
काठमाडौं । दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’को दबदबा कायमै रहँदा शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ र जेरर्ड लेटो स्टारर हलिउड फिल्म ‘मर्बियस’ हलमा लागेका छन् ।
प्रियंका कार्की, दीपिका प्रसाईं र विक्रम जोशी अभिनित ‘हेल्लो जिन्दगी’ले लण्डनस्थित नेपाली डायस्पोरामा भएको एक आपराधिक घटनाको चित्रण गर्छ । यसलाई ‘मर्डर मिस्ट्री ड्रामा’ भनिएको छ ।
२ घण्टा १३ मिनेट लामो फिल्मलाई एभरेस्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । मिहिनेती र करिअरमा सफल विजय नामक पात्रले चोखो प्रेम प्राप्तिका लागि गरेको संघर्ष र उसको जीवनमा आउने संकटलाई फिल्ममा चित्रण गरिएको छ ।
मार्भल कमिक्सको सुपरहिरोमा आधारित ‘मर्बियस’लाई डेनियल एस्पिनोसाले निर्देशन गरेका हुन् । लेटोसहित म्याट स्मिथ, एड्रिआ एरजोना, जेरर्ड ह्यारिसको फिल्ममा मुख्य भूमिका छ । सोनीको स्पाइडरम्यान युनिभर्सको यो तेस्रो फिल्म हो ।
जीव रसायन वैज्ञानिक माइकल मर्बियस आफूलाई रगतमा हुने एक दुर्लभ रोगबाट जोगाउन खोज्छन् । जब यससम्बन्धी उनको प्रयोगमा गल्ती हुन्छ, तब भ्याम्पायर (रगत चुस्ने) चरित्रमा परिणत हुन्छ । अनि सुरु हुन्छ द्वन्द्वको सिलसिला ।
साइन्स फिक्सन र सुपरहिरो फिल्ममा रुचि राख्ने मार्भल र सोनी फिल्मका दर्शकलाई ‘मर्बियस’ रुचिकर लाग्न सक्छ । अन्तर्राष्ट्रिय बजारमा चाहिं फिल्मले समीक्षकबाट औसत समीक्षा प्राप्त गरेको छ ।
नेपालका हलमा ‘आरआरआर’सहित बलिउडको ‘द कश्मीर फाइल्स’ पनि प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया 4