+
+

नायिका नहिंडेपछि ‘हेलो जिन्दगी’को प्रमोसनमा सन्दीप र रविन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १८:१६
कलाकार रविन्द्र झा र सन्दीप क्षेत्री

काठमाडौं । अभिनेत्रीद्वय प्रियंका कार्की र दीपिका प्रसाईंको मुख्य भूमिका रहेको फिल्म ‘हेल्लो जिन्दगी’ शुक्रबार रिलिज हुँदैछ । तर यी दुवै अभिनेत्री फिल्मको प्रचारप्रसारमा भने सहभागी भएका छैनन् ।

निर्माण पक्षले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि दुवै अभिनेत्री उपस्थित थिएनन् । तर फिल्ममा नरहेका कलाकारद्वय सन्दीप क्षेत्री र रविन्द्र झा भने उपस्थित थिए ।

सन्दीप र रविन्द्रले ‘हेल्लो जिन्दगी’ हेर्न दर्शकलाई आग्रह गरे । निर्देशक एभरेस्ट सूर्य बोहराको अघिल्लो फिल्म ‘श्री’मा सहकार्य गरेका सन्दीप प्रमोसनमा साथ नदिने कलाकारप्रति केही आक्रामक देखिए ।

उनले भने, ‘आफूले खेलेको फिल्मलाई लिएर कोही उत्साही छैन भने त्यो कलाकार होइन ।’ उनले कलाकारभन्दा फिल्म स्वादिलो बन्नु महत्वपूर्ण कुरा भएको बताए ।

हास्य कलाकार तथा अभिनेता सन्दीप क्षेत्री

निर्देशक बोहराले फिल्मको प्रचारप्रसारमा दुवैजना नायिका नहिंडेको कुरालाई लिएर आफूले हैरानी खेपेको बताए । ‘मलाई बिहानैदेखि सबैजनाले यही प्रश्न सोध्नुभएको छ । हामीले उहाँहरुले मागेजति पैसा पनि दिएका छौं । उहाँँहरुको रोल पनि अधुरो छैन,’ उनले भने ।

पैसाकै कारण आफूहरुबीच दरार नआएको उनले दाबी गरे । ‘हामीले थुप्रै उतारचढावको बीचबाट पनि राम्रो फिल्म ल्याउँदैछौं,’ निर्देशक बोहराले भने, ‘कलाकारले फिल्ममा अभिनय गरेकै हुनुपर्ने रहेनछ, फिल्ममा नभए पनि हामीसँग फिल्मलाई माया गर्ने कलाकार पनि छन् । व्यक्तिभन्दा पनि उद्योग महत्वपूणर् हो ।’

अभिनेता विक्रम जोशीले दक्षिण भारतीय तथा अन्य विदेशी फिल्मले चौतर्फी घेरिरहेको अवस्थामा फिल्म रिलिज गर्न लागिरहेको बताए । फिल्मको कथावस्तु विदेशमा घटेको एक यथार्थ घटनामा आधारित रहेको उनले बताए ।

अभिनेता विक्रम जोशी

‘धेरथोर मेरै जीवनबाट समेत प्रभावित भएको हुनसक्छ,’ उनले भने, ‘विदेशमा भएको घटनालाई हामीले फिल्ममा उतारेका छौं । दर्शकले इन्जोय गर्न सक्नुहुन्छ ।’ आरआरआरजस्ता दक्षिण भारतीय फिल्म चुनौती बनेपनि फिल्मलाई दर्शकले रुचाउने उनले बताए ।

फिल्ममा विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त लगायतको अभिनय छ । महारानी इन्टरटेनमेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्म्ससँगको सहकार्यमा प्रोजेक्ट निर्माण भएको हो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?