+
+

शिक्षक सेवा आयोगको प्रश्नपत्रमाथि सामाजिक सञ्जालमा आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १७:०८

१८ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक र निम्न माध्यमिक तहका शिक्षक पदको खुला प्रतियोगितात्मकको लिखित परीक्षा सकिएसँगै परीक्षामा सोधिएको प्रश्नमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आयोगले माध्यामिक तहको गत मंगलबार र निम्न माध्यमिकको बिहीबार परीक्षा लिएको हो ।

यी दुवै तहको परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको, गल्ती प्रश्न सोधिएको, बजारका गाइडबाट हुबहु सोधिएको, प्रश्न अपूर्ण रहेकोलगायतका गुनासो गरिरहेका छन् । केही ट्युसन सेन्टरले त आफ्नोमा पढाइ भएका कितापबाट ९० प्रतिशत प्रश्न सोधिएको दाबी गर्दै प्रचार प्रसार गरिरहेका देखिन्छन् ।

मावि तह तथा निमावि तहको परीक्षा दिएका महापुरष चौलागाईंले लापरबाहीपूर्ण प्रश्न सोधिएको बताए । उनले भने ‘गलत प्रश्न नै सोधिएको भन्ने चाहिँ होइन तर मावि तहको प्रश्नपत्र एकदमै लापरबाहीपूर्ण प्रश्न सोधिएको छ ।’

उनको भनाइ अनुसार आयोग पाठ्यक्रममा विशिष्टिकरण तालिकामा तोकिए (ग्रीड) बौद्धिक परीक्षण ८ वटा (१६ अंकको) प्रश्न सोधिने भनिएको छ तर ६ वटा प्रश्न (१२ अंकको) मात्रै सोधिएको, शिक्षातर्फ १२ वटा सोधिने भनिएकोमा १६ वटा प्रश्न सोधिएको छ । निमावि तहमा बौद्धिक परीक्षणतर्फ पाँच वटा सोधिने (१० अंकको) भनिएकोमा तीन वटा (६ अंकको) मात्रै र समसामयिक विषयबाट तीनवटा प्रश्न सोध्ने भनिएको छ तर एउटा पनि प्रश्न सोधिएको छैन ।

त्यस्तैगरी पाठ्यक्रमले सबै प्रश्न नेपालीमा सोधिने उल्लेख गरेको छ तर आईटीको प्रश्न सबै अंग्रेजीमा सोधिएको छ । उनी भन्छन् ‘आयोगले नै तयार गरेको पाठ्यक्रम अनुसार प्रश्न नसोध्नु आयोगको लापरबाही हो । यसले आयोगको विश्वसनीयतामा शंका गर्ने ठाउँ देखियो ।’

मावि तहको शिक्षक पदमा परीक्षा दिएकी शकुन्तला सोती सामाजिक सञ्जालमा लेखिएको जस्तो पाठ्यक्रम भन्दा बाहिरको प्रश्न सोधिएको अथवा कुनै व्यक्ति विशेषले लेखेको परीक्षा तयारी पुस्तकबाट हुबहु नभए पनि लापरबाही भने भएको बताउँछिन् ।

उनको भनाइ अनुसार आयोग पाठ्यक्रममा विशिष्टिकरण तालिकामा तोकिए (ग्रीड) प्रश्न सोधिएको छैन । भाषिक शुद्धता नभएको, सानो अक्षर (फन्ट साइज) र स्पेस कम भएको छ । सामाजिक सञ्जालमा आए जसरी गलत नभए पनि कमजोरी चाहिँ भएकै उनको भनाइ छ ।

उनी भन्छिन् ‘प्रश्नपत्रमा कमजोरी देखिएको छ तर, सामाजिक सञ्जालमा देखिएको जस्तो पनि होइन । पाठ्यक्रम भन्दा बाहिरको अथवा कुनै गेसपेपरको हुबहु भन्ने जस्तो मैले भेटिनँ ।’ उनको भनाई अनुसार शिक्षक पदको प्रश्नपत्र पाठ्यक्रमले तोकेको भन्दा कम अंकको प्रश्न सोधिनु र भाषिक शुद्धता नहुनु पनि कमजोरी नै भएकोले आयोग सचेत हुन जरुरी रहेको बताउँछिन् ।

कसैले लेखेकोको पुस्तकसँग मिल्नु स्वभाविक भएको उनको बुझाइ छ । उनी भन्छिन्, ‘एक भन्दा बढी प्रश्न हुबहु मिल्यो भने समस्या हो तर आयोगको पाठ्यक्रम अनुसार लेखिएका पुस्तकसँग कुनै प्रश्नउत्तर मिल्नु स्वभाविक हो ।’

निमावि तहको शिक्षक पदको परीक्षामा ९० प्रतिशत पदमराज आचार्यको किताब र कोसिस शैक्षिक केन्द्रबाट दिइएका नोटबाट सोधिएको दाबी गर्दै केन्द्रको प्रमुख शिवराज जोशीको नम्बर सामाजिक सञ्जालमा राखिएको छ ।

केन्द्रका प्रमुख जोशीले पाठ्यक्रम अनुसार लेखिएको पुस्तक र त्यहि पुस्तक अनुसार पढाइ हुने भएकोले प्रश्न मिलेको बताए । ‘पदम सरले करिकुलमको आधारमा किताब लेख्नु भएको छ । त्यहि अनुसार उहाँले पढाएकोले मिलेको हो । हुबहु मिलेको चाहिँ होइन’, उनले भने ।

‘शिक्षक सेवा आयोग सफलताको साथी’ पुस्तकका लेखक पदमराज आचार्य उपसचिव भएको उल्लेख गरेको छ ।

शिक्षक सेवा आयोगका प्रमुख मधु रेग्मीले भने सामाजिक सञ्जालमा विभिन्न खालको कुराहरु आईरहेको र त्यसमा सत्यता नभएको बताउँछन् । ‘सामाजिक सञ्जालमा चर्चा भएको जस्तो कुनै किताबबाट अथवा पढाएकोबाट धेरै प्रश्न सोधिएको भन्ने आइरहेको छ तर त्यो आफ्नै प्रचार प्रसारको लागि गरेको पाइयो’, उनले भने ।

गलत प्रश्न, पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न सोधिएको भन्ने विषयमा भने प्रमाणसहित आयोगमा निवेदन दिएको अवस्थामा छानबिन अथवा कारबाही हुने बताए ।

उनले भने, ‘गलत हुन सक्छ । यो प्रश्न गलत भयो अथवा विकल्पमा दिएको प्रश्नको उत्तरमा सही विकल्प भएन भनेर प्रमाण सहित निवेदन परेको अवस्थामा गर्न कारबाही गर्न सकिन्छ । तर, सामाजिक सञ्जालमा आएकै आधारमा हामीले कारबाही गर्ने अथवा छानबीन गर्ने हुँदैन ।’

अहिलेसम्म आयोगमा कुनै पनि खालको गुनासो नआएको बताए । आयोग परीक्षाको शुद्धता र विश्वसनीयतामा ढुक्क भएको र प्रमाण सहित आए छानबिन गर्न तयार रहेको प्रमुख रेग्मीले बताए । सामान्य परीक्षा पास हुने मात्र विषयगत परीक्षामा सामेल हुन पाउनेछन् । आयोगले पूर्णांक १०० र उत्तीर्णांक ५० तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?