+
+
Shares

तराईमा फल्छन् तीन जातका स्याउ

दाङ घोराही–११ पलासपुरका मनु बुढामगरले हर्मन ९९, अन्ना र डोरसेट गोल्डेन गरी तीन प्रजातिका स्याउ फलाएर परीक्षण सफल भएपछि अहिले विभिन्न प्रजातिका ७० हजार स्याउका बिरुवा उत्पादन गरेका छन् । तीन बिघामा व्यावसायिक स्याउ खेती सुरु गरेका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ साउन २५ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङका मनु बुढामगरले तराईको हावापानीमा समेत हर्मन ९९, अन्ना र डोरसेट गोल्डेन जातका स्याउ खेती सफल हुने पुष्टि गरेका छन् ।
  • बुढामगरले दाङमा ४५ जातका ७० हजार बिरुवा उत्पादन गर्दै स्वदेशमै स्याउ खेतीलाई व्यावसायिक बनाउन करिब एक करोड रुपैयाँ लगानी गरेका छन् ।
  • वार्षिक १० अर्बभन्दा बढीको स्याउ आयात हुने नेपालमा, तराईका जिल्लामा समेत खेती विस्तार गर्न सके आत्मनिर्भर बन्न सकिने सम्भावना देखिएको छ ।

२५ साउन, बुटवल । हिमाल र मध्य पहाडको चिसो हावापानीमा मात्रै स्याउ खेती सफल हुन्छ भन्ने मान्यता अब बदलिएको छ ।

२२ वर्ष भारत हिमाचल प्रदेशको सिम्लामा स्याउ खेतीमै काम गरेर फर्केका ४२ वर्षीय मनु बुढामगरले दाङको घोराही उपमहानगरपालिका–११ पलासपुरमा तीन प्रजातिका ३० बोटमा स्याउ फलाएर तराईमा पनि स्याउ खेती सम्भव रहेको पुष्टि गरेका हुन् ।

मनुले तीन वर्षअघि सगरमाथा नर्सरी प्रालिमार्फत हर्मन ९९, अन्ना र डोरसेट गोल्डेन गरी तीन प्रजातिका १०–१० बोटमा स्याउ फलाएर परीक्षण सफल भएपछि अहिले विद्यालयको जग्गा भाडामा लिएर तीन बिघामा व्यावसायिक स्याउ खेती सुरु गरेका छन् ।

त्यहाँ उनले करिब ३०० स्याउका बिरुवा हुर्काइरहेका छन् । थप चार बिघा जग्गा लिजमा लिएर ५०० बिरुवा लगाउने तयारी गरेका छन् । म्याग्दीका प्रविण पौडेलसँग मिलेर म्याग्दीमा सिन ५ बिघामा ३ हजार बिरुवा रोपेका छन् ।

मनुले दाङको नर्सरीमा तराईमा फल्ने तीन प्रजातिसहित मध्यपहाडी र हिमाली जिल्लामा पनि उत्पदन हुनेसमेत गरी ४५ जातका ७० हजार स्याउका बिरुवा उत्पादन गरेका छन् । नर्सरीमा स्याउसँगै ओखर र काजुसम्मका बिरुवा उत्पादन भएका छन् । हालसम्म नर्सरी र स्याउ खेतीमा करिब एक करोड रुपैयाँ लगानी भइसकेको मनुले बताए ।

दाङमा परीक्षण सफल भएपछि गत वर्ष मात्रै दाङ र सुर्खेतमा १५ हजार बिरुवा बिक्री गरेको मनुले बताए । गत वर्ष मागअनुसार बिरुवा आपुर्ति गर्न नसकेको उनले बताए ।

भारत हिमाचलको सिम्लामा जन्मे/हुर्केका मनुले ५ वर्ष सिम्लामै अरूको स्याउ फर्ममा बेना उमार्नेदेखि फल टिप्ने काममा मजदुरी गरेको र पछि आफैंले करिब ९ बिघा जग्ग्गा लिजमा लिएर डेढ बिघामा नर्सरी र साढे ७ बिघामा स्याउ खेती गर्दै आएको बताए ।

सिम्लामा अहिले पनि स्याउ खेती गरिरहेका मनु ८ वर्षअघि दाङ आएका थिए । उनको पुर्ख्यौली घर भने रोल्पाको त्रिवेणी गाउँपालिका–७ हो ।

‘सिम्लामा २२ वर्ष स्याउ खेतीमै काम गरेपछि धेरै ज्ञान र अनुभव भयो अनि नेपाल फर्केर आफ्नै ठाउँमा व्यावसायिक स्याउ खेती गर्छु भन्ने अठोट लिएर दाङ फर्किएँ,’ मनुले भने, ‘मध्य पहाड र हिमाली जिल्लामा त स्याउ खेती नौलो भएन, तराई र भित्री मधेशमा पनि स्याउ खेती सफल हुन्छ भन्ने जानकारी थियो । त्यसलाई पुष्टि गर्न दाङमा आफैंले खेती गर्दा सफल भयो ।’

