+
+

व्यक्तिगत लगानीमा भ्यूटावर

टिकट बिक्रीबाट प्राप्त रकम सामाजिक सेवामा

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ चैत १८ गते ८:४७

१८ चैत, दाङ । मुलुकभर विकासका नाममा सरकारी रकम खर्चेर भ्यूटावर निर्माण गरिएको भन्दै यतिबेला आलोचना भइरहेको छ । तर दाङमा भने व्यक्तिगत लगानीमा भ्यूटावर बनेको उदाहरण छ ।

दाङको घोराही–१८ ढोडेनीस्थित नमः छु बौद्ध गुम्बामा व्यक्तिगत लगानीमा ‘मन–दिल पुन भ्यू टावर’ निर्माण गरिएको छ । घोराही बजारदेखि करिब दुई किलोमिटर पर पूर्वभारतीय सेनाका क्याप्टेन मनबहादुर पुन र श्रीमती दिलमाया पुनको नाममा उनका छोराहरुले भ्युटावर निर्माण गरेका हुन् । ०७५ सालमा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा. बसन्त पुनको ४० लाख लगानीमा भ्यूटावर निर्माण गरिएको हो ।

‘बुबा–आमाको सम्झनामा पर्यटकीय क्षेत्रको विकास लागि पारिवारीक लगानीमा भ्यूटावर निर्माण गरेका हौं,’ भ्यूटावर संरक्षक समितिका अध्यक्ष नरेन्द्र पुनले अनलाइनखबरसँग भने । तीन वर्षअघि निर्माण गरिएको भ्यूटावर आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको उनी बताउँछन् ।

१७ मिटर अग्लो भ्युटावरबाट दाङ सदरमुकाम घोराही बजार, धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर, धारापानी, तालतलैया र बाक्लिंदै गएको वस्ती हेर्न सकिन्छ । घोराहीका यिनै मनोरम दृश्य हेर्न पर्यटकहरु मनदिल भ्यूटावर पुग्ने गरेका छन् । पुनका अनुसार रातिको दृष्य हेर्न पर्यटकहरु बढी लालायित हुने गरेका छन् ।

‘भ्यू टावर निर्माण भएसँगै सिंगो घोराहीलाई नियाल्न पहाड नै उक्लनुपर्ने अवस्था रहेन, भ्यू टावरमा राखिएको दूरविनबाट घोराही क्षेत्रका ठाउँहरु नियाल्ंन सकिन्छ,’ पुनले भने, ‘यसले यहाँको पर्यटन विकासमा टेवा पुर्याएको छ ।’ दैनिक १० देखि १५ जनासम्म पर्यटक भ्युटावर आउने गरेको उनले बताए ।

टिकटबाट संकलित रकम खर्च कटाएर बचेको रकम सामाजिक सेवामा खर्च गरिने नरेन्द्र पुनले बताए । उनले भ्यूटावरबाट उठेको रकम विद्यार्थी छात्रवृति प्रदान गर्ने, स्वास्थ्य र खेल क्षेत्रमा खर्चिने बताए ।

दाङमा ७ भ्यूटावर

दाङमा स्थानीय तहले बनाएका ६ वटा र व्यक्तिगत एउटा गरी ७ वटा भ्यूटावर छन् । तीमध्ये एउटा निर्माणाधीन छ ।

घोराही उपमहानगरपालिका–१८ मा व्यक्तिगत लगानीमा बनाइएको मन–दिल भ्यूटावरका साथै बंगलाचुली गाउँपालिकामा तीन, गढवा–८ कोइलाबासमा एक र तुलसीपुर उपमहानगरपालिका छिल्लीकोटमा एक भ्यूटावर छन् । लमही नगरपालिकाले लमहीमा एउटा भ्यूटावर निर्माण गरिरहेको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?