ‘ड्राइभ माइ कार’लाई मत समेत दिएका थिए ।

निर्देशक डा. सचिन घिमिरे यसपटक जापानी फिल्मको जित र भुटानी फिल्मको मनोनयनले नेपाललाई अर्थपूर्ण सन्देश दिएको बताउँछन् । ‘एसियाका विभिन्न क्षेत्रमा लुकेर बसेका कथाहरु आफैंमा अन्तर्राष्ट्रिय चासोको विषयवस्तु हुनसक्छ भन्ने कुरा बुझ्न नेपाली फिल्ममेकरको मन मस्तिष्क र आँखा खुला हुनुपर्‍यो,’ घिमिरे भन्छन्, ‘हामीसँग कथाहरु कम छैनन् । मानवीय संवेदना एउटै हो । हाम्रो एउटै कमजोरी भनेको त्यो कथालाई पटकथामा, पटकथालाई फिल्ममा कन्भर्ट गर्ने सवालमा चाहिं हामीले आवश्यक मिहेनत नगर्ने र हामीकहाँ त्यसलाई सघाउन संयन्त्रको कमी भएको कारण चुकेका छौं ।’

ओस्कारमा मनोनित भुटानी फिल्म ‘युनाना’को एक दृश्य

ओस्कार जित्नकै लागि नेपालमा प्रशस्त कथाहरु रहेको घिमिरे बताउँछन् । ‘हामी पावर अफ द डग, रोमाजस्ता कथामा फिल्म बनाउन सक्छौं । हामीसँग आफैंमा पर्याप्त कथा छन् । कथा आफैंमा समस्या भएन । नेपालमा पछिल्लो समय बनेका फिल्मको क्राफ्टमा भयंकर मेहनत त भएको छ, तर स्क्रिप्टमा ध्यान दिएनन् । कन्टेन्टमा मच्योरिटी नै छैन,’ उनको भनाइ छ ।

नेपाली समीक्षक र जानकारले पटक–पटक भन्दै आइरहेजस्तै स्क्रिप्टमा मेहनत गर्न सके नेपाली फिल्मले अन्तर्राष्ट्रिय आकर्षण जित्न सक्ने देखिन्छ । ‘नेपालको तुलनामा निकै सानो बजार र जनसंख्या भएको भुटानी फिल्म ओस्कारमा जान सक्नु, तर साधनस्रोत भएको नेपाली फिल्म जान नसक्नुले हामीलाई ठूलो चुनौती सिर्जना गरेको छ,’ चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) अध्यक्ष दीपेन्द्र लामा भन्छन्, ‘हामी गम्भीर भएर सोच विचार गर्नु जरुरी छ ।’

विश्व फिल्मको गुरुत्वाकर्षण अहिले एसियातर्फ अग्रसर हुन थालेको छ । विश्व कूटनीति, अर्थतन्त्र र राजनीतिको केन्द्र एसिया बन्न थालेसँगै हलिउडले पनि बजार खोजी गर्दै एसिया छिर्न थालेको छ । चीन, जापान र भारत हलिउडका ठूला बजार हुन् । फलस्वरुप पात्र र कथावस्तुमा समेत हलिउडले एसियाली विविधतालाई आत्मसात गर्न थालेको छ । पछिल्ला वर्षमा नेपालसहितका एसियाली बजारमा हलिउड फिल्मको कमाइमा बढोत्तरी हुन थालेको छ ।

एभेन्जर्स एन्ड गेम, स्पाइडरम्यानजस्ता सुपरहिरो फिल्मले नेपाली बक्स अफिसमा सर्वाधिक कमाइको मानक राखिसकेका छन् । नेपालमा हलिउड प्रभाव मात्र होइन भारत, जापान र कोरियाली फिल्मको प्रभाव अझै बढ्ने देखिन्छ । यसको स्पष्ट सन्देश हो हलिउड अब नेपाल र अन्य एसियाली बजारको नयाँ खेलाडी हो ।’ अहिले चीन र भारतका कलाकार र कथालाई हलिउडले टिप्न थालेको छ । मार्भलले ‘डक्टर स्ट्रेन्ज’ काठमाडौंमा छायांकन गर्‍यो । बजार र कला बजार अझै विस्तार हुनेतर्फ देखिन्छ ।

यो मेसोमा मौलिक कथावस्तुमा फिल्म निर्माण गर्नसके विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सकिने जानकार बताउँछन् । नेपालको ब्लकबस्टर फिल्म ‘छक्कापञ्जा’का निर्माता तथा अभिनेता दीपकराज गिरीको भनाइ मननीय लाग्छ । उनी भन्छन्, ‘नेपालको पछिल्लो फिल्ममेकर पुस्ताले हलिउड र दक्षिण भारतीय फिल्मलाई त पछ्यायो, तर आफूलाई पछ्याउन सकेन । हामीले आफैंलाई पछ्याउन सकेनौं भने समस्या जटिल हुनसक्छ ।’ गिरीले भनेजस्तै के नेपाली फिल्म बढ्दो चुनौतीसँग लड्न तयार छ ? के हामीसँग ओस्कार जित्ने सपना जीवन्त छ ?

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?