दाङमा तीन प्रजातिको स्याउ उत्पादन सफल भएपछि मनुले अब सिम्लामा गरिरहेको स्याउ खेती र नर्सरी बिक्री गरेर दाङमै केन्द्रित हुने योजना बनाएको बताए ।

तराईमा बिरुवा रोपेको दुई वर्षमै स्याउ फल्न सुरु गर्ने र एउटा बोटबाट एक क्विन्टलसम्म उत्पादन लिन सकिने उनको दाबी छ ।

‘विगतमा पनि नेपालमा तराईका केही जिल्लामा स्याउ खेती गरिएको रहेछ । तर सफल भएको रहेनछ,’ मनुले भने, ‘यसैले तराईको हावापानीमा एडजस्ट हुने जातका स्याउ नरोपेको हो । हर्मन ९९, अन्ना र डोरसेट गोल्डेन जातका स्याउ ४८ डिग्री सेल्सियस तापक्रम हुने तराईका जुनसुकै जिल्लामा उत्पादन  हुन्छ । ढुक्कले खेती गर्न सकिन्छ ।’

घोराहीकै रतनपुरका अनुराम बुढाले तराईमा स्याउ खेती सफल भएको देखेर १०० वटा बिरुवा आफ्नो खेतमा लगाएको बताए ।

‘तराई–मधेशमा पनि स्याउ फल्छ भन्ने कल्पना गरेका थिएनौं । मनुले फलाएको देखेपछि १०० बिरुवा किनेर लगाएको छु । राम्रै फल लाग्न थालेको छ,’ अनुरामले भने ।

खेतीपाती नगरी खाली रहेको बञ्जर जमिनमा मनुले स्याउ नर्सरी र खेती गरेर फलाउन थालेपछि स्थानीय बासिन्दा र पालिकाका जनप्रतिनिधिहरू पनि दंग परेका छन् ।

घोराही–११ का वडाध्यक्ष कुलबहादुर लामिछानेले मनु बुढाले तराईमा पनि स्याउ फलाउन सकिने पुष्टि गरेपछि यसबारे सोधीखोजी गर्नेहरूको संख्या बढेको बताए ।

‘तराईमा स्याउ खेतीको सफल परीक्षणले नयाँ सन्देश दिएको छ । धेरै जनाले फोन गरेर सोध्नुभएको छ,’ वडाध्यक्ष लामिछानेले भने, ‘तराईका जिल्लामा स्याउको व्यावसायक खेती भयो भने देशकै लागि उपलब्धि हुन सक्छ ।’

वडाध्यक्ष लामिछानेले स्थानीय, प्रदेश र संघ सरकारले यस्तो नयाँ उद्यमलाई प्रोत्साहन, संरक्षण र प्रवर्द्धन गर्नुपर्ने सुझाव दिए ।

आफूले स्याउ खेतीसम्बन्धी प्राविधिक ज्ञान पनि दिने गरेको मनुले बताए । नेपालमा वार्षिक अर्बौं रुपैयाँको स्याउ विदेशबाट आयात हुने गरेकाले स्वदेशमै  उत्पादन बढाएर आत्मनिर्भर बनाउन सकिने मनुको आत्मविश्वास छ ।

तराईका जिल्लासँगै जुम्ला, रोल्पा, रुकुम, बागलुङ, मुस्ताङ र म्याग्दीसम्म पुगेर किसानलाई स्याउ खेतीसम्बन्धी तालिम दिने गरेको मनुले बताए ।

सरकारी तथ्यांकअनुसार नेपालमा वार्षिक १० अर्बभन्दा बढीको स्याउ आयात हुने गरेको छ । स्वदेशी स्याउको हिस्सा ४० प्रतिशत मात्रै छ ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले विदेशबाट ९० हजार २५३ मेट्रिक टन स्याउ आयात गरेको तथ्यांक छ । उक्त परिमाणको स्याउ आयात गर्दा नेपालबाट १० अर्ब ५५ करोड ७५ लाख ६९ हजार रुपैयाँ बाहिरिएको छ ।

स्वदेशी उत्पादन र आयातित स्याउलाई जोड्दा नेपालको वार्षिक स्याउ बजारमा करिब १ लाख ५० हजार २०२ मेट्रिक टन स्याउको कारोबार हुने देखिन्छ । स्याउ आयातको ठूलो हिस्सा चीन र भारतबाट आउने गरेको छ ।

हिमाली तथा उच्च पहाडी जिल्लामा स्याउ उत्पादनको ठूलो सम्भावना रहे पनि उत्पादन, भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा रहेका समस्याका कारण नेपाल अझै ठूलो परिमाणमा विदेशी स्याउमा निर्भर रहनु परेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले तराईमा फल्ने स्याउलाई तीनै तहका सरकारले चासो दिएर प्रवर्द्धन गर्ने हो भने आयात घटाउँदै स्वदेशी स्याउमै आत्मनिर्भर बन्न सकिने सम्भावना देखिएको बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?